चार अर्बको आईपीओ निष्काशन गर्न दश कम्पनी बोर्डको अनुमति पखाईमा

0
Shares

सर्वसाधारणमा शेयर जारी गर्न दश कम्पनीले ४ अर्ब २३ करोड ७० लाख ४४ हजार ५०० रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

यसरी आईपीओ जारी गर्न निवेदन दिने कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी तथा जलविद्युत प्रवद्र्धन गर्ने कम्पनीहरु रहेका छन् । एक मात्र अन्य सेक्टरको कम्पनी रहेको छ ।

बोर्डका अनुसार साहस उर्जा लिमिटेड, स्मालिङ्ग पावर कम्पनी लिमिटेड, बुद्धभुमी नेपाल हाइड्रो लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड, बिन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, डिस मिडिया नेटवर्क, मैलुङ्ग खोला जलविद्युत कम्पनी, मध्यभोटेकोशी जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर लिमिटेड र सीईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ अनुमति माग गरेका हुन् ।

बोर्डमा आईपीओ जारी गर्न अनुमति माग गरेका कम्पनीमध्ये सीईडिबी हाइड्रोपावरले सबैभन्दा अगाडि २०७४ असार २७ गते निवेदन पेश गरेको थियो भने सबैभन्दा पछाडि बुद्धभुमी नेपाल हाइड्रो लिमिटेडले माघ ८ गते बोर्डसँग अनुमति मागेको हो ।

आईपीओ जारी गर्न आवेदन दिएकोमध्ये मध्यभोटेकोशी जलविद्युत कम्पनीले सबैभन्दा धेरै १ करोड ५० लाख कित्ता शेयर जारी गर्न माग गरेको छ भने सबैभन्दा कम मैलुङ्ग खोलाले ७ लाख ३६ हजार २८६ कित्ता शेयर जारी गर्न अनुमति मागेको छ ।

दश कम्पनीमध्ये तीन कम्पनीको आवेदन बोर्डको प्रारम्भिक समीक्षा गर्न नै बाँकी रहेको छ भने तीन कम्पनीको आवेदनमाति बोर्डले प्रारम्भिक समीक्षा गरेर प्रतिक्रिया (टिप्पणी) पठाएको छ । यसैगरी थप चार कम्पनीको निवेदन उपर छलफल गरी सम्बन्धीत कम्पनीलाई जवाफ पठाएर त्यसको समीक्षा गर्न बाँकी रहेको अवस्था रहेको छ ।

आईपीओ जारी गर्नका लागि सम्बन्धीत कम्पनीले साधारण सभा मार्फत आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गराएको हुनुपर्छ । त्यसपश्चात साधारण सभाको आईपीओ जारी गर्ने निर्णय सहित आईपीओ जारी गर्नुको औचित्य उदेश्य, तथा लेखापरीक्षण प्रतिवेदन सहित आवश्यक सबै कागजातहरु सहित नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिनुपर्छ ।

यसरी परेको निवेदन उपर बोर्डले अध्ययन अनुसन्धान गरी सबै कागजात पुगेको खण्डमा साधारण शेयर जारी गर्न अनुमति दिने गरेको छ । सबै कागजात पुर्याउने कम्पनीलाई बोर्डले दुई महिनाभित्रै पनि स्वीकति दिनसक्छ । पछिल्लो समय हाइड्रोपावर कम्पनीको हकमा भने विद्युत नियमन आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

तर बोर्डमा लामो समयसम्म पनि कतिपय कम्पनीहरुले आवश्यक कागजात समयमा नै पेश नगर्दा आईपीओ स्वीकृति प्रदान गर्न ढिलाई हुनेगरेको बोर्ड बताउँछ । लामो सयमसम्म बोर्डमा हकप्रद जारी गर्न अनुमति माग गर्ने तर कागजात पेश नगर्ने कम्पनीहरुको हकप्रद बोर्डले केही दिनअघि मात्रै सूचीबाट हटाएको थियो । यससँगै त्यस्ता कम्पनीले आवश्यक कागजात सहित पुनः बोर्डमा निवेदन दिनुपर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १६ फागुन २०७७, आइतबार  १३ : ४२ बजे