चालु आर्थिक वर्षको ८ महिना गुज्रँदा कूल बजेटको ३८.७२ प्रतिशत मात्र बजेट खर्च भएको छ । यसमा पनि पूँजीगत खर्चको आँकडा निराशाजनक रहेको छ । ८ महिनामा २२.५८ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार २०७७ फागुल्ण २९ गते शनिबारसम्ममा ५ खर्ब ७१ अर्ब २१ करोड खर्च भएको छ । यो लक्ष्यको ३८ दशमलब ७२ प्रतिशत हो । यस अन्तर्गत चालु खर्च ४ खर्ब ५५ अर्ब ८१ करोड रुपैयाँ भएको छ । यो लक्ष्यको ४८ दशमलव ०३ प्रतिशत हो । त्यसैगरी ६ महिनाको पूँजीगत खर्च मात्र ७९ अर्ब ६९ करोड रुपैयाँ छ । यो कूल लक्ष्यको २२ दशमलब ५८ प्रतिशत हो । त्यस्तै वित्तीय व्यवस्थातर्फ ३५ अर्ब ५० करोड खर्च भएको छ । यो लक्ष्यको २० दशमलब ५५ प्रतिशत हो ।
यता सरकारको राजश्व तथा आम्दानीतर्फ ८ महिनामा वार्षिक लक्ष्यको ५६ दशमलव ४६ प्रतिशत प्रगति हासिल भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
वार्षिक राजश्व लक्ष्य १० खर्ब ११ अर्ब ७५ करोड रहेकोमा शनिबारसम्म ५ खर्ब ७१ अर्ब २० करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
यसअन्तर्गत कर राजश्व ५ खर्ब २७ अर्ब ६६ करोड तथा गैरकर राजश्व ४३ अर्ब ५३ करोड संकलन भएको छ । अन्य आम्दानीमा ३२ अर्ब ७२ करोड रहेको छ भने ८ महिनामा सरकारले ५ अर्ब ३० करोड मात्र अनुदान लिएको छ । यो वर्ष ६० अर्ब ५२ करोड अनुदान लिने लक्ष्य सरकारको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाँको बजेट ल्याएको छ । बजेट कार्यान्वयनका लागि सरकारले चालु आर्थिक वर्षको बाँकी ४ महिनामा करीब साढे ४३ प्रतिशत राजश्व संकलन तथा करीब ६१ प्रतिशत बढी बजेट खर्च गर्नुपर्नेछ ।
तर, अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार १ खर्ब ३० अर्बले घटाएर चालु आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको थियो । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट विनियोजन गरेको थियो ।
सरकारले चालु खर्च ९ खर्ब ४८ अर्ब ९४ करोडबाट घटाएर ९ खर्ब १४ अर्ब ७८ करोडमा झारेको छ । यस्तै पूँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोडबाट घटाएर २ खर्ब ८३ अर्ब ४ करोडमा झारेको छ । यसैगरी वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ८९ करोडको बजेटको आकार घटाएर १ खर्ब ४६ अर्ब ८६ करोडमा सीमित हुने अनुमान गरेको छ ।
यो खर्च व्यवस्थापनका लागि सरकारले राजश्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड र वैदेशिक अनुदानबाट ३५ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३५ अर्ब जुटाउने संशोधित अनुमान सार्वजनिक गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले अर्थमन्त्रालयले अर्धवार्षिक समीक्षा मार्फत बजेट संशोधन गरेको भएपनि उक्त प्रस्ताव संसदबाट पारित नभएकाले सुरुकै बजेटका आधारमा तथ्यांकहरु सार्वजनिक गरिएको जानकारी दिए ।
आर्थिक वर्षको अन्तिम चौमासिकमा पुगेपछि मात्र हतारमा बजेट खन्याउने प्रवृत्ति यो वर्ष पनि कायम रहने अहिलेसम्मको खर्चको आँकडाले स्पष्ट पारेको छ ।
अर्थमन्त्रालयले पूँजीगत खर्च बढाउनका लागि सम्बन्धित मन्त्रालय र अन्तरमन्त्रालयमा छलफल र समन्वयलाई तिब्रता दिएको प्रवक्ता सुमन दाहालले जानकारी दिए । साथै उनले बजेट कार्यान्वयनका मापदण्डहरुलाई कडाइका साथ कार्यान्वयन गरी पूँजीगत खर्च बढाउनका लागि थप पहल भइरहेको बताए।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया