अस्पतालको हेपाइ र फार्मेसीमा औषधि नहुँदा स्वास्थ्य बीमा कार्यक्रम निस्प्रभावि

0
Shares

सरकारी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका बिरामीलाई दोस्रो दर्जाको रूपमा हेर्ने र हेप्ने प्रवृति रहेको रामेछाप निवासी सुमन घिमिरेले बताए । आफ्नी श्रीमतीको शल्यक्रिया गर्न टिचिङ अस्पताल आईपुगेका घिमिरेले बीमा योजनामा निःशुल्क तोकिएको औषधि पनि फार्मेसीमा नपाउने गुनासो पोखे । औषधी पाए पनि बीमाको कार्ड हुनेलाई कम गुणस्तरको र सस्तो औषधि दिने गरेको उनको पीडा छ ।

स्वास्थ्य बीमाको कार्ड देखाउने वित्तिकै अस्पतालले गर्ने व्यवहारमा फरक पर्ने सिन्धुली निवासी दामिनी भट्टले बताईन् । शुरु वर्ष आफ्नो परिवारको स्वास्थ्य बीमा गराए पनि सेवा लिनका लागि बढी दुख खेप्नुपर्ने र अस्पतालले गर्ने ब्यवहारका कारण आफुले अर्को वर्ष बीमा नवीकरण नगरेको भट्ट बताउँछिन् ।

सरकारले करिब ६ वर्ष अघि सबै नागरिकमा स्वास्थ्य बीमाको पहुँच पु¥याउने लक्ष्यका साथ सुरु गरेको कार्यक्रम असफल देखिएको छ । स्वास्थ्य बीमा अन्तर्गत सरकारी अस्पतालमा उपचार गर्नुपर्ने, बीमा गरेकालाई अस्पतालले हेप्ने प्रवृति र तोकिएका फार्मेसीमा औषधि नपाइने लगायतका कारणले कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।

सरकारले ल्याएको कार्यक्रममा एकातिर आकर्षण छैन भने अर्कोतिर बीमा गर्ने बीमितले राम्रोसँग सेवा सुविधा पाउन सकिरहेको छ्रैनन् । सेवा उपभोग गर्नका लागि झन्झट खेप्नु परेको स्वास्थ्य बीमा कार्यक्रममा सरिक भएका बीमितहरुको गुनासो छ । सेवा उपभोग गर्न स्वास्थ्य बीमाको कार्ड बोकेर अस्पताल गएका व्यक्तिलाई अस्पतालले हेप्ने गरेको गुनासो बीमितहरुको छ ।

सो कार्यक्रम अन्तर्गत बीमा गरेका व्यक्तिले पनि सेवा उपभोग गर्न अस्पताल पुग्दा अस्पतालले गर्ने व्यवहारका कारण पुनः आफ्नोे बीमा नवीकरण नगरेको बताउँछन् । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गरेका रामेछापका सुमन घिमिरे तथा सिन्धुलीकी दामिनी भट्ट प्रतिनिधि मात्र हुन् । सो कार्यक्रम अन्तर्गत बीमितले उपभोग गर्ने सुविधा गुणस्तरीय हुन नसकेकोमा स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरु पनि सहमत छन् ।

सबै नेपालीलाई सरकारले ५ वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रम पु¥याउने लक्ष्य सहित कार्यक्रम सुरु गरेको थियो । तर, सो अवधि व्यतित भईसक्दा पनि ३७ लाख १६ हजार नागरिक मात्र यस कार्यक्रममा सहभागि भएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । यो कार्यक्रमको प्रचार प्रसार प्रर्याप्त नहुनु, कार्यक्रम अन्तर्गत उपचार गर्ने संस्थाको गुणस्तर कमजोर हुनु लगायतका कारणले सोचे अनुसार लक्ष्य भेटाउन नसकिएको स्वास्थ्य बीमा बोर्डका एक कर्मचारीले नोटबजारलाई बताए ।

पछिल्लो समय सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रचार प्रसारमा समेत बोर्डले विशेष ध्यान दिएको छ । प्रचार प्रसारका लागि स्थानीय रेडियो (एफ.एम) हरु मार्फत स्वास्थ्य बीमा सन्देश प्रसारण गर्ने काम भइरहेको बोर्डको भनाई छ । बोर्डले यसै वर्ष सबै जिल्लामा सेवा सुचारु गर्ने योजना सहित काम अघि बढाएको ती कर्मचारीले बताए ।

विं.सं २०७२ चैत्र २५ गते कैलाली, बाग्लुङ र इलामबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ६८ जिल्लामा विस्तार भएको छ  । सरकारले नागरिकको स्वास्थ्य उपचार सम्बन्धि अधिकारलाई बीमा मार्फत सुनिश्चित गर्ने लक्ष्य सहित आर्थिक वर्ष २०७१÷०७२ को बजेटमा स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरेको थियो ।

  • सुविधा पाउनै कठिन

स्वास्थ्य बीमा अन्तर्गत सेवा लिनका लागि बढी दुख खेप्नुपर्ने र अस्पतालले गर्ने व्यवहारका कारण यस योजनामा सहभागिता हुनुभन्दा नहुन नै ठीक मान्छन् बीमीतहरु । त्यतिमात्र नभई अस्पतालले कम गुणस्तरको औषधि दिने गरेको समेत उनीहरु बताउँछन् ।

अस्पताल जाँदा बीमाको कार्ड बोकेर घण्टौं लाइनमा बस्नुपर्छ । तर डाक्टरले सिफारिस गरे बमोजिमको औषधि नपाइने गरेको उनीहरुको गुनासो छ ।

  • स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान अवस्था

विं.सं २०७२ सालमा शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ६८ जिल्लामा विस्तार भएको छ । हालसम्म यस कार्यक्रममा ३७ लाख १६ हजार ३९२ जनाले सहभागिता जनाएका छन् ।

कार्यक्रममा सहभागि हुनेमा जिल्लागत आधारमा सबैभन्दा धेरै झापा जिल्लाका नागरिक समेटिएका छन् । यस जिल्लाका ४ लाख ३६ हजार ९५९ जना नागरिक समेटिएको तथ्यांक बोर्डको छ । त्यस्तै, चितवन र सुनसरीका नागरिकको पनि उत्साहप्रद सहभागिता देखिएको छ । चितवन जिल्लाका २ लाख ९४ हजार ७१७ जना र सुनसरी जिल्लाका २ लाख ९० हजार ७७९ जना नागरिक यस कार्यक्रममा समेटिएका छन् ।

यस्तै, लिङ्गका आधारमा हेर्दा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिन्छ । प्रदेश नम्बर १ मा ६ लाख २० हजार ७५४ जना महिलाको सहभागिता रहँदा पुरुषको संख्या ५ लाख ७६ हजार २९० जना मात्र रहेको छ । अरु प्रदेशमा समेत महिलाको सहभागिता नै उच्च रहेको तथ्यांक बोर्डको छ ।

  • स्वास्थ्य बीमामा पाईने सुविधा, कसरी लिने सुविधा ?

स्वास्थ्य बीमा बोर्डले पाँच जनाको परिवारलाई एउटा युनिट मानेको छ  । यस कार्यक्रम अन्र्तगत एउटा परिवारले ३ हजार ५०० रुपैयाँमा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँछन् । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए थप एकजना बराबर ७०० रुपैयाँ थप गर्नुपर्ने हुन्छ  ।

सरकारले स्वास्थ्य स्वयंसेवीका, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क बीमाको व्यवस्था गरेको छ  । उपचार सुविधाका लागि बोर्डले विभिन्न स्वास्थ्य चौकी र सरकारी अस्पतालसँग सम्झौता गरेको छ  ।

बीमितले उपचार सेवा उपभोग गर्नका लागि बोर्डले सम्झौता गरेको ती स्वास्थ्य चौकी वा तोकिएको अस्पताल जानुपर्ने हुन्छ  ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।