सरकारको चालु खर्च बढ्दा पूँजीगत खर्च १८ प्रतिशतले घट्यो

0
Shares

सरकारले चालु आर्थिक वर्षको माघ महिनासम्मको खर्चमा चालु खर्च मात्र बढेको जनाएको छ । कोरोनालाई कारण देखाउदै पूँजीगत खर्च १८ प्रतिशतले घटेपनि चालु खर्च ११ प्रतिशतले बढेको अर्थमन्त्रालयले जनाएको हो ।

तर, सरकारले पूँजीगत खर्च गर्न नसकेको यो वर्ष नै पहिलो भने होईन । विगतका वर्षहरुमा पनि सरकारले पूँजीगत खर्च गरेको अवस्था थिएन । चालु आवको ८ महिनामा सरकारको पूँजीगत खर्च गत अवाको सोही अवधिको तुलनामा १८ प्रतिशतले घटेको छ । त्यसैगरी गत आवको माघको तुलनामा चालु आवको सोही अवधिमा वित्तीय व्यवस्था तर्फको खर्च पनि ३१ प्रतिशतले घटेको छ ।

सरकारले चालु आर्थिक वर्षको माघ महिनासम्ममा कुल खर्च ४ खर्ब ९९ अर्ब ६८ करोड रुपैयाँ गरेको छ । यो खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको माघसम्ममा सरकारले ४ खर्ब ८७ अर्ब ९ करोडको रुपैयाँ खर्च गरेको थियो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांङ अनुसार २०७७ फागुन २९ गते शनिबारसम्ममा ५ खर्ब ७१ अर्ब २१ करोड खर्च भएको छ । यो लक्ष्यको ३८ दशमलब ७२ प्रतिशत हो । यस अन्तर्गत चालु खर्च ४ खर्ब ५५ अर्ब ८१ करोड रुपैयाँ भएको छ । यो लक्ष्यको ४८.०३ प्रतिशत हो ।

चालु आर्थिक वर्षको माघसम्ममा सरकारको चालु खर्च ११.२ प्रतिशतले बढेको छ भने पू्ँजीगत १८.७ प्रतिशत र वित्तीय व्यवस्था तर्फको खर्च ३१.७ प्रर्तशतले घटेको छ । खासगरी कोभिड–१९ संक्रमणको जोखिमका कारण विकास निर्माणका कार्यले गति लिन नसकेको कारण पूँजीगत खर्च अपेक्षित रुपमा हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको सो अवधिमा कुल विनियोजित रकमको ३३.९ प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्षको माघसम्ममा संघिय सरकारको कुल राजस्व संकलन ४ खर्ब ९८ अर्ब ५२ रुपैयाँ कुल राजस्व संकलन गरेको छ । यो राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२५ प्रतिशतले धेरै हो । गत आवको माघसम्ममा सरकारले ४ खर्ब ९२ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आवको माघसम्मको राजस्वमा कर राजस्व ४ खर्ब ५९ अर्ब १० करोड र गैरकर राजस्व मार्फत ४० अर्ब ४२ करोड रुपैयाँ संकलन भएको अर्थमन्त्रालयले जनाएको छ । यो अवधिमा सरकारको अन्य प्राप्ति सहित कुल प्राप्ति ५ खर्ब ३० अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

चालु आवको माघसम्ममा सरकारले ५ खर्ब ४९ अर्ब ५१ करोड रुपैयाँ कुल राजस्व संकलनको लक्ष्य राखेको थियो । चालु आवको सो अवधिमा सरकारले संकलन गmेको कुल राजस्व लक्ष्यको ९०.७२ प्रतिशत हो । तर, सरकारले माघसम्ममा ३२ अर्ब १९ करोड रुपैयाँ अन्य प्रप्ति गरेको हुदाँ कुल प्राप्ति लक्ष्यको ९६.५८ प्रतिशत भएको हो ।

गत आर्थिक वर्षको माघसम्मको तुलनामा चालु आवमा भन्सार महसुल २१.१ प्रतिशतले बढेको छ भने आयकर संकलन ९.६ प्रतिशतले बढेको अर्थमन्त्रालयले जनाएको छ । चालु आवको माघसम्ममा मूल्य अभिवृद्धि कर लक्ष्य भन्दा धेरै संकलन भएपनि अन्य शिर्षकको राजस्व संकलनमा कमीआएपछि समग्र राजस्व संकलन लक्ष्यको ९०.७ प्रतिशत संकलन भएको छ ।

यस अवधिमा भन्सार विन्दुमा संकलन भएको राजस्व ९.८ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फ संकलन भएको राजस्व ३.८ प्रतिशतले घटेर २ खर्ब ३५ अर्ब ६९ करोडमा सीमित भएको छ ।

चालु आर्थिक वर्षको माघसम्ममा स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ३८ लाख २५ हजार ९ सय ४६ पुगेको छ । यस अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यवसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १५ लाख १८ हजार ९ सय ३३ रहेको छ भने व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या २२ लाख ९९ हजार ३ सय ९ रहेको छ । त्यसैगरी यो अवधिसम्ममा करकट्टी गर्ने निकायले लिएको स्थायीले लेखा नम्बरको संख्या ७ हजार ७ सय ३ रहेको छ ।

माघसम्ममा मूल्य अभिवृछि करमा दर्ता दर्ता भएका करदाताको संख्या समेत बढेर २ लाख ७८ हजार ६ सय २४ र अन्त शुल्कमा दर्ता हुनेको संख्या एक लाख ७ हजार ८ सय ४५ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको माघसम्ममा बैदेशिक सहायता प्रतिवद्धता एक खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको ताुलनामा ७१.५ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा यस्तो रकम एक खर्ब ९ अर्ब २८ करोड रुपैयाँ मात्र रहेको थियो । चालु आवमा सडक तथा सुशासन क्षेत्रमा सबैभन्दा धेरै ५४ अर्ब रुपैयाँ बैंदेशिक सहायता प्रतिवद्धता प्रप्त भएको अर्थमन्त्रालले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ५ चैत २०७७, बिहीबार  १६ : २३ बजे