जीवन बीमा कम्पनीद्धारा ६ महिनामा पौने ५७ अर्ब बीमाशुल्क संकलन, व्यवसाय वृद्धिदर नयाँको धेरै

0
Shares

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ जीवन बीमा कम्पनीले ५६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिमा ४१ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेका थिए । औषतमा खुद बीमाशुल्क ३७.०४ प्रतिशतले बढेको हो ।

राष्ट्रिय बीमा संस्थानले भने हालसम्म पनि चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित नगरेकाले सो कम्पनीको तथ्याङ्क समेटिएको छैन ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीतर्फ व्यवसाय वृद्धि गर्नेमा नयाँ जीवन बीमा कम्पनी पुराना कम्पनी भन्दा अगाडि देखिएका छन् । कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरणलाई हेर्दा गत आवको यसै अवधिमा तुलनामा नयाँ कम्पनीको खुद बीमाशुल्क वृद्धिदर उच्च देखिएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास २०७७/७८ को वित्तीय विवरण सार्वजनिक गरेका १८ जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्कको तथ्याङ्कलाई गत आव २०७६/७७ को पुस मसान्तसम्मको तथ्याङ्कसँग तुलना गरेर हेर्दा व्यवसाय विस्तारको वृद्धिदर धेरै हुने सूचीको शीर्ष पाँचमा चार नयाँ कम्पनी समेटिएका छन् भने एउटा मात्र पुरानो कम्पनी रहेको छ । यस अवधिमा सानिमा लाइफ, गुराँस लाइफ, आइएमई, प्रभु, ज्योति लाइफ इन्स्योरेन्सको व्यवसाय वृद्धिदर उच्च देखिएको छ ।

  • सानिमा र गुराँस लाइफको शतप्रतिशत धेरैले बढ्यो, मेट लाइफको सुस्त

चालु आर्थिक वर्षको पुस महिनासम्ममा सानिमा र गुराँस लाइफ इन्स्योरेन्सले १०० प्रतिशतभन्दा धेरैले व्यवसाय वृद्धि गरेका छन् ।

पुराना तथा नयाँ सबै कम्पनीलाई पछि पार्दै सानिमा लाइफ व्यवसाय वृद्धिदरमा पहिलो नम्बरमा छ भने गुराँस लाइफ दोस्रो स्थानमा रहेको छ ।

सानिमा लाइफले सबैभन्दा धेरै १३४.७७ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीले ९५ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ४० करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

सानिमा लाइफ पछि धेरै व्यवसाय वृद्धि गर्ने कम्पनी गुराँस लाइफ रहेको छ । कम्पनीले १२०.३५ प्रतिशतले व्यवसाय वृद्धि गरेको हो । गत आवकोमा ९५ करोड ७७ लाख कम्पनीले बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको पुसमसान्तसम्ममा २ अर्ब ११ करोड रुपैयाँ खुद गरेको हो ।

गुराँस लाइफसँगै आइएमई, प्रभु, ज्योति र रिलायन्स लाइफको व्यवसाय वृद्धिदर आक्रमक देखिएको छ । यी पाँच कम्पनीले पनि ९० प्रतिशत धेरैले व्यवसाय विस्तार गरेका छन् ।

गत आवको पुसको तुलनामा चालु आवको यसै अवधिमा आइएमई लाइफले ९८.५१ प्रतिशत, प्रभु लाइफले ९५.०९ प्रतिशत, रिलायन्सले ९२.०६ प्रतिशत, सूर्याले ७७.८५ प्रतिशत र सिटिजन लाइफले ७३.२९ प्रतिशतले बीमाशुल्क बढाएका हुन् ।

पुस मसान्तसम्ममा अन्य पाँच कम्पनीले ५० देखि ९० प्रतिशत भन्दा धेरैले व्यवसाय बढाउन सफल देखिएका छन् । सूर्या लाइफ, सिटिजन, महालक्ष्मी, सन नेपाल लाइफ, र रिलायबल लाइफको बीमाशुल्क संकलन ५० देखि ९० प्रतिशतको बीचमा बढेको छ ।

यस अवधिमा नेशनल लाइफ, एशियन लाइफ, युनियन लाइफ, प्राइम लाईफ, एलआईसी र नेपाल लाइफको बीमशुल्क संकलनको वृद्धिदर औषत छ । यी कम्पनीहरुले २२ देखि ४१ प्रतिशतको बीचमा व्यवसाय विस्तार गरेका छन् ।

मेटलाइफको व्यवसाय वृद्धिदर सबैभन्दा सुस्त देखिएको छ । कम्पनीको खुद बीमाशुल्क संकलन ६.६७ प्रतिशत मात्र बढेको छ गत आवको यसै अवधिमा २ अर्ब २९ करोडबाट २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

  • जीवन बीमा कम्पनीद्धारा औषत ३ अर्ब १४ करोड बीमाशुल्क संकलन

चालु आवको ६ महिनामा वित्तीय विवरण सार्वजनिक गरेका १८ जीवन बीमा कम्पनीले औषतमा ३ अर्ब १४ करोड ९९ लाख ८३ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् । गत आवको यसै अवधिमा औषत २ अर्ब २९ करोड ८५ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा खुद बीमाशुल्क औषत ३७.०४ प्रतिशतले बढेको हो । १३ कम्पनीले औषतभन्दा धेरै प्रतिशतले खुद बीमशुल्क संकलन बढाएका छन् भने पाँच कम्पनीको औषतभन्दा कम छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ जीवन बीमा कम्पनीले ५६ अर्ब ६९ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिमा ४१ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए ।

यस अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै १७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको पुससम्ममा १३ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको यस कम्पनीले एक वर्ष अवधिमा २२.८४ प्रतिशतले बीमाशुल्क संकलन बढाएको हो ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) एलआइसीले दोस्रो ठूलो ९ अर्ब ५६ करोड, र नेशनल लाइफले ५ अर्ब ४८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यूनियन, एशियन, मेट लाइफ, सूर्या, गुराँस,प्राइम लाइफ, ज्योति, सिटिजन, रिलायबल नेपाल, आइएमई, रिलायन्स लाइफ इन्स्योरेन्सले एक अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् ।

यता, सानिमा लाइफ, सन नेपाल लाइफ, प्रभु, महालक्ष्मी लाइफले भने अर्ब भन्दा कम खुद बीमाशुल्क संकलन गरेका छन् । सबैभन्दा कम खुद बीमाशुल्क संकलन गरेको महालक्ष्मी लाइफले ४७ करोड २८ लाख ७६ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।