केन्द्रीय बैंकले १० मेगावाट भन्दा साना जलविद्युत आयोजनाहरुलाई पनि विशेष पुनरकर्जा उपलब्ध गराउने भएको छ । नेपाल राष्ट्र बैंकले आइतवार पुनरकर्जा कार्यविधि २०७७ को पहिलो संशोधन गर्दै दश मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई पनि विशेष पुनरकर्जा दिने व्यवस्था व्यवस्था थप गरेको हो ।
यस्तो विषेश पुनरकर्जा ग्राहकले ३ प्रतिशत ब्याजदरमा पाउनेछन् । साना जलविद्युत योजनाका लागि पुनकर्जा लिनु पर्दा उक्त आयोजना (ग्राहक) ले तोकिएको कागजातका साथै पुनरकर्जा आवश्यकता सम्बन्धमा बैंक वित्तीय संस्थाको सिफारिश समेत संलग्न गरी आवेदन दिनुपर्ने व्यवस्था थप गरिएको छ ।
यस्तो कर्जा माग गर्ने बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई एक प्रतिशत मात्र ब्याजदर दिनुपर्नेछ ।
कोरोना महामारीले प्रभावित उद्योग, पेशा तथा तथा व्यवसायहरूको पुनरुत्थानमा सहयोग र्पुयाउने उद्देश्यअनुरूप राष्ट्र बैंकले केही समयअघि यो कार्यविधि ल्याएको थियो । त्यसलाई केन्द्रीय बैंकले आइतबार पहिलो संसोधन गर्दै केही व्यवस्थाहरु थपेको हो ।
केन्द्रीय बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिनेगरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा भनिन्छ । बैंकले यसअघि निर्यात, महिला उद्यमी, फरम ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम।व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा मात्रै विशेष पुनर्कर्जा प्रवाह गर्ने व्यवस्था गरेको थियो ।
कोभिड–१९ ले प्रभावित पेशा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुको साथै कृषि र साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने उद्देश्यले पुनरसंरचना गरिएको पुनरकर्जाको नयाँ व्यवस्थाबाट २०७७ माघ मसान्तमा ८७ अर्ब ८७ करोड पुनरकर्जा स्वीकृति भएको केन्द्रीय बैंकले जनाएको छ ।
सरकारले पुनरकर्जा कोषलाई एक खर्बको बनाउने भनेपछि हाल कोषको आकार ६० अर्ब रुपैयाँ बरावरको रहेको छ । कोषको आकारको ५ गुणासम्म पुनरकर्जा दिन सकिने कार्यविधिमा उल्लेख छ ।
कार्यविधिको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस्
- पुनरकर्जाको सीमा गभर्नरले निर्धारण गर्ने
नेपाल राष्ट्र बैंकका गर्भनरले पुनरकर्जाको सीमा घटबढ गराउन सक्ने भएका छन् । केन्द्रीय बैंकले पुनरकर्जा कार्यविधिको संशोधन गर्दै गभर्नरलाई उक्त अधिकार दिएको हो ।
राष्ट्र बैंकका गर्भनरले एकमुष्ट प्रदान हुने, ग्राहक अनुसार प्रदान हुने तथा लघुवित्तलाई दिइने पुनरकर्जाको सीमा माग, आवश्यकता र औचित्यका आधारमा हेरफेर गर्न सक्ने व्यवस्था गरेको हो । यो व्यवस्थाले ऋणीको आवश्यकता र औचित्य पुष्टि भएको खण्डमा कर्जाको सीमा बढ्ने र पुष्टि नभएमा घटाउने अधिकार गर्भनरमा रहनेछ ।
राष्ट्र बैंकले कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसायलाई पुनरजीवन दिनका लागि कार्यविधि नै बनाएर पुनरकर्जा दिने व्यवस्था गरेको थियो । एक वर्षसम्मका लागि पाइने यो कर्जा लिदाँ ग्राहकले ३ देखि ५ प्रतिशत मात्र ब्याजदर तिर्नुपर्छ । यसमा पनि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट १ देखि ३ प्रतिशतसम्म ब्याज लिने गर्छ । यस्तो कर्जा कोरोना प्रभाव कम हुँदै जाँदा घटाउँदै लगिने कार्यविधिमा उल्लेख छ ।
कार्यविधि अनुसार पुनरकर्जा प्रवाह गर्ने बैंकले विशेष पुनरकर्जामा १ प्रतिशत र लघु, घरेलु तथा साना उद्यम पुरकर्जामा २ प्रतिशत र साधारण पुनरकर्जामा ३ प्रतिशत ब्याज राष्ट्र बैंकलाई बुझाउनुपर्नेछ । बैंकले ग्राहकहरुबाट विशेष पुनरकर्जामा ३ प्रतिशत तथा लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा र साधारण पुनरकर्जामा ५ प्रतिशत ब्याज लिन पाउनेछन् ।
बैंकबाट आह्वान गरी बैंक वित्तीय संस्थालाई एकमुष्ट हुने प्रतिग्राहक पुनरकर्जा अधिकतम सीमा ५ करोड हुनेछ । एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल कर्जा रकमको ७० प्रतिशत भन्दा बढी हुनेछैन ।
त्यसैगरी बैंकले ग्राहक अनुसार मूल्याङकन गरी उपलब्ध गराउने पुनरकर्जा प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँ सम्ममा हुनेछ ।
ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशत भन्दा बढी हुने छैन । बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गर्ने पुनरकर्जा रकम कुल पुरनकर्जा रकम कुल पुनरकर्जा रकको १० प्रतिशत भन्दा बढी हुने नहुने कार्यविधिमा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया