निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा २ अर्ब माथि, दुईको घट्यो

0
Shares

चालु आवको दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले २७.९८ प्रतिशतले वृद्धि गर्दै दुई अर्ब रुपैयाँ धेरै खुद नाफा कमाएका छन् । नेपालमा सञ्चालनमा रहेका २० मध्ये १८ वटा कम्पनीले चालु आवको पुसमसान्तसम्ममा २ अर्ब ८ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

गत आवको पुसमसान्तसम्ममा यी कम्पनीहरुले १ अर्ब ६२ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।  समीक्षा अवधिमा १८ बीमा कम्पनीको खुद नाफा ४५ करोड ५० लाख रुपैयाँले बढेको हो ।

नेप्सेमा सूचीकृत नरहेका ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले भने वित्तीय विवरण सार्वजनिक गरेको छैन । ओरियन्टलले पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेका छैन भने नेशनल इन्स्योरेन्सको चालु आवको पहिलो र दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुन बाँकी छ ।

  • जनरल, आइएमई र प्रिमियरको शतप्रतिशतले धेरै बढ्यो

चालु आवको पुस मसान्तसम्ममा जनरल, आइएमई र प्रिमियर इन्स्योरेन्सको खुद नाफामा वृद्धिदर उच्च देखिएको छ ।

चालु आवको पुस मसान्तसम्ममा जनरल, आइएमई र प्रिमियर इन्स्योरेन्सले १०० प्रतिशत भन्दा धेरैले नाफा वृद्धि गरेका छन् । जनरल इन्स्योरेन्सले १५९.३६ प्रतिशत, आइएमई जनरलले १२५.६७ प्रतिशत र प्रिमियर इन्स्योरेन्सले १०९.१० प्रतिशतले खुद नाफा वृद्धि गरेका छन् ।

चालु आवको पुसमसान्तसम्ममा जनरल इन्स्योरेन्स कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

आइएमई जनरलले चालु आवको दोस्रो त्रैमाससम्ममा १५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । आव २०७६।७७ को दोस्रो त्रैमासम्ममा कम्पनीले ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा प्रिमियर इन्स्योरेन्सले १८ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

  • पाँच कम्पनीको नाफा ५० देखि ७५ प्रतिशतसम्मले बढ्यो

चालु आवको दोस्रो त्रैमासम्मको अवधिमा अन्य पाँच कम्पनीले ५० प्रतिशतदेखि ७५ प्रतिशतसम्म नाफा वृद्धि गर्न सफल भएका छन् । एनएलजी, अजोड, सगरमाथा, सानिमा जनरल र नेको इन्स्योरेन्सले ५० प्रतिशतदेखि ७५ प्रतिशतसम्म खुद नाफा वृद्धि गरेका हुन् ।

एनएलजीले ७५.७९ प्रतिशत, अजोडले ७५.४९ प्रतिशत, सगरमाथाले ७०.५९ प्रतिशत, सानिमा जनरलले ६२.२९ प्रतिशत र नेको इन्स्योरेन्सले ६०.२२ प्रतिशतले नाफा वृद्धि गरेका हुन् ।

सिद्धार्थ इन्स्योन्स र प्रभु इन्स्योरेन्सले ४० प्रतिशत बढीले खुद नाफा वृद्धि गर्दा युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल, एभरेष्ट इन्स्योरेन्सले पनि ३० प्रतिशत बढीले नाफा बढाएका छन् ।

पुस मसान्तसम्ममा सिद्धार्थले १३ करोड ६९ लाख, प्रभु इन्स्योरेन्सले ८ करोड ४९ लाख, युनाइटेडले २ करोड ७४ लाख, लुम्बिनी जनरलले १० करोड २५ लाख र एभरेष्ट इन्स्योरेन्सले ७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यस अवधिमा नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल, र शिखरको खुद नाफा भने १० देखि २० प्रतिशतको बीचमा बढेको छ । समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सले १० करोड २६ लाख, प्रुडेन्सियलले ७ करोड ३५ लाख र शिखरले २४ करोड २४ लाख खुद नाफा आर्जन गरेको छ ।

  • नेको इन्स्योरेन्सले कमायो सबैभन्दा धेरै नाफा

चालु आवको दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुमध्ये नेको इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा २६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १६ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा ६०.२२ प्रतिशतले बढेको हो । दोस्रो स्थानमा रहेको शिखरको नाफा २४ करोड १४ लाख तथा प्रिमियरको नाफा १८ करोड ६९ लाख रुपैयाँ छ । गत आवको सोहि अवधिको तुलनामा शिखरको खुद नाफा ११.७३ प्रतिशत र प्रिमियरको १०९ प्रतिशत बढी हो ।

सगरमाथा र एनएलजी क्रमशः चौथो र पाँचौं धेरै नाफा आर्जन गर्ने कम्पनी बनेका छन् । पुस मसान्तसम्ममा सगरमाथाले १७ करोड ७२ लाख र एनएलजीले १५ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस अवधिमा प्रभु, एभरेष्ट, प्रुडेन्सियल, हिमालयन जनरल, अजोड, जनरल इन्स्योरेन्स, सानिमा जनरल र युनाइटेड इन्स्योरेन्सको नाफा १० करोडभन्दा कम रहेको छ । सबैभन्दा कम नाफा कमाएको युनाइटेड इन्स्योरेन्सले २ करोड ७४ लाख नाफा कमाएको हो । जुन गत आवको यसै अवधिको तुलनामा ३५.६९ प्रतिशतले धेरै हो ।

  • हिमालयन जनरल र राष्ट्रिय बीमाको नाफा घट्यो

चालु आवको दोस्रो त्रैमाससम्ममा १५ निर्जीवन बीमा कम्पनीले खुद नाफा वृद्धि गर्दा हिमालयन जनरल र राष्ट्रिय बीमा कम्पनीको खुद नाफा भने घटेको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको खुद नाफा गत आवको पुसको तुलनामा ५६.३१ प्रतिशतले घटेको हो । गत आवको यसै अवधिमा कम्पनीको खुद नाफा ३१ करोड ४४ लाख रुपैयाँ आर्जन गरेकोमा घटेर १३ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ ।

यसैगरी हिमालयन जनरलको नाफा गत आवको यसै अवधिको तुलनामा १४.८७ प्रतिशतले घटेको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीले ६ करोड ११ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ७ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।