शेयरमा लगानी गर्न थाहा पाइराख्नु पर्ने प्राथमिक र दोस्रो बजारको प्रक्रिया

0
Shares

कोरोनाले अस्तव्यवस्त आर्थिक गतिविधिका बावजुद पनि धितोपत्र बजारले एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै आएको छ । धितोपत्रको देस्रो बजारमा आएको उत्साहले सर्वत्र चर्चाको विषयमा धितोपत्र बजार नै प्रमुख बनेको छ ।

चिया पसल देखि कार्यालय परिसरसम्म पछिल्ला दिनहरुमा शेयर बजारको चर्चा नहुने स्थान भेट्न मुस्किलै पर्छ । शेयर बजारको कुरा गर्दा दोस्रो बजारबाट कमाएको तथा गुमाएको मात्र नभई पछिल्लो समयमा साधारण शेयरको समेत उत्तिकै चर्चा चल्न थालेको छ । धितोपत्रको दास्रो बजार ‘बुलिस’ ट्रेण्डमा हुँदा समान्यतया प्राथमिक बजारको पनि उत्तिकै चर्चा हुने गर्छ ।

पछिल्लो समयमा धितोपत्र बजारमा लगानीकर्ता आकर्षित गर्ने कडी बनेको नेपाल पुनर्बीमा कम्पनीले आवेदन गरेको सबैलाई शेयर दियो । कम्पनीले अधिकतम ५० कित्तासम्म शेयर बाँडफाँड गरेको थियो भने ४० कित्तासम्म माग गर्ने लगानीकर्तालाई माग अनुसार नै शेयर वितरण गरेको थियो ।

कोरोना भाइरस संक्रमणको लागि गरिएको लकडाउनको सुरुवातमा शेयर जारी भएको यो कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा सूचीकरण गरेपछि कम्पनीको प्रतिकित्ता शेयरमूल्य १ हजार ८०० रुपैयाँ भन्दा माथि पुगेपछि साधारण शेयरमा लगानीकर्ताको आकर्षण झनै बढ्न थाल्यो । पछिल्लो समयमा साधारण शेयरका लागि अवोदन दिने लगानीकर्ताको संख्या नै १५ लाख माथि पुगेको अवस्था छ । केही समयपछि मात्र साधारण शेयर निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले पनि आवेदक सबैलाई ( अधिकतम ६० कित्ता र ५० कित्तासम्म माग गर्नेलाई माग बमोजिम) शेयर बाँडफाँड गरेको अवस्था छ ।

धितोपत्रको दोस्रो बजारमा लगानी गर्नु भनेको जोखिम बढाई प्रतिफल धेरै खोज्नु हो तर, प्राथमिक बजारमा लगानी गर्दा न्यून जोखिम हुने गर्दछ । त्यसको विपरित दोस्रो बजारमा भने जोखिम उच्च हुने गर्छ । धितोपत्रको पहिलो बजारमा १०० रुपैयाँमा १ कित्ता शेयर खरीद गर्न पाइन्छ । सोही शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार हुन थालेपछि अंकित मूल्यमा अर्थात १०० रुपैयाँ भन्दा धेरै हाल्नुपर्ने हुन्छ । धितोपत्र दोस्रो बजारमा सूचीकरण भएपछि बजारले नै सम्बन्धीत कम्पनीको शेयरको बजार मूल्य पनि निर्धारण गर्नेगर्छ ।

प्राथमिक बजारमा खरीद गरिने आईपीओ न्यून संख्यामा मात्र पाइने भएकाले आफुले चाहेको संख्यामा शेयर खरीदका लागि पनि दोस्रो बजारमा जानुपर्ने हुन्छ । प्राथमिक बजारमा लगानी गरेको शेयर बिक्री गर्न अनिवार्य दोस्रो बजार जानुपर्छ । तर, दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ता अनिवार्य प्राथमिक बजारमा आउनु नपर्ने इम्पेरियल सेक्यूरिटीजका प्रबन्ध निर्देशक भक्तिराम घिमिरे बताउँछन् । कुनै व्यक्तिले प्राथमिक बजारमा शेयर खरीद नै नगरी दोस्रो बजारमा मात्रै पनि शेयर खरीद बिक्री गर्नसक्छ ।

झट्ट सुन्दा शेयर बजारमा टन्न पैसा कमाउने र धनी मान्छेले मात्र लगानी गर्ने हो जस्तो देखिन्छ । तर, शेयर बजार भनेको सानो भन्दा सानो पूँजीलाइ पनि परिचालन गर्ने सकिने क्षेत्र हो । शेयर बजारमा विद्यार्थी, गृहणी, कर्मचारी, किसान, मजदुर सबैले लगानी गर्न सकिन्छ । चाहे त्यो प्राथमिक हो वा दोस्रो बजार । कुन बजारमा लगानी गर्ने भन्ने कुरा कस्ले कति जोखिम लिन सक्छ भन्ने कुराले निर्धारण गर्छ ।

“पछिल्लो समयमा शेयर बजारमा देखिएको आकर्षणले बजारको आकार बढाउने मात्र नभई गृहणी तथा विधार्थीहरुले सानो लगानीबाटै आफ्नो खर्च पुर्याएका छन्,” इम्पेरियल सेक्यूरिटीजका प्रबन्ध निर्देशक घिमिरेले भने, “अहिले गाउँ घर, स्कुल कलेज, अफिस, फुटपाथ जताततै शेयर बजारको कुराकानी सुन्न पाइन्छ ।”

कुनै पनि कम्पनीको शेयर धितोपत्र बजारमा कारोबार हुनका लागि साधारण शेयर सर्वसाधारणमा बिक्री गरेको हुनुपर्छ । नेपाल धितोपत्र बोर्डबाट साधारण शेयर निष्काशन अनुमति लिएपछि मात्र कम्पनीहरुले सर्वसाधारणमा शेयर बिक्री गर्छन् । यसरी बिक्री गरीएको शेयर लगानीकर्ताको सहजताका लागि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सूचीकरण गरिन्छ ।

  • साधारण शेयर कसरी खरिद गर्न सकिन्छ ?

कुनै पनि कम्पनीले धितोपत्र बोर्डको अनुमति लिएपछि आह्वानपत्र सार्वजनिक गर्दै सर्वसाधारणलाइ बिक्री खुल्ला गर्छ । त्यसका लागि उक्त कम्पनीको शेयरमा लगानी गर्न चाहने व्यक्तिले सबैभन्दा पहिला नेपाल राष्ट्रबाट अनुमति पाएका क ख ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोल्नुपर्छ । बैंक खाताका लागि २ प्रति फोटो, एक प्रति नागरिकताको फोटोकपी साथमा सक्कल नागरिकता आवश्यक हुन्छ । नावालकको हकमा जन्मदर्ता र संरक्षकको नागरिकता पनि आवश्यक पर्दछ ।

बैंक खाता खोली सकेपछि हितग्राही अर्थात डिम्याट एकाउन्ट (शेयर खाता) खोल्नुपर्छ । डिम्याट एकाउन्ट भनेको बैंक खाता जस्तै विद्युतीय शेयर राख्ने शेयर खाता हो ।

अहिले नेपालमा धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त निक्षेप सदस्यबाट डिम्याट खाता खोलन सकिन्छ । वार्षिक १०० रुपैयाँ शुल्क तिर्नुपर्ने डिम्याट खाता पछिल्लो समय शेयर बजारमा बढ्दो आकर्षणका बीच निक्षेप सदस्यहरुले निशुल्क समेत खोल्दै आएका छन् । यसले लगानीकर्तालाई थप सहजता पुगेको छ ।

हाल निक्षेप सदस्यको संख्या ७७ रहेको छ । यसरी ७७ मध्ये आफुलाई पायक पर्ने नजिकैको निक्षेप सदस्यहरु (बैंक, वित्तीय संस्थाहरु, मर्चेन्ट बैंकर, ब्रोकर कम्पनी लगायत) बाट डिम्याट खाता खोलिसकेपछि अनलाईन कारोबार प्रणाली मार्फत शेयरमा आवेदन गर्नका लागि केन्द्रीय निक्षेप प्रणालीको नयाँ सिस्टम मेरो शेयरमा आवद्ध हुनुपर्छ ।

यसका लागि डिम्याट खाता खोलिएको निक्षेप सदस्यबाट वार्षिक थप ५० रुपैयाँ तिरेर मेरो शेयर सुविधा लिन सकिन्छ । यद्यपी आफ्नो बैक खाता रहेको बैंक तथा वित्तीय संस्थाहरुबाट धितोपत्र बोर्डको सि आश्वा अनुमति लिएका संस्थाबाट कागजी रुपबाटै पनि सार्वजनिक निष्काशनमा आवेदन दिन पनि सकिन्छ ।

अनलाइन मार्फत साधारण शेयर आवेदनका लागि भने केन्द्रीय निक्षेप प्रणालीको मेरो शेयरमा आवद्ध हुनुपर्छ । पछिल्लो समय सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ । एप तथा वेवसाइट जहाँबाट पनि आईपीओमा आवेदन दिन सकिन्छ ।

मेरो शेयरबाट आवेदन दिनुपूर्व लगानीकर्ताले आफ्नो खाता रहेको बैंकबाट निक्षेप सदस्यकहाँ खोलिएको डिम्याट नम्बर लगायतको सम्पूर्ण आवश्यक विवरण भरेर सि आस्बा रजिष्ट्रेसन नम्बर (सिआरएन) लिइसकेको हुनुपर्छ ।

यति भएपछि मोबाइल तथा कम्प्यूटरको माध्यमबाट घर तथा कार्यालयबाटै मेरो शेयरको माध्यमवाट साधारण शेयरका लागि आवेदन दिन सकिन्छ । आईपीओमा आवेदन दिँदा डिम्याट खाता र बैंक खाता भएर मात्र हुँदैन बैंक खातामा प्रयाप्त मौज्दात रकम पनि हुनुपर्छ । खातामा प्रयाप्त रकम नभएको खण्डमा आवेदन रद्ध हुन्छ ।

साधारण शेयर भरेपछि जति रकमको साधारण शेयर भरिएको हो त्यति बराबरको रकम शेयर बाँडफाँड नहुन्जेलसम्म खातामा नै रोक्का अर्थात ‘ब्लक’ हुन्छ । यसरी रोक्का राखिएको रकम शेयर बाँडफाँड गरी फुकुवा नहुँदासम्म झिक्न वा चलाउन पाइँदैन । कम्पनीले साधारण जारी गरेको सामान्यतया एक हप्तामा नै शेयर बाँडफाँड गर्छन्। लामो समय लाग्दा पनि दुई हप्ता भित्रमा बाँडफाँड भइसक्छ ।
यसरी बाँडफाँडमा लगानीकर्तालाई शेयर पर्यो भने उक्त शेयर बराबरको रकम बैंक मार्फत नै कम्पनीले लिन्छ र शेयर नपरेको बाँकी रकम सम्बन्धीत आवेदकको खातामा नै फुकुवा गरिदिन्छ ।

यसपछि बाँडफाँड भएको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेप्सेमा सूचीकृत गर्छन् । त्यसपछि प्राथमिक बजारमा खरीद गरिएको शेयर दोस्रो बजारमा खरीद बिक्रीका लागि योग्य हुन्छ ।
धितोपत्रको दोस्रो बजार

प्राथमिक बजारमा निष्काशन गरिएको शेयर किनबेच गर्ने बजार नै दोस्रो बजार हो । धितोपत्रको दोस्रो बजारले कुनै पनि कम्पनीको शेयर मूल्य कम्पनीको प्रगतिको अवस्था, संस्थापक लगानीकर्ता, शेयरको माग तथा आपूर्तिका आधारमा निर्धारण हुन्छ । नेपालमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त ५० वटा धितोपत्र दलाल व्यवसायी मार्फत दोस्रो बजारमा खरीद बिक्री गर्न सकिन्छ । जसको फ्रन्ट लाइन रेगुलेटरको रुपमा नेपाल स्टक एक्सचेञ्ज रहेको छ ।

धितोपत्रको दोस्रो बजार प्राथमिक बजारमा लगानी गरेका लगानीकर्तालाई लगानी अन्य विकल्प दिन तथा लगानीलाई नगदमा परिवर्तन गर्ने माध्यम रुपमा बुझिन्छ । शेयरको किनबेच गर्दा धितोपत्र बोर्डबाट इजाजत प्राप्त ब्रोकर कम्पनीहरुमा गई कारोबार खाता खोली ब्रोकरलाई भनेर वा आफैँले शेयरको खरिद बिक्री गर्न सकिन्छ ।

  • धितोपत्रको दोस्रो बजारमा प्रवेश गर्न के गर्ने ?

धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि धितोपत्र दलाल (ब्रोकर) कम्पनीमा कारोबार खाता खोल्नुपर्ने हुन्छ । कारोबार खाता खोल्नका लागि नागरिकताको फोटोकपी, १ प्रति फोटो, विद्यार्थी, कर्मचारी भए परिचयपत्रको फोटोकपी पेश गर्नुपर्ने हुन्छ । तर, सामान्य व्यक्ति भएको खण्डमा नागरिकता बाहेकका थप परिचयपत्र अनिवार्य हुँदैन । अहिले नेपालमा ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन् ।

त्यसका साथै धितोपत्र दलाल कम्पनीका देशभित्रका विभिन्न शहरहरुमा रहेका ४३ वटा शाखा कार्यालय (रिमोट एसिरया वर्क स्टेशन) रहेका छन् । तसर्थ दोस्रो बजारमा लगानी गर्न चाहने व्याक्तिले धितोपत्र ब्रोकरको कार्यालय तथा उनीहरुको शाखा कार्यलयमा गएर कारोबार खाता खोल्न सक्छन् । नेपालमा कुल ९३ ठाउँमा गएर दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न सकिन्छ ।

यसरी कारोबार खाता खोलीकेपछि लगानीकर्ता प्राविधिक रुपमा सचेत भएको खण्डमा अनलाईन मार्फत आफैँले खरिद बिक्री गर्न सक्छन् भने ब्रोकरलाई फोन गरेर पनि किनबेच गर्न सक्छन् ।

आफैँले कारोबार गर्दा आफुसँग एउटा स्मार्ट फोन वा कम्प्युटर, ल्यापटप सहित इन्टरनेट पनि हुनुपर्छ ।

लगानीकर्ता आफैँले कारोबार गर्ने हो भने ब्रोकर कम्पनीहरु मार्फत नेप्सेको अनलाइन ट्रेड म्यानेजमेन्ट सिस्टमको लगइन आइडी र पासवर्ड लिनुपर्छ । त्यसका लागि ब्रोकरकोमा एप्लिकेसन दिनुपर्छ । यसरी बुझाई सकेको टिएमएस फारमको विवरण सहि छ भने सम्बन्धित ब्रोकरद्धारा आवश्यक तथ्य प्रमाण हेरेर दुई देखि तीन दिनभित्र सिस्टममा इन्ट्री भइसक्ने ब्रोकर नम्बर २९ त्रिशुल सेक्युरिटीजका सञ्चालक नवराज सुवेदी बताउँछन् । यसरी ग्राहकको आवश्यक विवरण इन्ट्रि भइसकेपछि क्लाइन्ट कोड जेनरेटेड हुन्छ । त्यसपछि अनलाईनबाट ग्राहक आफैँले कारोबार गर्न सक्छ ।

अनलाइनबाट आफैँले कारोबार गर्नका लागि लगानीकर्ताले कारोबार लिमीट लिनुपर्छ । यस्तो लिमीट शेयर बिक्री गर्नका लागि चाहिँदैन तर दोस्रो बजारको मार्केटबाट शेयर खरीद गर्नका लागि भने आफुले गर्ने कारोबार रकमको एक चौथाई बरबरको रकम ब्रोकर कम्पनीमा धरौटीको रुपमा राख्नुपर्छ । उदाहरणका लागी २५ हजारको धरौटी राखियो भने १ लाख शेयर कारोबार गर्न पाईन्छ ।

होइन म घरौटी राख्दिन भन्दा पनि आफुसँग भएको बिक्री गर्न चाँही सकिन्छ । तर खरीद गर्नका लागि भने धरौटी अनिवार्य हुन्छ । यसरी धितापत्रको दोस्रो बजारमा लगानी सुरु गरिसकेपछि बजारको उतारचढाव अनुसार कम्पनी छनोट गरी अधिकारिक सूचनाका आधारमा लगानी गर्ने लगानीकर्ताले आम्दानी गर्छ भने बजारमा आएका अपुष्ट सुचना तथा हल्लाका पछि लागेर वा अरुले कमाएको देखेर लगानी गर्ने लगानीकर्ताले गुमाउने गरेको पनि देखिन्छ ।

दोस्रो बजारमा लगानी गर्दा आफुले लगानी गर्ने कम्पनीको विश्लेषण, यसअघि दिएको लाभांश इतिहास, शेयरमूल्यको उतारचढाव, भविष्यमा गर्नसक्ने प्रगति लगायतका विविध पक्षहरुको गहन अध्ययन तथा विश्लेषण गरेर मात्र लगानी गर्नुपर्छ । हचुवा र हल्लाको भरमा गरिने लगानीबाट नोक्सानी पनि हुनसक्ने भएकाले प्राथमिक बजारको तुलनामा दोस्रो बजारमा निकै चनाखो भएर लगानी गर्नुपर्ने जानकारहरु बताउँछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० माघ २०७७, शुक्रबार  १९ : ५७ बजे