चालु आवको ६ महिनामा १८ प्रतिशतले बढ्यो निर्जीवन बीमा व्यवसाय

0
Shares

चालु आर्थिक वर्षको ६ महिना निर्जीवन बीमा व्यवसाय १८ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका २० मध्ये १८ कम्पनीहरुले पुस मसान्तसम्ममा ६ अर्ब ८४ करोड १४ लाख ३ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

गत आवको यसै अवधिमा यी १८ कम्पनीले ५ अर्ब ७९ करोड ५२ लाख ३० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा कम्पनीहरुको व्यवसायमा १८.०५ प्रतिशतको वृद्धि आएको हो ।

  • प्रभु इन्स्योरेन्स र युनाइटेडको व्यवसाय वृद्धिदर धेरै

चालु आवको ६ महिनामा १८ कम्पनीहरुले विस्तार गरेको व्यवसायलाई तिनै कम्पनीहरुले गत आव २०७६/७७ को यसै अवधिमा विस्तार गरेको व्यवसायसँग तुलना गर्दा प्रभु इन्स्योरेन्स र युनाइटेडको व्यवसाय वृद्धिदर उच्च देखिएको हो ।  समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सको ८०.६९ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको ४९.३५ प्रतिशतले व्यवसाय बढाएका हुन् ।

प्रुडेन्सियल, नेको, एनएलजी, अजोड, नेपाल इन्स्योरेन्स, सानिमा जनरल र सगरमाथा इन्स्योरेन्स गरी ७ निर्जीवन बीमा कम्पनीको व्यवसाय २० प्रतिशतभन्दा धेरै ३८ प्रतिशतभन्दा कमले बढेको छ । २० प्रतिशतभन्दा धेरैले व्यवसाय वृद्धि गरेका यी कम्पनीको प्रगतिलाई राम्रै मान्न सकिन्छ ।

यस अवधिमा आईएमई जनरल, लुम्बिनी जनरल, सिद्धार्थको व्यवसाय १० प्रतिशतले बढ्दा शिखर इन्स्योरेन्सको समान्य मात्र वृद्धि भएको छ ।

  • पाँच कम्पनीको घट्यो

यस अवधिमा पाँच निर्जीवन बीमा कम्पनीको व्यवसायमा संकुचन आएको छ । एभरेष्ट इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, जनरल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको व्यवसाय गत पुसको भन्दा घटेको हो ।

यस अवधिमा एभरेष्टको सबैभन्दा धेरै १५.६७ प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनीको ११ तथा जनरल इन्स्योरेन्सको पनि करिब १० प्रतिशतले घटेको छ । प्रिमियर इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको भने सामान्य घटेको छ ।

  • नेको इन्स्योरेन्सले पहिरियो ताज, शिखर दोस्रो

चालु आवको ६ महिनाको व्यवसायलाई नियाल्दा नेको इन्स्योरेन्सले सबैभन्दा धेरै खुद बीमशुल्क आर्जन गर्दै ताज पहिरिएको छ । गत आवको यसै अवधिमा ७० करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस कम्पनीले ३३ प्रतिशतले व्यवसाय बढाउँदै ९४ करोड ४३ लाख रुपैयाँ पुर्याएको हो ।

यसअघि सबै निर्जीवन बीमा कम्पनीहरुभन्दा धेरै व्यवसाय वृद्धि गर्दै आएको शिखर इनस्योरेन्स हाल दोस्रो स्थानमा खुम्चिएको छ । शिखरको व्यवसाय वृद्धिदर २.६१ प्रतिशतमा खुम्चिएपछि कम्पनीलाई खुद बीमाशुल्क संकलन रकमको आधारमा नेकोले पछाडि पारेको हो । गत आवको यसै अवधिमा ७२ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको नेकोले चालु आवको पुससम्ममा ७४ करोड ४५ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेको छ ।

पुस मसान्तसम्ममा सगरमाथा, एनएलजी, र सिद्धार्थले ५० करोड रुपैयाँ धेरै बीमाशुल्क संकलन गर्दा नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रिमियर इनस्योरेन्स, आइएमई जनरल, लुम्बिनी जनरल इन्स्योरेन्स, र प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड माथि बीमाशुल्क संकलन गरेका छन् । युनाइटेड र अजोड इन्स्योरेन्सले २० करोड माथि तथा एभरेष्ट, हिमालयन जनरल, राष्ट्रिय बीमा कम्पनी र जनरल इन्स्योरेन्सले १० करोड रुपैयाँ धेरै बीमाशुल्क संकलन गरेको छ ।

सानिमा जनरलको खुद बीमाशुल्क संकलन सबैभन्दा कम छ । पुस मसान्तसम्ममा कम्पनीले ८ करोड ५५ लाख १५ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा ६ करोड ९९ लाख ८३ हजार रुपैयाँ संकलन गरेको कम्पनीले २२.१९ प्रतिशतले खुद बीमाशुल्क वृद्धि गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।