बैंक तथा वित्तीय संस्थासंग अधिक तरलता भएका कारण ब्याजदरमा आएको गिरावटको फाईदा सरकारले लिईरहेको छ । बैंकहरुले पनि कोरोनाका कारण कर्जा लगानी गर्न नपाएको अवस्थामा सरकारी वण्ड तथा ऋणपत्रमा खुलेर लगानी गरेका हुन् ।
बैंक वित्तीय संस्थालाई सरकारी ऋणपत्र लगानी गर्नका लागि भनेर नीतिगत दरहरु पनि तोकिएको छ । तर, बैंक तथा वित्तीय संस्थाले ब्याजदर न्यून र अधिक तरलताले गर्दा लगानी बढाएका छन् । कोरोनाका कारण सरकारले पनि स्वास्थ्य क्षेत्रमा धेरै रकम खर्चनु पर्ने र अन्य आर्थिक गतिविधि रोकिएकाले आन्तरिक ऋणमा बढी ध्यान दिएको देखिन्छ ।
फागुन महिनामा मात्र सरकारले विकास ऋणपत्र, नागरिक बचतपत्र र ट्रेजरी बिल जारी गरेको छ । केन्द्रीय बैंकको व्यवस्थापनमा निष्काशन हुने यी सरकारी ऋणपत्रमा लगानीकर्ताले पाउने ब्याजदर गत आर्थिक वर्षको तुलनामा धेरै न्यून रहेको छ । तर, पछिल्ला दिनहरुमा यो दर पनि केही मात्रामा बढेको देखिन्छ । बैंकहरुमा कर्जाको माग आउन थालेपछि वित्तीय प्रणालीमा अधिक तरलता संकुचन तर्फ गएपछि ब्याजदर केही बढ्दो गतिमा देखिएको हो ।
पछिल्लो समयमा सरकारले करिब ४ प्रतिशतको हाराहारीको कटअफ रेटमा विकास ऋणपत्र बिक्री गरेको छ । त्यसैगरी ९ प्रतिशत ब्याजदर दिने गरी नागरिक बचतपत्र निष्काशन गरेको छ भने एक प्रतिशत भन्दा तल रहेको ९१ दिने ट्रेजरी बिलको ब्याजदर सो भन्दा माथि आएको छ ।
फागुन महिनामा मात्र केन्द्रीय बैंकले ट्रेजरी बिल मार्फत १९ अर्ब ६२ करोड रुपैयाँ बराबरको तरलता वित्तीय प्रणाली बाट खिचेको छ । यो मध्ये ५ अर्ब रुपैयाँ बराबरको २८ दिने ट्रेजरी बिल रहेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन तथा सरकारलाई पैसा आवश्यक परेको अवस्थामा सरकारी ऋणपत्रहरु जारी गर्छ ।
केन्द्रिय बैंकले फागुन ११ गते निष्काशन गरेको ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर ०.८९२८ प्रतिशत रहेकोमा फागुन १८ गते निष्काशन गरेको सोही अवधिको ट्रेजरी बिलको औसत ब्याजदर बढेर १.३३४० रहेको छ । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा पुससम्ममा ५७ अर्ब मात्र संकलन गरेको छ । तर, सरकारले पुस महिना पछि उच्च दरमा आन्तरिक ऋण उठाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धबार्षिक समिक्षा मार्फत बजेटको आकार घटाई आन्तरिक स्रोत बाट १० अर्ब ७४ अर्ब रुपैयाँ व्यवस्थापन गर्ने भनेको छ ।
बैंक वित्तीय संस्थामा रहेको अधिक तरलताका कारण न्यून ब्याजदरको अवसरलाई सदुपयोग गर्र्दै सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सुरु भएपछि सरकारी ऋणपत्रको निष्काशन बढेको छ । तर, पछिल्लो समयमा वित्तीय क्षेत्रको अधिक तरलता संकुचन तर्फ गएपछि सरकारी ऋणपत्रको ब्याजदर पनि केही बढदो दरमा देखिएको छ ।
राष्ट्र बैंकले आइतबार १२ अर्ब २६ करोड रुपैयाँ बराबरको टे«जरी बिलको बोलकबोल गर्ने भएको छ । फागुन २५ गते निष्काशन हुने सो ट्रेजरी बिल पुरानैलाई नबिकरण गर्न लागेको हो । सो ट्रेजरी बिल ९१ दिनमा परिपक्क हुनेछ । यो ट्रेजरीको ब्याजदर यसभन्दा अघिल्लो भन्दा धेरै हुने देखिन्छ । वित्तीय प्रणालीमा भएको अधिक तरलता संकुचन उन्मूख भएको हुनाले ब्याजदर झनै बढ्ने देखिन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया