सात जीवन बीमा कम्पनी स्वदेशी पुनर्बीमाको भरमा

0
Shares

नेपालमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ७ जीवन बीमा कम्पनीले सम्पूर्ण व्यवसायको पुनर्बीमा नेपाल रि-इन्स्योरेन्स कम्पनीमा नै गर्ने गरेका छन । विदेशी पूनर्बीमा कम्पनीमा पूनर्बीमा गर्दा प्रक्रियागत झन्झट तथा प्रिमियम महङ्गो हुने भएपछि स्वदेशी कम्पनीमै शतप्रतिशत पूनर्बीमा गर्ने गरेका हुन् ।

सञ्चालनमा रहेका ७ जीवन बीमा कम्पनीहरु राष्ट्रिय बीमा संस्थान, एलआईसी नेपाल, आइएमई लाइफ, रिलायन्स लाइफ, गुँरास लाइफ, सूर्या लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले नेपाल पूनर्बीमा कम्पनी मार्फत शतप्रतिशत पूनर्बीमा गरेका हुन् । सञ्चालनमा रहेका जीवन तथा निर्जीवन सबै कम्पनीहरुको हकमा कुल व्यवसायको २० प्रतिशत पूनर्बीमा अनिवार्य रुपमा नेपाल पुनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था छ ।

दाबी भुक्तानीका लागि पनि लामो समय लाग्ने हुँदा सहजताका लागि आफुहरुले नेपाल पूनर्बीमा कम्पनीलाई नै रोजेको बीमा कम्पनीहरुको तर्क छ । राष्ट्रिय स्तरको कम्पनी भएका कारणले प्रवद्र्धन गर्ने मनसायले पनि शतप्रतिशत व्यवसाय दिएको कम्पनीहरुले बताएका छन् । अन्तर्राष्ट्रिय लगानी रहेका बीमा कम्पनी रोजाइमा समेत नेपाल रि-इन्स्योरेन्स परेको छ ।

भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५५ प्रतिशत स्वामित्व रहेको एलआइसी नेपालले भारतमै पुनर्बीमा नगरी नेपालकै पूनर्बीमा कम्पनीमा शतप्रतिशत पूनर्बीमा गरेको छ । नेपाल पुनर्बीमा कम्पनीलाई प्रवद्र्धन गर्न विदेशी पूनर्बीमा कम्पनीमा पूनर्बीमा नगरी नेपाल मै गरेको कम्पनीका सूचना अधिकारी विनोद कुमार भुजेलले बताए ।

हान ओेभर रि मलेसियामा आफ्नो व्यवसायको शतप्रतिशत पूनर्बीमा गर्दै आएको एलआइसी नेपालले २०७५ भदौ १७ गते आफ्नो सम्पूर्ण व्यवसायको शतप्रतिशत पूनर्बीमा नेपाल पुनर्बीमा कम्पनीसँग गर्ने सम्झौता गरेको हो । नेपालमै पूनर्बीमा कम्पनी स्थापना भईसकेपछि एलआइसी नेपालको संस्थापक समितिले आफ्नै देशमा किन पुनर्बीमा नगर्ने भन्ने निर्णय गरेपछि शतप्रतिशत पूनर्बीमा नेपालमा नै गरिएको उनले बताए ।

काम गर्दै जाँदा सजिलो महसुश भएको उनले बताए । पुराना बीमालेखहरुको जोखिम भने अझै पनि हान ओभर रि मलेसिया कम्पनीले नै बेहार्ने उनको भनाई छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले पनि नेपाल पुनर्बीमा कम्पनीसँग शतप्रतिशत पूनर्बीमा गरेको छ ।

संस्थानले सन् २०१८ पछिको सम्पूर्ण व्यवसायको शतप्रतिशत पुनर्बीमा नेपाल पूनर्बीमा कम्पनीमा गरेको हो । सन् २०१५ मा जारी भएका नयाँ पोलिसीको समेत शतप्रतिशत पूनर्बीमा नेपालमा नै गरिएको संस्थानका प्रशासक कवि पाठकले जानकारी दिए ।

उनका अनुसार सन् २०१८ साल भन्दा अघिको व्यवसायको पूनर्बीमा भने भारतीय पूनर्बीमा कम्पनी जिआईसी पुनर्बीमा कम्पनीमा गरिएको छ । सन् २०१७ सम्म जारी भएका बीमालेख परिपक्क नभएसम्म उक्त बीमालेखको जोखिम सोही कम्पनीले व्यहोर्ने छ ।

विदेशी पूनर्बीमा कम्पनीको भन्दा प्रिमियम सस्तो भएका कारण नेपाल कै कम्पनीमा नै शतप्रतिशत पुनर्बीमा गरेको उनले बताए । “बाहिरको भन्दा प्रिमियम सस्तो छ । सरकारी संस्थान भईसकेपछि किन विदेशी कम्पनीतर्फ जानु भनेर नेपाल मै भएको पूनर्बीमा कम्पनीलाई रोजेका हौँ,” उनले भने ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले कम्पनीमा ७ जीवन बीमा कम्पनीले आफ्नो व्यवसायको शतप्रतिशत पूनर्बीमा गरेको नोटबजारलाई बताए । “आफ्नो व्यवसायको शतप्रतिशत पूनर्बीमा गर्ने जीवन बीमा कम्पनीको संख्या ७ पुगेको छ,” उनले भने,“अन्य कम्पनीहरु पनि आउने क्रममा देखिन्छन ।” आगामी दिनहरुमा पनि नेपाल रिइन्स्योरेन्समा भर पर्ने कम्पनीको संख्या बढ्दो क्रममा रहेको उनको भनाइ छ । पूनर्बीमा व्यवसाय मार्फत धेरै रकम बाहिरिएको भन्दै सरकार तथा सञ्चालनमा रहेका बीमा कम्पनीहरुको लगानीमा नेपाल पूनर्बीमा कम्पनी स्थापना भएको थियो ।

कुनै एक बीमा कम्पनीमा गरिएको बीमालाई फेरि अर्को बीमा कम्पनीमा बीमा गरिने वा बीमाको पनि बीमा गरिने प्रक्रियालाई पुनर्बीमा भनिन्छ । पुनर्बीमा गरिँदा बीमा गरिएको कम्पनीले लिएको शुल्कको केही हिस्सा पुनर्बीमा कम्पनीलाई बुझाएर पुनः बीमा गरि जोखिम हस्तान्तरण गरिन्छ । बीमा कम्पनीले बीमा गरिएको सम्पत्ति वा जीवनको केही हिस्सा जोखिम आफूले राखेर बाँकी सबै जोखिम पुनर्बीमा कम्पनीमा सार्ने गर्दछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।