आर्थिक क्षेत्रले गति लिएसँगै कर्जा विस्तारमा बैंकहरु आक्रमक, निक्षेपको तुलनामा कर्जा प्रवाह दोब्बर

0
Shares

कोरोना कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैंकहरुमा कर्जाको माग बढेपछि बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिएका छन् । फागुन महिना लागेपछि बैंकहरुमा थपिएको निक्षेपको तुलनामा कर्जा प्रवाह झण्डै दोब्बर पुगेको छ ।

पछिल्लो ३ सातामा अर्थात फागुन लागेयता नै बैंकहरुले ७० अर्ब कर्जा प्रवाह गरेका छन् । जबकी यस अवधिमा ३६ अर्ब मात्र निक्षेप थपिएको छ । पछिल्ला दिनहरुमा आयातमा आएको वृद्धि र शेयर तथा घरजग्गाको कारोबारमा आएको उत्साहले बैंकहरुमा कर्जाको माग बढेको हो ।

कोरोनाका कारण अन्य क्षेत्रको कर्जा ठप्प भएको समयमा समेत घरजग्गा, ओभरड्राफ्ट तथा मार्जिक प्रकृतिका व्यक्तिगत कर्जाको माग उल्लेख्य बढेको थियो ।कोरोनाका कारण आयात घट्ने र निर्यात बढ्ने अवस्थामा थियो ।

अतिआवश्यक वस्तु भन्दा अन्य वस्तु आयात गर्ने अवस्था थिएन । त्यसले गर्दा पनि बैंकहरुमा कर्जाको माग व्यक्तिगत प्रकृतिमा सिमित थियो । तर, पछिल्ला दिनहरुमा व्यापार व्यावसायहरुमा आएको गतिका कारण बैंकहरुमा कर्जाको माग पनि आउन थालेको हो ।

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा ८ खर्ब बढीको आयात भएको छ । सात महिनाको (साउनदेखि माघ मसान्तसम्म) तथ्याङ्क अनुसार आठ खर्ब तीन अर्ब ६४ करोड बढीको आयात भएको छ ।

कोरोनाका कारण आर्थिक गतिविधि ठप्प सरह भएपछि बैंकहरुमा पैसा थुप्रिएको थियो । बैंकिङ प्रणालीमा निक्षेप थपिने, कर्जा रोकिने हुदाँ अधिक तरलताको समस्या देखियो । अधिक तरलताका कारण बैंकहरुले निक्षेपमा दिन ब्याजदर घटाएपछि बैंकहरुबाट निक्षेपमा राखिएको पैसा समेत बाहिरिन थालेको थियो ।

चालु आर्थिक वर्षको फागुन महिनाको तेस्रो सातामा बैंकहरुले २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकी यसअवधिमा १३ अर्ब मात्र निक्षेप संकलन गरेका छन्। फागुनको दोस्रो सातमा बैंकहरुले २७ अर्ब कर्जा प्रवाह गरेका थिए भने सो अवधिमा ११ अर्ब निक्षेप थपिएको थियो । त्यस्तै पहिलो सातामा १७ अर्ब कर्जा प्रवाह हुँदा १३ अर्ब मात्र निक्षेप थपिएको थियो । माघको अन्तिम सातामा बैकहरुमा २ अर्ब निक्षेप थपिदा कर्जा प्रवाह २९ अर्बले बढेको थियो ।

फागुन महिनाको तीन सातामा बैंकहरुले ७० अर्ब कर्जा विस्तार गरेका छन् । यस अवधिमा बैंकहरुमा ३६ अर्ब मात्र निक्षेप संकलन गरेका छन् । पछिल्लो तीन सातमा बैंकहरुमा थपिएको निक्षेप भन्दा कर्जा झण्डै झण्डै दोब्बर रहेको छ ।

फागुन २१ गतेसम्ममा वाणिज्य बैंकहरुले ३८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन् । यो अवधिमा बैंकहरुले ३३ अर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।