सहकारीमा मात्रै पौने पाँच खर्ब बचत, ८८ हजारलाई प्रत्यक्ष रोजगारी

0
Shares

देशभर सञ्चालनमा रहेका सहकारीमा कुल ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बचत संकलन रहेको छ । सहकारीमा रहेको यो बचत वित्तीय प्रणालीमा रहेको कुल निक्षेपको करिब ११ प्रतिशत हुन आउछ । अहिले वित्तीय प्राणीमा ४२ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेको छ।

तुलनात्मक रुपमा बैंक वित्तीय संस्थामा भन्दा सहकारीमा बचत राख्दा आउने ब्याजदर धेरै भएकाले पनि समय–समयमा वित्तीय प्रणालीको पैसा सहकारी तर्फ जाने गर्छ । त्यसले गर्दा पनि सहकारीको बचतमा उतारचढाव आइरहेको हुन्छ । पछिल्लो समयमा वित्तीय प्रणालीले मुद्दती तथा बचतको ब्याजदर घटेपछि केही निक्षेप सहकारीमा गएको हुन सक्ने समेत बैंकरहरुको अनुमान छ।

सहकारीहरुले जथाभावी ब्याजदर दिने तथा लिने गरेपछि त्यसलाई व्यवस्थीत गर्नका लागि सरकारले नै गत साउन देखि सन्दर्भ ब्याजदर १४.७५ तोकेको छ । तरपनि यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन् । गाँउगाँउको आर्थिक स्तर सुधारका लागि सहकारीको विकास गरिएको भएपनि साहँुले भन्दा चर्को ब्याजदर तोकेपछि सहकारीलाई सरकारले नै ब्याजदरमा कस्ने नीति लिएको हो ।

ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने तथा वित्तीय सहजकर्ताको काम गर्नका लागि परिकल्पना गरिएका सहकारीले अहिले कमाउने धन्दामा निष्कदा सहर केन्द्रीत नै देखिन्छन् । अहिले पनि प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै सहकारी बाग्मती प्रदेशमा रहेका छन् ।

सहकारी विभागले एक अध्ययन अनुसार पनि देशभरी कुल २९ हजार ८ सय ८६ सहकारी रहेका छन् । कुल सहकारी संख्या मध्ये संघीय सरकार अन्तर्गत १२५ बटा सहकारी संघ संस्था रहेका छन । प्रदेश सरकार अन्तर्गत ६००२ सहकारी संघ संस्था छन् । त्यसैगरी स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ सहकारी संघ संस्था रहेका छन । सहकारी संघ संस्थामा आवद्ध कुल सदस्य संख्या ७३ लाख ७ हजार ४ सय ६२ रहेको छ ।

देशभरका सम्पुर्ण सहकारी संघ संस्थामा कुल शेयर पुँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८ सय ३ रहेको छ । त्यसैगरी सम्पूर्ण सहकारी संघ संस्थाको बचत संकलन रकम ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४७३ रुपैयाँ रहेको छ । अध्ययन अनुसार सहकारीहरुले ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३८१ रुपैयाँ रहेको पाइएको छ । देशभरी क्रियाशील २९ हजार ८ सय ८६ सहकारीहरुले ८८ हजार ३०९ जनालाई प्रत्यक्ष रोजगारी दिएको विभागले जनाएको छ ।

कुल जनसंख्याको २८ प्रतिशत सहकारीमा आवद्ध रहेको सो अध्ययनले देखाएको छ । कुल सदस्य संख्यामध्ये महिला सदस्यको संख्या ४० लाख ९२ हजार ३९५ र पुरुष सदस्याको संख्या ३२ लाख १५ हजार ६८ रहेको पाईएको छ । जसमा कुल सहकारी सदस्यहरुमा महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्यता ४४ प्रतिशत देखिएको छ । पुरुष सदस्यको संख्याको तुलनामा महिला सदस्य संख्या १२ प्रतिशतले धेरै हो ।

सहकारी विभागले गरेको अध्ययन अनुसार सबैभन्दा बढी सहकारी संघसंस्था भएको प्रदेश बाग्मती रहेको पाइएको छ । जस अनुसार यस प्रदेशमा १० हजार ४ सय १८ सहकारीहरु क्रियाशील छन् । त्यसैगरी सबैभन्दा कम सहकारी संस्था रहेको प्रदेश कार्णली रहेको छ । यो प्रदेशमा एक हजार ९ सय ६७ सहकारी मात्र क्रियाशील छन् ।

देशभरी सञ्चालनमा रहेका सहकारीहरु मध्ये ३५ प्रतिशत बाग्मती प्रदेशमा क्रियाशील छन । त्यसैगरी ७ प्रतिशत सहकारीहरु कर्णली प्रदेशमा छन् । सबैभन्दा बढी सहकारी सदस्य संख्या २७ लाख १७ हजार ४६९ रहेको प्रदेश बाग्मती रहेको छ । त्यसैगरी सबैभन्दा कम सहकारी सदस्यहरु रहेको प्रदेश कर्णालीमा रहेको छ ।

सहकारी संस्थामा सबैभन्दा बढी कुल शेयर पूँजी भएको प्रदेश बाग्मती रहेको छ । अध्ययन अनुसार ५१ अर्ब शेयर पूँजी बाग्मती प्रदेशमा रहेको छ । सबैभन्दा थोरै शेयर पूँजी कर्णाली प्रेदशमा रहेको छ । कर्णाली प्रेदेशमा एक अर्ब रुपैयाँ शेयर पूँजी रहेको छ । दोस्रो ठुलो शेयर पूँजी परिचालन गर्ने प्रदेशका रुपमा गण्डकी रहेको छ । गण्डकी प्रदेशमा करिब २२ अर्ब रुपैयाँ शेयर पूँजी रहेको छ ।

कुल बचत संकलनको हिसाबले बाग्मती प्रदेश अग्रपक्तिमा आँउछ । जहाँ उक्त प्रदेशभित्र रहेका सम्पूर्ण सहकारीहरुको करीब २ खर्ब बचत परिचालन गरेको पाइएको छ । सबैभन्दा कम बचत संकलन गर्ने प्रदेशमा कर्णाली रहेको छ । कर्णालीका सहकारीको कुल बचत परिचालन ८ अर्ब रुपैयाँ मात्र रहेको छ ।

कुल ऋण लगानीको हिसाबले सबैभन्दा बढी ऋण प्रबाह गर्ने सहकारीहरुमा बाग्मती प्रदेशका रहेका छन्। बाग्मती प्रदेशका सहकारीहरुले एक खर्ब ९९ अर्ब ८६ करोड ऋण प्रबाह गरेका छन् । सबैभन्दा कम ऋण लगानी गर्ने सहकारीहरुमा कर्णाली प्रदेशका रहेको छन् । कर्णाली प्रदेशका सहकारीहरुले ७ अर्ब ९२ करोड ५२ लाख रुपौयँ ऋण लगानी गरेका छन् ।

प्रत्यक्ष रोजगारीमा सबैभन्दा बढी रोजगारी बाग्मती प्रदेशका सहकारीले प्रदान गरेका छन् । यो प्रदेशका सहकारीले कुल ३३ हजार ८ सय ९२ जनालाई रोजगार दिएका छन् । त्यसैगरी सहकारी मार्फत रोजगार प्रदान गर्नेमा दोस्रो ठुलो प्रदेशका रुपमा प्रदेश १ रहेको छ । जहाँ २० हजार ६ सय ८५ जनाले रोजगारी पाएका छन । प्रदेश २ मा सहकारीले १० हजार ८४३ जनालाई रोजगार दिएको छ भने सुदरपश्चिम प्रदेशमा केवल २ जहार ८ सय १५ जनाले सहकारीमा रोजगार पाएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।