नेपाली बैंकिङ इतिहासमा माछापुच्छ्रे बैंकले पहिलो पटक सञ्चालनमा ल्यायो पेमेण्ट वालेट ‘रेमिट्याप’


नेपाली वाणिज्य बैंकहरुको इतिहासमा पहिलो पटक माछापुच्छ्रे बैकले मोवाईल वालेट “रेमिट्याप” संचालन ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले बिशेषगरि डिजीटल बैंकिङ्गमा नयाँ नयाँ खोज र अनुसन्धान गर्दै नयाँ नयाँ सेवा र सुविधाहरु ल्याउने क्रममा वालेटको सुरुवात गरेको हो । डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले माछापुच्छ्रे बैंकले आफ्नै मोवाईल वालेट संचालनमा ल्याएको जनाएको छ ।

रोबष्ट टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोवाईल वालेट सुरक्षित रहेको बैंकले जनाएको छ । प्रयोगकर्तामैत्री भएकाले प्रयोग गर्न सजिलो हुने पनि बैंकले जनाएको छ । माछापुच्छ्रे बैंक मात्र नभई अरु बैंकका सेवाग्राहीले पनि सजिलै चलाउन सकिने रेमिट्याप डाउनलोड गरि ग्राहक पहिचान विबरण भर्ने पहिलो १ हजार प्रयोगकर्ताले १०० रुपैंया व्यालेन्स पाउने बैंकले जनाएको छ । 

रेमिट्यापमा नेपालमा यसअघि कुनैपनि वालेटमा नभएका विशेषताहरु भर्चुअल कार्ड सिर्जना गरि उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण भिडियो मार्फत अपलोड गर्न सकिने लगायतका नयाँ विशेषताहरु वालेटमा छन् ।

विशेषगरि बिदेशबाट पठाइने रेमिट्यान्स रेमिट्याप वालेटमा पठाउन तथा पाउन उपयोगी हुनेछ । रेमिट्यापले बिदेशको साथै नेपाल भित्र नै एक ठाउबाट उर्को ठाउमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि यसले सहज बनाउने छ । यसरी रेमिट््यापबाट पठाएको रेमिट्यान्स देशैभर छरिएका ७ हजार भन्दा बढि एजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ ।

यसबाहेक रेमिट्याप वालेट भित्र अन्य बिभिन्न सेवाहरु खानेपानी, बिजुली, टेलिफोनको बिल तिर्ने लगायतका थुपै विशेषताहरु रहेका छन् । नेपाली तथा अङ्गेजी दुवै भाषामा यो एप चलाउन सकिने भएकाले हरेक तह र तप्कामा रहेका ग्राहकहरुको डिजीटल आवश्यकता रेमिट्यापले पूरा गर्ने विश्वास बैंकले लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।