पुनर्बीमा बजारको अध्ययन पछि मात्रै नयाँ कम्पनीलाई लाइसेन्स

0
Shares

बीमा समितिद्धारा गठीत नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन टोलीले फागुन १९ गते बुधबारदेखी अध्ययन कार्य शुरु गर्ने भएको छ । 

समितिले गत शुक्रबार समितिका सल्लाहकार एवं बीमा विज्ञ भोजराज शर्माको अध्यक्षतामा नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यताका बारेमा अध्ययन गर्नका लागि अध्ययन टोली गठन गरेको थियो । उक्त अध्ययन टोलीको मंगलबार पहिलो बैठक बसेको हो ।

अध्ययन टोलीका अध्यक्ष भोजराज शर्माले बुधबारदेखी आफ्नो अध्ययन टोलीले काम अघि बढाउने बताए । “अध्ययन टोलीका सदस्यको मंगलबार भेटघाट भयो, सबैको समय मिलेपछि बुधबारदेखि नै काम शुरु गर्ने छौँ ।” उनले भने ।

“अन्तर्राष्ट्रिय स्तरमा पुनर्बीमाको बजार के छ, नेपालको बजारमा थप पुनर्बीमा आउँदा कस्तो हुन्छ, अहिलेको पुनर्बीमाले के-के गर्दै छ लगायतका विषयमा अध्ययन गरिन्छ” उनले भने । अध्ययन गरेर अन्तिममा जे निष्कर्ष आउँछ त्यहि प्रतिवेदन पेश गरिने र प्रतिवेदनका आधारमा समितिले ठोस् निर्णय गर्ने उनको भनाई छ ।

उनका अनुसार समितिले अध्ययन टोलीलाई अध्ययन गर्नका लागि १५ दिनको समय दिएको छ । “समितिले हामीलाई १५ दिनको समय दिएको छ, १५ दिनसम्म अध्ययन कार्य सकिएन भने फेरि समय थप गर्न माग गर्छौ” उनले भने ।

वर्तमान बजारको स्थिति, भोलिको सम्भावना, सञ्चालनमा रहेको पुनर्बीमा कम्पनीले गरेको कामको विवरण लगायतका विषयलाई अध्ययन गरि प्रतिवेदन तयार पारिने उनको भनाई छ । अध्ययन टोलीले राष्ट्रिय बजारलाई मात्रै नहेरी अन्तर्राष्ट्रिय बजारमा समेत पुनर्बीमाको अभ्यास कस्तो रहेको छ भन्ने अध्ययन गर्नेछ ।

उक्त अध्ययन टोलीमा बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे, चार्टर्ड एकाउटेण्ट सुजन आचार्य रहेका छन् ।

अन्नपूर्ण  रि-इन्स्योरेन्स, प्रुडेन्सियल रि-इन्स्योरेन्स, काठमाण्डौं रि-इन्स्योरेन्स नामक नयाँ रि-इन्स्योरेन्स आउने तयारी चलिरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।