जीवन बीमा कम्पनीहरुको नाफा साढे २ अर्ब, प्रभु लाइफले बढायो धेरै

0
Shares

चालु आवको पुस मसान्तसम्ममा १८ जीवन बीमा कम्पनीले २ अर्ब ४३ करोड ५२ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा बीमांकीय मूल्याकंन अघिको नाफा हो ।

गत आवको पुस मसान्तसम्ममा १ अर्ब ९६ करोड ८० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका कम्पनीहरुले समीक्षा अवधिमा २३.७४ प्रतिशतले नाफा बढाएका हुन् ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक नगरेकाले सो कम्पनीको तथ्याङ्क समावेश गरिएको छैन ।

चालु आवको दोस्रो त्रैमासम्ममा प्रभु लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी खुद नाफा बढाएको छ । कम्पनीले १२५.२९ प्रतिशतले वृद्धि गर्दै ८ करोड ८ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ३ करोड ५८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, ज्योेति लाइफले ५६.५६ प्रतिशत, लाइफ इन्स्योरेन्स (कर्पोरेशन) नेपालले ५०.५२ प्रतिशतले नाफा वृद्धि गरेका छन् । चालु आवको दोस्रो त्रैमाससम्ममा १७ जीवन बीमा कम्पनीको नाफा बढेपनि यूनियन लाइफको नाफा भने घटेको छ । कम्पनीको नाफा १७.९१ प्रतिशतले घटेर ६ करोड ३५ लाख २५ हजार रुपैयाँमा सीमित भएको हो । गत आवको यसै अवधिमा कम्पनी ७ करोड ७३ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्ममा नेपाल लाइफले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । नेपाल लाइफले ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको हो । सबै बीम कम्पनीको खुद नाफामा नेपाल लाइफको हिस्सा १७.६५ प्रतिशत छ । गत आवको यसै अवधिमा कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसैगरी नेशनल लाइफले २३ करोड ६५ लाख, सूर्या लाइफले २० करोड १२ लाख, प्राइम लाइफले १९ करोड ३६ लाख, रिलायबल नेपाल लाइफले १७ करोड ७२ लाख, एशियन लाइफले १७ करोड ६० लाख, र मेट लाइफले १६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

एलआईसी, सिटिजन्स लाइफ, र ज्योति लाइफले १० करोडभन्दा धेरै खुद नाफा आर्जन गर्दा ८ जीवन बीमा कम्पनीको खुद नाफा १० करोडभन्दा कम छ । सबैभन्दा कम नाफा आर्जन गरेको महालक्ष्मी लाइफले ५ करोड १९ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।