कुल ग्राहस्थ उत्पादनका आधारमा शेयर बजार ‘ओभर भ्यालूड’ तर्फ

कुल ग्राहस्थ उत्पादनका आधारमा शेयर बजार ‘ओभर भ्यालूड’ तर्फ

कुल ग्राहस्थ उत्पादनको आधारमा धितोपत्रको दोस्रो बजारको अवस्था 'फेयर भ्यालू' वाट 'ओभर भ्यालु' तर्फ उन्मूख देखिएको छ । पछिल्लो समयमा निरन्तर सुधार धितोपत्र बजारमा सूचीकृत धेरै शेयर मूल्य उच्च बिन्दुमा पुगेको हुनाले ओभर भ्यालुडको नजिक देखिएको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार रकम करिब साढे १० अर्ब पुगेपछि कुल बजार पूँजीकरण ३३ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । यो बजार पूँजीकरण देशको कुल ग्राहस्थ उत्पादनको ९०.२४ प्रतिशत हो । अहिले देशको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रहेको छ ।

धितोपत्र बजार बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ५० देखि ७५ प्रतिशतसम्म रहेको भने समान्तर धितोपत्र बजार ‘अण्डर भ्यालुड’ रहेको बुझिन्छ ।

कुल ग्राहस्थ उत्पादनको कुल बजार पूँजीकरण ७५ देखि ९० प्रतिशतमा हुनु भनेको धितोपत्र बजार सन्तुलित अवस्थामा रहेको बुझिन्छ ।

त्यसैगरी कुल ग्राहस्थ उत्पादनको तुलनामा धितोपत्र बजारको पूँजीकरण १०० देखि ११५ प्रतिशतसम्म छ भने त्यो ओभर भ्यालुड भएको मानिन्छ ।

कोरोना भाइरसले आर्थिक गतिविधि अस्तव्यस्त भएपछि शेयर बजार भने निरन्तर नयाँ उचाई तर्फ देखियो । हरेक दिन जसो शेयर बजारले नयाँ रेकर्ड समेत बनाउँदै आएको छ । लगानीका क्षेत्र सीमित भएपछि उद्योगी व्यापारी लगायतले शेयर बजारलाई एक मात्र लगानीको क्षेत्र बनाएपछि निरन्तर बढ्दो क्रममा रहेको हो । कोरोनाको असर सुरु भएपछि नेपालको मात्र नभई विश्वका अधिकांश शेयर बजारले नयाँ उचाइ निर्धारण गरेको अवस्था छ । कोरोनाका कारण शेयर कारोबार पनि प्रविधिमा आधारित भएपछि पूँजी बजार झनै विस्तार हुनुका साथै लगानीकर्ताको मनोबल उच्च बनाएको छ ।

अर्थतन्त्रको विपरित गतिमा निरन्तर बढीरहेको धितोपत्र बजार हालसम्मकै ठुलो भएको छ । सार्वजनिक निष्काशनमा धितोपत्र बोर्डको १० कित्ते नीतिले पनि बजारको आकार बढ्नमा थप मद्दत गरेको छ । हाल धितोपत्र बजारको आकार ३३ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।

धितोपत्र बजारको बजार पूँजीकरण बढ्नु लगानीकर्ताका लागि पनि सकारात्मक हो । नेप्से परिसूचक बढेपछि बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो ।

नेप्सेमा सूचिकृत शेयरहरुको कूलबजार मूल्य अर्थात सम्पूर्ण सूचिकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

आइतबार नेप्से परिसूचक ४८.७४ अंकले बढेर २५२४ बिन्दुमा पुगेको छ । आइतबार नेप्सेमा १० अर्ब ४४ करोड रुपैयाँ बरावरको शेयर किनबेच भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७७, आइतबार १६ : ३८ बजे