नबिलसंग मर्जरको हल्ला चलाएर आधा दर्जन संस्थाको शेयर मूल्यमा चलखेल


अर्थतन्त्र विपरित शेयर बजार निरन्तर सुधारको गतिमा देखिएका बेला सबल कम्पनीको नाम जोडेर कमजोर कम्पनीको शेयर मूल्यमा चलखेल गर्ने क्रम बढेको छ । पछिल्ला दिनहरुमा नबिल बैंकसंग मात्र नाम जोडेर आधा दर्जन कम्पनीको शेयर मूल्य कृत्रिम रुपमा बढाइएको हो ।

धितोपत्रको दोस्रो बजारको ‘ब्लु चिप’ शेयर मानिने नबिल बैंकसंग मर्जरको हल्ला फिजाएर साना तथा तुलनात्मक रुपमा कमजोर बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा चलखेल भएको छ । विगत केही महिना अघिदेखि मेगा बैंक, यूनाइटेड फाइनान्स, सिभिल बैंक, सिद्धार्थ बैंक, एनसीसी बैंकलाई नबिल बैंक संग मर्जरमा जान लागेको भन्दै शेयर मूल्य बढाइयो । त्यस्तै गरी सोमबार सेञ्चुरी कमर्सियल बैंक पनि नबिल बैंकसंग मर्ज हुदैछ भन्ने हल्ला फैलाएर १० प्रतिशतसम्म शेयर मूल्य बढाइयो ।

नेपाल राष्ट्र बैंकले अघि सारेको मर्जर नीतिलाइ शेयर मूल्यमा चलखेल गर्ने हतियार बनाउने अभ्यास देखिएको हो । बजारमा शेयर मूल्य बढाउनका लागि सूचीकृत कम्पनीहरुको परिपक्व नभएका आन्तरिक सुचनालाई बजारमा फैलाउने गरिएकोमा अहिले मर्जरको हल्लालाई मूख्य हतियार बनाउन थालिएको हो । यस क्रममा पछिल्लो समय नबिल बैंकलाई केन्द्रमा राखिंदै आएको छ ।

यस अघि नबिल बैंकमा नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी)बैंक मर्ज हुने हल्ला चलाएर प्रति कित्ता शेयर मूल्य ३७५ रुपैंयासम्म पुर्याइयो । एनसीसीको सो मुल्यको शेयर बिक्री गरी बाहिरिएका कारोबारीहरु सोमबार देखि सेञ्चुरी कमर्सियल बैंकको शेयर महंगो मूल्यमा पुर्याएर बाहिरने योजना बुन्दै गरेको दखिन्छ । सेञ्चुरी र नबिल बैंकको मर्जर प्रकृया अघि बढेको हल्ला चलाएर शेयर कारोबारीको गिरोह सोमबार मात्र सेञ्चुरीको शेयर मूल्य १० प्रतिशतले बढाउन सफल भयो । पहिले नै सस्तो मूल्यमा सेञ्चुरी बैंकको शेयर किनेकाहरुले मर्जरको हल्ला चलाएर शेयर मूल्य माथि पुर्याई बिक्री गरेर बाहिरिन खोजेको देखिन्छ । यस्तो अवस्थामा साना तथा सुचनालाई पुष्टि गर्न नसक्ने र हल्लालाई नै आधिकारीक सूचना मानेर शेयर किन्ने लगानीकर्ताहरु फस्ने जोखिम बढेको छ ।

बजारको औसत कारोबार मूल्यभन्दा धेरै माथि पुगेको एनसीसी बैंकको शेयर किनेका लगानीकर्ताहरुले पछिल्लो एक सातामा मात्र प्रति कित्ता शेयरमा ५० रुपैंयाभन्दा बढी नोक्सानी व्यहोरिसकेका छन् । यही क्रम अब सेञ्चुरी बैंकमा पनि दोहोरिने निश्चित छ । नबिल बैंकले भने विभिन्न समकक्षी बैंकहरुसँग मर्जरका लागि प्रयास गरिरहेको छ । मर्जरका लागि सम्बन्धित संस्थाका सञ्चालक तथा प्रतिनिधिहरुसँग छलफल हुन नपाई मर्जर नै भइसकेको भन्ने किसिमका हल्ला बजारमा चलाइदा असहज अवस्था उत्पन्न भएको नबिल बैंक स्रोतको भनाई छ ।

नोटबजारसँगको कुराकानीमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल बजारका लगानीकर्ताहरु ‘स्प्याकुलेशन’ बाट बच्नु पर्ने सुझाउँछन् । नबिल बैंकले समयानुकुल रुपमा व्यवसायको आकार बढाउन मर्जरमा जाने मनसाय बनाएर केही संस्थाहरुसँग अनौपचारिक छलफल भएको उनले बताए । छलफल भएकै आधारमा शेयर मूल्य बढाइनु लगानीकर्ताका लागि उच्च जोखिम हुने उनको बुझाई छ ।

“मर्जरको विषय नै समावेश नगरी अनौपचारिक भेटघाटलाई पनि मर्जरको विषय बनाएर हल्ला चलाउने र शेयर मूल्य बढाएको देख्दा मर्जरमा नै जान नसक्ने पो हौं कि भन्ने चिन्ता लाग्न थालेको छ” पौड्यालले भने, “सिद्धार्थ बैंकसँग एक पटक कुरा गर्ने कि भन्ने सोच म आफैंले बनाएर अनौपचारिक रुपमा भेटघाट गर्न नपाउँदै पक्का मर्जर हुने किसिमका हल्ला चलाइएपछि हामीले कुरा नै गर्न पाएनौं ।” अहिले सेञ्चुरीको हकमा पनि त्यस्तै हल्ला चलाइएको पौड्यालले बताए । त्यो गलत रहेको पनि उनले स्पष्ट पारे ।

गत साता नबिल बैंकका मुख्य लगानीकर्ता बिनोद चौधरीले एनसीसी बैंकको शेयर किनेका थिए । सोही सूचनालाई पनि एनसीसी बैंक नबिल बैंकसंग मर्जर हुने ठोकुवा गर्दै केही लगानीकर्ताहरु शेयर मूल्यमा चलखेल गरेका थिए । सो हल्लाको पछि लाग्दा धेरै लगानीकर्ताले नाफा कमाउने आशमा ठुलो रकम गुमाउनु पर्यो ।

नबिलका अध्यक्ष पौड्यालले अहिले बैंकको नेतृत्वमा भएका व्यक्ति विगतमा आबद्ध भएका संस्थाको नाम जोडिन सक्नेतर्फ लगानीकर्तालाई सचेत हुन आग्रह समेत गरेका छन् । “म हिजो एनएमबि बैंकमा प्रमुख कार्यकारीको रुपमा कार्यरत थिएँ, अब नबिल र एनएमबि बैंक मर्जरमा जाने भनेर हल्ला चलाइयो भने त्यसैलाई आधार बनाएर शेयर खरिद बिक्रीको निर्णय गर्ने त ?” उनले भने । शेयर बजार वास्तविकता भन्दा पनि हल्लाका भरमा धेरै चल्ने गरेकाले मर्जरका लागि पार्टनर खोज्न समेत असहज भएको पौड्यालको गुनासो छ ।