गभर्नर अधिकारीले सबैभन्दा पहिला सुरु गरेको नक्साल तरकारी बजारमा अहिले क्यूआर मार्फतको भुक्तानी नगन्य रहेको छ । नक्साल तरकारी बजारमा व्यवसाय सञ्चालन गर्दै आएका प्रकाश श्रेष्ठले गत पुस १० गते क्यूआर कोड लिएको भएपनि दैनिक ३–४ जना ग्राहकले मात्र यसको प्रयोग गर्ने गरेको बताउँछन् ।
त्यसैगरी कालिमाटी तरकारी बजारमा रहेको ५२७ नम्बरको पसल सुबर्णमान श्रेष्ठ हो । उनले पुस २४ गते क्यूआर कोड राखे । तर अहिले सम्म कसैले पनि क्यूआरबाट भुक्तनी नगरेको बताउँछन् ।
कालिमाटीकै तरकारी बजारको अर्को पसल नम्बर १४ का ब्यापारी भिम बहादुर श्रेष्ठले पनि पुस २४ गते नै क्यूआर लिए । तर, उनले त्यो क्यूआर कोड लिए देखि यहि राखेको छु भन्दै ड्रअर भित्रको प्लास्टिकको पोको फुकाउदै भने, “जानेपो चलाउनु, जान्दीन ।”
उपत्यकाका मूख्य तरकारी बजारहरुमा क्यूआर सुरु गरिएको भएपनि दैनिक एक–दुई जना मात्र यसको प्रयोग गर्छन । तरकारी बजारमा आउने अधिकासं गृहणी भएकाले पनि क्यूआर कोडको भुक्तानी बढाउनका लागि जनचेतना वृद्धि गर्नु आवश्यक रहेको तरकारी पसलका व्यवसायीहरुको भनाई छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको जिम्मवारी सम्हालेसंगै वित्तीय कारोबारमा डिजीटल प्रविधि भित्राउने सोचसंगै क्यूआर कोडको महाअभियान सुरु गरे । क्यूआर कोड मार्फतको कारोबार रकम बढेको देखिए पनि तरकारी बजारको उद्घाटनले भने उनको खिल्ली उडाएको छ ।
गभर्नरले काठमाडौंका मूख्य तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने क्रान्ती सुरु गरे । तर, तरकारी बजारको क्यूआर कोडको भुक्तानीको अवस्था नीकै दयनिय रहेको छ । गभर्नर अधिकारीले सुरु गरेको माहाअभियान क्यूआर कोडको प्रभावकारिताले गभर्नरको कार्यकाल सफल हुने नहुने भन्ने सम्म जोडेर चर्चा हुने गरेको सुनिन्छ । त्यसकारण पनि गभर्नर अधिकारीले आफ्नो व्यक्तित्वसंग जोडिएको अभियानलाई उद्घाटन गरेर मात्र प्रभावकारी हुने देखिँदैन ।
पछिल्लो समयमा केन्द्रीय बैंकले नगदमा कारोबार गर्दा कोरोना सर्न सक्ने भएपछि पैसा तथा व्यक्तिसँग नछोई वित्तीय कारोबार सम्भव होस भनेर क्यूआर कोडको माहाअभियान सुरु गरेको हो । यो अभियानमा गभर्नरले नै प्राथमिकतामा राखेको देखिन्छ । तर, गभर्नरले उद्घाटन गरेका अधिकासं तरकारी बजारमा क्यूआर कोड पसलेका ड्रअर वा झोलामा छन् । मोबाइल, इन्टरेनट, क्यूआर कोड लगायतका पुर्वाधार तयार गरेर मात्र तरकारी बजारमा आउने ग्राहकलाई यस्तो प्रविधिमैत्री बनाउनु आवश्यक छ।
गत पुस १० गते नक्साल तरकारी बजारमा सानिमा बैंकको व्यवस्थापनामा सुरु भएको क्यूआर कोडको भुक्तानी पसले तथा ग्राहकको रोजाइमा परेको देखिँदैन । नक्साल तरकारी बजारको मात्र कुरा गर्दा ७० वटा पसल छन् । ती मध्ये केहीमा क्यूआर कोड नै छैन भने भएकामा पनि करिब ९७ प्रतिशत नगदमा नै कारोबार हुने गरेको ब्यापारीहरु बताउछन् ।
त्यसैगरी गत पुस २४ गते कालिमाटीमा सुरु भयो । कालिमाटिको खुद्रा पसलहरुमा अहिलेसम्ममा करिब एक दर्जन ग्राहकले मात्र क्यूआरबाट भुक्तानी गरेको देखिन्छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा थोक तर्फ ४५४, खुद्रातर्फ ६१ र अन्य विउ विजन २, दुग्धजन्यपदाथ १, च्याउ २, भोजानालय ५, गोदाम ४० गरि जम्मा ५६५ वटा पसलहरु छन् । जसमध्य २१८ पसलहरुमा प्रभु बैंकको क्यूआर राखिएको छ।
नक्साल तरकारी बजारबाट सुरु भएको अभियान कालिमाटी फलफूल तथा तरकारी बजार हुँदै सार्वजानिक यातायात, रिक्सा, ट्याक्सी, देशका अन्य तरकारी बजारहरुमा मात्र सिमित नभै मन्दीरमा समेत पुगेको छ । त्यो क्रम विस्तार हुदै राजधानी भन्दा बाहिर पनि पुगेको छ।
तर, त्यसको प्रयोग सन्दर्भमा उद्घाटनपछि सम्बन्धित निकायवाट अनुगमन हुन सकेको छैन । न त क्यूआर कोडको व्यवस्थापन गराएको बैंकले नै उद्घाटन पछि त्यसलाइ चासो दिएको छ । न त नेपाल राष्ट्र बैंकले नै । नेपाल राष्ट्र बैंकले संकलन गरेको तथ्याङकमा क्यूआर मार्फतको भुक्तानी बढेको देखिएको छ । यसको कारण भनेको गर्भनर अधिकारीले सुरु गरेको अभियानले भन्दा पनि स्वस्फुर्त रुपमा होटल तथा रेष्टुरेन्टमा हुने भुक्तानी हो।
नेपाल राष्ट्र बैंकले नै तदारुकता देखाएको क्यूआर कोड मार्फत हुने भुक्तानी बढ्न नसकेको जिज्ञासा सहित नोटबजार केन्द्रीय बैंक पुग्यो । केन्द्रीय बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राष्ट्र बैंकले अभियानको थालनी गरिदिएको बताए । “गभर्नर सावले क्यूआरलाई उच्च प्राथामिकता दिनु भएको छ,” डा.भट्टले भने,“त्यसपछि सम्बन्धीत बैंक वित्तीय संस्थाहरुले बढावा र प्रोत्साहन दिदै जानु हुन्छ ।”
कुनै क्यूआर कोड प्रयोगकर्ताको गुनासो भए केन्द्रीय बैंकले त्यसलाई सम्बोधन गर्ने भट्ट बताउँछन् । यो सम्बन्धि समस्या तथा गुनासाहरुको सुनुवाई पेमेन्ट सिस्टम डिपार्टमेन्टले गर्ने बताउँदै भट्टले भने,“क्यूआरमा वित्तीय चेतना क्रमश विस्तार हुने कुरा हो, राष्ट्र बैंकले बैंकहरुलाई वित्तीय साक्षरता कार्यक्रमहरुमा सहभागी भई प्रोत्साहन गर्न निर्देशन दिइएको र त्यसका लागि केही नीतिगत सहजीकरण पनि गरिएको छ ।”
पछिल्लो समयमा केन्द्रिय बैंकले क्यूआर कोड मार्फतको भुक्तानीलाई सुरक्षीत र विश्वसनीय बनाउनका लागि मपदण्ड जारी गरेको छ । त्यसका साथै बैंक तथा वित्तीय संस्थालाई सामाजिक उत्तरदायित्व अन्तगर्त खर्च गर्नुपर्ने कुल रकमको ५ प्रतिशत क्यूआर कोड व्यवस्थापनमा खर्च गर्न निर्देशन दिएको छ । यसले मात्र खुद्रा कारोबारमा डिजिटल वित्तीय कारोबार बढ्ने सम्भावना हुदैन् । यसका लागि केन्द्रीय बैंकले नै साक्षर तथा निराक्षर दुबैलाई मध्यनजार गर्दै उपयुक्त व्यवस्था गर्ने डिजिटल वित्तीय सचेतना बढाउने काम गर्नुपर्ने देखिन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया