राजनीतिक अन्योलताले शेयर लगानीकर्ताको मनोबल कमजोर बन्दै, ५ दिनमा एक खर्ब बढी गुमाए

0
Shares

आर्थिक गतिविधि ठप्प भएपछि निरन्तर नयाँ उचाई बनाउने दौडमा रहेको धितोपत्र बजार पछिल्ला दिनमा नकारात्मक देखिएको छ । राजनीतिक बातावरण अस्थिरतातर्फ उन्मूख भएपछि शेयर बजारले घट्दो क्रम समाएकोे हो ।

यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा ५ दिन कारोबार भएको छ । यो अवधिमा नेप्से सूचक ८२.५५ अंकले घटेको छ । नेप्से सूचकमा आएको उच्च गिरावटपछि लगानीकर्ताले आफ्नो सम्पत्तिमा एक खर्ब १४ अर्ब रुपैयाँ गुमाएका छन् ।

प्रधामन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि अस्थिरता बढेको राजनीतिक बातावरण बुधबार सर्वोच्च अदालतले पुनस्थापना गरेसंगै झनै जटील मोडमा देखिएको छ । शेयर बजारलाई राजनीतिक घट्नाक्रमले पनि उत्तिकै प्रभावित पार्ने गर्छ । लगानीमैत्री बातवरण बन्ने/नबन्ने, धितोपत्र बजारको सन्दर्भमा अर्थमन्त्रीको बुझाई कस्तो रहने भन्ने विषयले पनि लगानीकर्ताको मनोबलमा महत्वपुर्ण भुमिका खेल्छ । संसद पुनस्थापना भएपनि अब कस्तो राजनीतिक समिकरणमा कसरी सरकार बन्छ भन्ने अन्योलताले शेयर बजार झनै प्रभावित हुन सक्ने भन्दै लगानीकर्ताले जोखिम लिन नचाहेको देखिन्छ ।

त्यसैगरी बैंकिङ प्रणालीको ब्याजदर र शेयर बजारको सम्बन्ध सधै उल्टो रहने गर्छ । वित्तीय क्षेत्रको ब्याजदर बढेको खण्डमा शेयर बजार घट्ने र ब्याजदर घटेको समयमा शेयर बजार बढ्ने अवस्था रहन्छ । पछिल्लो समयमा वित्तीय क्षेत्रमा रहँदै आएको अधिक तरलता संकुचन तर्फ देखिएको छ । वित्तीय क्षेत्रमा तरलता संकुचन तर्फ गएपछि ब्याजदर बढ्ने भएकाले शेयर बजार घट्दो क्रममा देखिएको हो । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउने तथा कर्जा दिने क्षेत्र पनि छनोट गरेर दिने गरेकाले पनि शेयर बजारलाई प्रभावित पारेको देखिन्छ । बुधबारसम्ममा वित्तीय प्रणालीमा ६२ अर्ब रुपौयाँ अधिक तरलता रहेको छ ।

त्यसका साथै कोरोनाको प्रभाव कम भएसंगै आर्थिक गतिविधिमा पनि सुधार आएको छ । आर्थिक गतिविधि बढ्न थालेपछि शेयर बजारमा लगानी गरेका लगानीकर्ताले नाफा बुुक गरेर बाहिरन थालेको हुनाले पनि बजारमा बिक्री चाप परेको हो । यो अवधिमा बजार सूचक न्यून अंकले बढेको छ भने उच्च अंकले घटेको छ । यसले गर्दा पनि शेयर बजारवाट पैसा बाहिरीन थालेको देखिन्छ । पछिल्ला दिनहरुमा नाफा बुक गर्ने तथा कोरोना अघिको आफ्नो पेसा व्यवसायमा फर्कने क्रम बढेकाले पनि शेयरको बिक्री चाप बढेको हो । यो अवधिमा लगानी गर्ने लगानीकर्ता भने होसियार हुनुपर्ने देखिन्छ ।

गत साताको अन्तिम दिन बिहीबार ३६ खर्ब ३३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण पनि एक खर्ब १४ अर्ब रुपैयाँले घटेको छ । नेप्सेमा कारोबार हुने यो साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारको कुल बजार पूँजीकरण ३५ अर्ब १९ अर्बमा झरेको छ । बजार पूँजीकरण घट्नु भनेको सूचीकृत शेयर मूल्यमा गिरावट आई लगानीकर्ताको सम्पत्ति घट्नु हो ।

बैंक वित्तीय संस्थामा मुद्दति तथा निक्षेपमा राखेको पैसा समेत शेयर बजारमा लगानी गरेका लगानीकर्ता ब्याजदर बढ्ने र राजनीतिक अन्यालताले शेयर बजारलाई असर गर्ने अनुमान गर्दै लगानी झिक्न थालेकाले बिहीबार मात्र नेप्से सूचक ४४.९४ अंकले घटेको छ । बिहीबार कारोबार सुरु हुँदा २५९८.६२ अंकमा रहेको नेप्से घटेर २५५४.१३ अंकमा झरेको छ ।

नेप्से सूचक संगै कारोबार रकममा पनि उच्च गिरावट आएको छ । नेप्सेमा करिब १० अर्ब रुपैयाँसम्म दैनिक कारोबार भइरहेको अवस्था थियो । तर, बिहीबार कारोबार रकम घटेर ६ अर्ब ९ करोड ८१ लाख रुपैयाँमा सिमति भएको छ । नेप्से सूचक संगै कारोबार रकममा पनि गिरावट आउनु भनेको शेयरका बिक्री चाप धेरै छ भन्ने बुझिन्छ ।

बिहीबार नेप्सेमा कारोबार भएका अधिकासं कम्पनीको शेयर मुल्य घटेको छ । कारोबार भएका मध्ये १५९ कम्पनीको शेयर मूल्य घटेपनि समग्र बजार सुचक उच्च अंकले घटेको हो । बिहीबार नेप्सेमा कारोबार भएका सबै समूहगत सूचक पनि घटेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १३ फागुन २०७७, बिहीबार  १६ : ४७ बजे