डिजिटल भुक्तानी सेवाले ट्राफिक कार्यालयमा घट्यो भीड, यसरी तिर्न सकिन्छ अनलाइन जरिवाना

0
Shares

डिजिटल भुक्तानी सेवाले ट्राफिक प्रहरी कार्यालयमा हुँने भीडलाई घटाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २१ गतेबाट ट्राफिक जरिवाना डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएपछि कार्यालयमा जरीवाना तिर्न आउनेको भीड कम भएको हो ।

प्रतिदिन १३ सयको हाराहारीमा सवारी चालक कारबाहीमा पर्ने बताउँदै प्रहरी निरीक्षक सुरेश थापाले भने,“ कारबाहीमा परेका मध्ये ५ देखि ५ सय ५० जनाले अनलाइन मार्फत भुक्तनी गर्ने गरेका छन् । ”

ट्राफिकले चिट काटेपछि ट्राफिक प्रहरी कार्यालय, बैंक र पुन: फेरि ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने हुँदा एक दिन नै खर्चनुपर्ने अवस्था थियो । तर, बैंकमा विताउनु पर्ने समय अनलाइन मार्फत भूक्तानीको व्यवस्था सुरु भएपछि धेरै सहज भएको कारबाहीमा परेका एक चालकले बताए ।

महाशाखाका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार डिजिटल भुक्तानी सेवाको विस्तारपछि कार्यालयमा हुने भीड समेत घटेको छ । यसले बाटोको जामको सास्ती भोग्दै आउनुपर्ने बाध्यता कम भएको उनले बताए ।

कारबाहीमा परेका चालकहरुको उपस्थितिलाई देखाउँदै महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक अधिकारीले भने,“त्यहाँ त भीडाम-भीड हुन्थ्यो, हेर्नु त त्यति मान्छे छैनन् ।” आइतबार ३ बजेसम्म ४३४ जनाले डिजिट भुक्तानी मार्फत जरीवाना भुक्तानी गरेको उनले जानकारी दिए । दिनमा ५ सय देखि साढे ५ सय जना सम्मले डिजिटल भुक्तानी सेवा मार्फत जरीवाना तिर्ने उनको भनाई छ ।

कसरी तिर्ने अनलाइन मार्फत ट्राफिक जरिवाना ?

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्नेगरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम) सफ्टवेयर विकास गरेसँगै अनलाइन भुक्तानीको सेवा सुरू भएको हो ।

ट्राफिक जरिवाना अनलाइन भुक्तानीको लागि सेवाग्राहीले www.connectips.com मा लग इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी ड्यासबोर्डमा रहेको “सरकारी भुक्तानी” भित्र “नेपाल ट्राफिक पुलिस” छनोट गर्नुपर्ने हुन्छ ।

सवारी चालकले ट्राफिक प्रहरीले काटेको चिट नंबर उल्लेख गरेपछि ट्राफिक उलंघन गरेको कसुर र जरिवाना रकम देखाउनेछ । त्यसपछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बर र आर्थिक वर्ष दाखिला गरी सजिलै भुक्तानी गर्न सकिन्छ । यसरी गरिएको भुक्तानी महाशाखाको तोकिएको बैंकमा सिधै जम्मा हुन्छ भने ट्राफिकको सिस्टममा पनि उक्त भुक्तानीको विवरण जान्छ।

ट्राफिक जरिवानाको भुक्तानी अन्लाईनबाट भए लगतै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिवाना रकम जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने यस सेवालाई आगामी दिनमा एनसीएचएलमा आबद्ध बैंक वित्तिय संस्थाका मोबाईल र इन्टरनेट बैंकिङ्ग एवं अन्य आबद्ध पिएसपि वालेट मार्फत पनि भुक्तानी गर्न सकिने गरी विस्तार गरिने जनाइएको छ ।

अनलाइन भुक्तानी गर्दा जरिवाना बापतको राजस्व रकम सिधै सरकारी राजस्व खातामा जम्मा हुनेछ । जसले गर्दा जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने सवारी चालकले घरमै बसेर अनलाइन भुक्तानी गर्न सकिनेछ । जसले गर्दा यसअघि बैंकमा लाइन बस्नुपर्दा धेरै समय खर्चिनुपर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।

कनेक्ट आईपिएस ईपेमन्ट प्रणालीमा ५३ बैंक तथा वित्तिय संस्थाहरु सदस्यको रुपमा आबद्ध रहेका छन् । ट्राफिक जरिवाना इसेवाबाट पनि भुक्तानी गर्न सकिनेछ । इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेको कुनैपनि इसेवा जोन तथा पोइन्टमा गएर समेत जरिवाना रकम भुक्तानी गर्न सकिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।