बैंकिङ्ग पहुँच पुग्न बाँकी ४ स्थानीय तहमा दुई महिना यता थपिन सकेन वाणिज्य बैंकको शाखा

0
Shares

बैंकिङ्ग पहुँच पुग्न नसकेका चार स्थानीय तहमा विगत दुई महिना यता शाखा विस्तार हुन नसकेको देखिएको छ ।  सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना गरी सम्पूर्ण बैंकिङ्ग कारोबार ‘क’ वर्गको वाणिज्य बैंक मार्फत मात्र गर्ने नीति अंगिकार गरेपनि लामो समयदेखि साो लक्ष्य भेटाउन नसकिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा उल्लेख चालू आर्थिक वर्ष २०७७/७८ को सात महिनाको ‘आर्थिक तथा वित्तीय स्थिति’ अनुसार देशभरका चार गाउँपालिकामा अझै वाणिज्य बैंक पुग्न नसकेको देखिएको छ ।

केन्द्रीय बैंकको अनुसार ताज्लेजुङ्गको मिक्काखोला गाउँपालिका, धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काडा गाउँपालिका गरी चार स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा विस्ता हुन नसकेको हो ।

नेपाल राष्ट्र बैंकको सार्वजनिक गरेको चालु आवको ७ महिना अर्थात माघ मसान्तसम्ममा ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेका छन् । कार्तिक महिनामा ७४८ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेकोमा मंसिरमा धादिङको नेत्रावती गाउँपालिकामा शाखा विस्तार भएसँगै ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको थियो । त्यसयता पुस र माघ महिनाको अन्त्यसम्ममा बाँकी स्थानीय तहमा शाखा विस्ता हुन नसकेको हो ।

अहिलेसम्मको तथ्यांक अनुसार प्रदेश १ र २ का स्थानीय तहमा सबैभन्दा धेरै वाणिज्य बैंकका शाखा कार्यालय खुलेका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार यी दुई प्रदेशमा समान १३६ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्। यसैगरी, बागमती प्रदेशका ११८, लुम्बिनीका १०९, सुदूर पश्चिमका ८७, गण्डकीका ८५, कर्णालीका ७८ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । अहिलेसम्मको स्थितीमा प्रदेश १, वाग्मती, कर्णाली र सुदूर पश्चिमका एक÷एक स्थानीय तहमा मात्रै बैंक पुगेका छैनन् ।

शाखा विस्तार हुन नसकेको सबै स्थानीय तहमा शाखा खोल्न का चाहिने न्युनतम पूर्वाधारहरु नहुँदा बैंकहरुलाई समस्या परेको छ । बाटो, विजुली, भवन, इन्टरनेट, शान्ति, सुरक्षा लगायतका सामान्य कुराहरु समेत नभएको ठाउँमा शाखा विस्तार हुन नसकेको बैंकर्स संघले जनाएको छ ।

चालु आवको भदौमा ७४७ स्थानीय तहमा वाणिज्य बैंकको पहुाच रहेकोमा कार्तिकमा थप एक स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको थियो । २०७६ जेठमा ७४६ स्थानीय तहमा वाणिज्य बैंक पुगेकोमा असारमा ७४७ स्थानीथ तहमा पुगेको थियो । त्यसको चार महिनापछि कार्तिकमा थप एक स्थानीय तहमा बैंकिङ्ग पुहँच थपिँदा ७४८ तहमा पुगेको थियो ।

त्यसको एक महिनाभित्रै अर्थात मंसिरमा थप एक स्थानीय तहमा बैंकिङ्ग पुहँच पूग्दा ७४९ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति कायम भएको थियो । वाणिज्य बैंकको शाखा नपुगेका स्थानीय तहमा नजिकैको अर्को स्थानीय तह वा सदरमुकामबाट बैंकिङ्ग सेवा प्रवाह हुँदै आएको छ ।

कुल ७५३ स्थानीय तहमध्ये २०७७ माघसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ माघसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएकोमा पछिल्लो एक वर्षमा थप तीन स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति पुगेको हो ।

२०७७ माघमसान्तसम्ममा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १४३ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९ हजार ७६५ रहेकोमा पछिल्लो ७ महिना अर्थात २०७७ माघ मसान्तमा ६०१ वटा शाखा विस्ता भई १० हजार ३६६ पुगेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।