नेपाल पुनर्बीमा कम्पनीको खुद बीमाशुल्क संकलन ५१% ले बढ्यो, नाफा भने घट्यो

0
Shares

नेपाल पुनर्बीमा कम्पनीले बल्ल चालु आवको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्त सकिएपछि निष्काशन हुनुपर्ने कम्पनीको वित्तीय विवरण पाँच महिनापछि शुक्रबार सार्वजनिक भएको हो ।

चालु आवको पहिलो ३ महिनामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद बीमाशुल्क संकलन ५१.७८ प्रतिशत धेरैले बढोत्तरी भएपनि कम्पनीको नाफा भने ३.७१ प्रतिशतले घटेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २ अर्ब ३३ करोड ४५ लाख २१ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा १ अर्ब ५३ करोड ८१ लाख २८ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीको व्यवसाय ५१.७८ प्रतिशतले बढेको हो ।

कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा ३.७१ प्रतिशतले खुम्चिएको छ । गत आवको यसै अवधिमा ४० करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा चालु आवको यसै अवधिमा ३९ करोड २३ लाख ६४ हजारमा झरेको हो ।

चालु आर्थिक वर्षको असोजसम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ३३ करोड ७८ लाख रुपैयाँ र जीवन व्यवसायवापत ५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा निर्जीवन व्यवसायबाट ३७ करोड ९४ लाख र जीवन बीमा व्यवसायबाट २ करोड ८० लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा खुद बीमाशुल्क संकलन गत आवको यसै अवधिको तुलनामा ७९ करोड ६३ लाख ९३ हजार रुपैयाँ अर्थात ५१.७८ प्रतिशतले बढेको छ । चालु आवको असोजसम्म निर्जीवन व्यवसायबाट २ अर्ब २३ करोड ४९ लाख र जीवन बीमा व्यवसायबाट ९ करोड ९६ लाख १६ हजार रुपैयाँ गरी २ अर्ब ३३ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।

गत आवको सोही अवधिमा पुनर्बीमाले निर्जीवन बीमा व्यवसाय वापत १ अर्ब ५० करोड र जीवन बीमा व्यवसाय तर्फ ३ करोड ४५ लाख रुपैयाँ गरी १ अर्ब ५३ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

यस अवधिमा जीवन बीमा व्यवसाय तर्फको नाफा ९४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा व्यवसाय तर्फको नाफा १०.९५ प्रतिशतले घटेको छ । कम्पनीमा ठूलो हिस्सा निर्जीवन बीमा व्यवसायको रहेकाले जीवन बीमातर्फ उत्कृष्ट सुधार आएपनि नाफा घटेको हो ।

असोज मसान्तसम्ममा कम्पनीले ५४ करोड ५८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले निर्जीवन बीमा दावी वापत ५१ करोड ११ लाख रुपैयाँ र जीवन बीमा तर्फ ३ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

गत आवको यसै अवधिमा निर्जीवन बीमा दावी वापत ३१ करोड ५० लाख रुपैयाँ र जीवन बीमा तर्फ १ करोड ५४ लाख रुपैयाँ गरी कुल ३३ करोड ०५ लाख २६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आवको तुलनामा खुद दाबी भुक्तानी ६५.१६ प्रतिशत अर्थात २१ करोड ५३ लाख ६२ हजार रुपैयाँ बढेको छ ।

चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १५.६९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५३.८१ रुपैयाँ छ । बीमा कोषको आकार गत आवको यसै अवधिको तुलनामा ५६ करोड बढेर २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ सञ्चित भएको छ भने राखेको कम्पनीको जगेडा कोषको आकारमा पनि १ अर्ब १२ करोड बढेर ३ अर्ब ३४ करोड ५७ लाख जम्मा भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।