आन्तरिक हवाई सेवामा आक्रामक बन्दै बुध्द एयर, जहाज थपेर दैनिक सय उडान भर्ने


नयाँ जहाजको आगमन सँगै बुध्द एयरले आक्रमक बजार विस्तार अभियान सुरु गरेको छ ।

काठमाडौं बाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि बिहानै उडान भर्ने कार्यतालिका बनाउँदै बुद्ध एयरले आक्रमक बजार बिस्तार योजना अघि सारेको हो । थपिएको जहाज पछि बुध्द एयरसँग ९ वटा एटीआर ७२, ३ वटा एटीआर ४२ र २ वटा विचक्राफ्ट गरि जहाज संख्या १४ पुग्नेछ ।

कोभिड–१९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रमक बजार विस्तारसहित उपस्थिति जनाउन लागिएको बुद्ध एयरले जनाएको छ । यस अनुसार बुध्द एयरले दैनिक एक सय उडान तथा अवतरण गर्ने तालिका बनाईसकेको छ । ‘अब हामी दैनिक १०० भन्दा बढी उडान भर्ने योजनामा छौं’ बुध्द एयर मार्केटिङ सेल्स निर्देशक रुपेश जोशीले भने ।

‘समय यात्रुको उडान हाम्रो भन्ने नाराका साथ हामीले नयाँ उडान तालिका बनाएका छौं, जसअनुसार पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान भर्ने जोशीले जानकारी दिए । अन्य गन्तव्यहरुमा पनि यात्रुको चाप हेरि उडान विस्तार गर्ने बुध्द एयरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसबाट यात्रुले आफ्नो अनुकल समयमा हवाई यात्रा गर्न सक्छन् । अझ कर्पोरेट विजनेश सेक्टरका यात्रुहरु एकै दिनमा विभिन्न गन्तव्य आउजाउ गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।

थपिएको जहाजबाट नियमित विमान मर्मत सम्भार गर्न थप सजिलो हुने विश्वास एयरलाइन्सले लिएको छ ।

बुध्द एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक काठमाडौं र पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ ।

भारतको वनारस उडान दुवै देशको स्वीकृत पछि पुनः सुरु गरिने बताइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।