९ जीवन बीमा कम्पनीका कार्यकारी प्रमुखले बुझे ५ करोड २२ लाख, कसको तलब कति ?

0
Shares

रोजगारी लागि तेस्रो स्तरमा रहेको बीमा क्षेत्रमा पनि आकर्षण बढ्न थालेको छ । सो क्षेत्रका कम्पनीले कर्मचारीलाई दिने सेवा सुविधा तथा भविष्यको सुनिश्चितताका कारण पनि बीमा क्षेत्र रोजगारीका लागि रोजिने क्षेत्रमा पर्न थालेको हो ।

बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव अझै पनि सहज हुन सकेको छैन । सीमित दक्ष जनशक्तिको योगदानले आजका दिनसम्म आइपुगेको बीमा क्षेत्रको सुरुवातको कुरा गर्दा बैंकिङसँगै भएको हो ।

अहिलेको समयमा सरकारी क्षेत्रको जागिर पछि रोजिने क्षेत्रको रुपमा बैंकिङ स्थापित भएको छ । तर, बीमा क्षेत्रको विकास र विस्तार हुन नसक्दा अझै पनि दक्ष कर्मचारी, व्यवसायमा नविनता तथा पहुँच विस्तारमा समेत समस्या झेल्दै आउनु परेको अवस्था छ ।

पछिल्लो समयमा थपिएका नयाँ बीमा कम्पनीले जनशक्ति पाउन नसके पछि बैंकिङ तथा पूँजी बजार क्षेत्रबाट तानेको अवस्था छ । जनशक्ति अभाव भए पनि यो क्षेत्रमा आएकालाई निराश हुनुपर्ने अवस्था भने नरहेको देखिन्छ । नेपालमा जागिर खाने भनेपछि पहिलो सरकारी, दोस्रो भनेको बैंकिङ क्षेत्र स्थापित छन् । तर, पछिल्लो समयमा तेस्रो स्थानमा रहेको बीमा क्षेत्रमा पनि उत्तिकै आकर्षण देखिन थालेको छ ।

अन्तर्राष्ट्रिय समुदायसम्म आफ्नो कार्य कौशल देखाउन सकिने यो क्षेत्रलाई पेशाको रुपमा अगाल्दै गर्दा पाउने सेवा सुविधा बैंक वित्तीय संस्थाको भन्दा कम नरहेको देखिन्छ ।

आर्थिक वर्ष २०७५/७६ को तथ्याङ्क अनुसार सबैभन्दा थोरै सेवा सुविधा लिने प्रमुख कार्यकारी अधिकृतले पनि वार्षिक ३४ लाख रुपैयाँ तबल तथा भत्ता बुझेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ९ बीमा कम्पनीको आर्थिक वर्ष २०७५/७६ को साधारण सभा सम्पन्न भएको छ । जीवन बीमा कम्पनीहरुको एक्चुअरी भ्यालुएसनमा ढिलाइ हुने कारणले अघिल्लो आर्थिक वर्ष २०७५/७६ कै साधारण सभा सम्पन्न गर्न सकेका छैनन् ।

बीमा समितिका अनुसार यो क्षेत्रले साढे १० हजार भन्दा धेरैलाई त प्रत्यक्ष रुपमा नै रोजागारी दिएको छ । जीवन बीमा कम्पनीमा ५ हजार ७०६ जना र निर्जीवन बीमा कम्पनीमा ४ हजार ८६५ जना गरी कुल १० हजार ५७१ जनाले प्रत्यक्ष रोजगारी पाएको समितिको तथ्याङ्क छ ।

नेपाली बीमा बजारमा १९ वटा जीवन बीमा कम्पनी,  २० निर्जीवन बीमा कम्पनी र एक पुनर्बीमा इन्स्योरेन्स कम्पनी गरी कुल ४० कम्पनी सन्चालनमा छन् । तर सञ्चालनमा रहेका १ जीवन बीमा कम्पनी र २ निर्जीवन बीमा कम्पनी भने प्रमुख कार्यकारी अधिकृत विहीन छन् । जीवन बीमा कम्पनीमा सूर्या लाइफ र २ निर्जीवन बीमा कम्पनीहरु जनरल इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका छैनन् ।

आर्थिक वर्ष २०७५/७६ को साधारण सभा सम्पन्न गरेका ९ बीमा कम्पनीका व्यवस्थापकिय प्रमुखले तलब तथा भत्ता बापात सो वर्षमा ५ करोड २२ लाख भन्दा बढी रकम बुझेका छन । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विवेक झाले सबैभन्दा धेरै एक करोड ८५ लाख रुपैयाँ बढी तलब तथा भत्ता बुझेका छन् ।

  • नेपाल लाइफका पुर्व कार्यकारी प्रमुख विवेक झा

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ मा प्रमुख कार्यकारी अधिकृत विवेक झालाई १ करोड ८५ लाख ३२ हजार रुपैयाँ तबल तथा भत्ता शिर्षकमा भुक्तानी दिएको छ ।

झाले निश्चित वार्षिक तलब तथा भत्ताहरु, कार्यसम्पादनमा आधारित पारिश्रमिक तथा प्रोत्साहन सुविधा (इन्सेन्टिभ) गरी सो रकम बुझेका हुन् । उनी केही समय अघिमा आफ्नो कार्यकाल पूरा गरी कम्पनीबाट बाहिरीएका छन् । हाल नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई छन् ।

  • नेशनल लाइफका पूर्व कार्यकारी प्रमूख भरत बहादुर बस्नेत

नेशनल लाइफले कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेतलाई अघिल्लो आथिर्क वर्षमा तलब तथा भत्ता बापत ८४ लाख ७३ हजार १६७ रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीले कुल तलब भत्ता ७८ लाख ६५ हजार र कर्मचारी बोनस (ऐन अनुसार) ६ लाख ८ हजार १६७ गरी सो रकम भुक्तानी गरेको हो । उनी पनि नेशनल लाइफको कार्यकारी प्रमुख जिम्मेबारीबाट बाहिरी सकेका छन् । हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्री छन् ।

  • प्राइम लाइफका मनोज कुमार भट्टराई

प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ मा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईलाई तलब भत्ता बापत ७५ लाख ९ हजार ६०३ रुपैयाँ भुक्तानी गरेको छ ।

  • सूर्या लाइफका पूर्व कार्यकारी प्रमुख शिवनाथ पाण्डे

सूर्या लाइफ इन्स्योरेन्सका पूर्व कार्यकारी प्रमुख शिवनाथ पाण्डेले आर्थिक वर्ष २०७५/०७६ मा तलब भत्ता बापत ६१ लाख ९७ हजार ६३६ रुपैयाँ बुझेका छन् ।

उनलाई कम्पनीले कुल तलब तथा भत्ता, कार्य सम्पादनमा आधारित भत्ता, कर्मचारी बोनस (बोनस ऐन बमोजिम) गरी सो रकम भुक्तानी गरेको हो ।

यस्तो छ ९ बीमा कम्पनीका सीईओको तलब भत्ता विवरण:-

यसैगरी सिटिजन्स लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले ७१ लाख ९३ हजार ६१० रुपैयाँ, रिलायन्स लाइफका सीईओ प्रविण रमण पराजुलीले ६६ लाख ८१६ रुपैयाँ, ज्योति लाइफ इन्स्योरेन्सका सीईओले ५७ लाख ९६ हजार २२२ रुपैयाँ, प्रभु लाइफ इन्स्योरेन्सका सीईओ नारायण प्रसाद पौडेलले ४१ लाख ८७ हजार ८८६ रुपैयाँ, र महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराइले ३४ लाख ४३ हजार ५०१ रुपैयाँ, वार्षिक तलब तथा भत्ताहरु, कार्यसम्पादनमा आधारित पारिश्रमिक तथा प्रोत्साहन सुविधा (इन्सेन्टिभ) गरी सो रकम बुझेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।