मोटरसाइकल पारखीका लागि कान्तिपथमा खुल्यो एसजे मोटो ग्यालरी, विश्व बजारका मोटरसाइकल एकै स्थानमा हेर्न पाइने


सस्तो, महंगो, पुरानो, नयाँ अनि धेरै ब्राण्डका मोटरसाइकलहरु एकै स्थानमा अवलोकन गर्दै कफी पिउन चाहनेहरुका लागि राधानीको कान्तिपथमा मोटो ग्यालरी सञ्चालनमा आएको छ । उद्योगी तथा व्यवसायी शौरभ ज्योतिले ‘एसजे मोटो’ नामक मोटरसाइकल म्युजियम सञ्चालनमा ल्याएका छन् ।

नेपालका लागि होण्ड ब्राण्डका मोटरसाइकल तथा चार पाङ्ग्रे सवारी साधनको आधिकारिक बिक्रेता रहेको स्याकार ट्रेडिङका अध्यक्ष समेत रहेका सौरभले नेपालमा नै पहिलो पटक मोटरसाइकल म्युजियम सञ्चालनमा ल्याएका हुन् ।

विगतमा आफ्ना धेरै साथी र मोटरसाइकलप्रेमीहरुले तपाईको घरमा लगेर एकपटक तपाईसँग भएका मोटरसाइकल देखाउनुस् भन्ने गरेका सम्झदै ज्योतिले भने, ‘अब कसैले पनि मोटरसाइकल हेर्नबाट बन्चित हुनु पर्ने छैन ।’

नेपालमा सुरुवाती दिनमा आएका मोटरसाइकलदेखि पछिल्लो समय विश्व बजारमा चलेका ब्राण्डेट मोटरसाइकलसम्म अवलोकन गर्दै कफी पिउने वाताबरण बनाइएको ज्योतीले बताए । म्यूजियमको उद्घाटन गर्दै ज्योतिले भने, ‘म्यूजिएम खोल्ने मेरो पहिले देखिकै सपना थियो जुन आज पुरा भएको छ ।’

आफुसँग भएको पुरानो मोटरसाइकल म्यूजियमा राख्न चाहेको खण्डमा सम्बन्धित व्यक्तिको नाम लेखेर राख्न सकिने ज्योतिले बताए ।

नेपालका साथै विश्व बजारका नयाँ तथा पुराना मोडलका धेरै मोटरसाइकलहरु हेर्नबाट कोही बन्जित हुनु नपर्ने बताएका ज्योतीले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नका लागि कफी शप सञ्चालनमा ल्याएको बताए । “मेरो हजुरबुबाले हरेका काममा आफ्नो उत्पादन हुनु पर्छ भन्ने गर्नु हुन्थ्यो । मोटरसाइकल बाहिर उत्पादन भएको भए पनि हामीले नेपालको उत्पादन कफीलाई यहाँ जोडेका छौं ।”

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।