सरकारले शिक्षित बेरोजगर घटाउने उद्देश्यले सञ्चालनमा ल्याएको शिक्षित युवा स्वरोजगार कर्जामा यूवाहरुको आकर्षण निकै कम मात्र देखिएको छ । प्रक्रियागत झन्झट तथा कर्जा सीमा रकम न्यून भएकाले पनि यस्तो कर्जामा अकर्षण बढ्न नसकेको हो ।
सरकारले शैक्षिक बेरोजगारको संख्या न्यूनीकरण गर्नका लागि स्नातक वा सो सरह उत्तीर्ण गरी ४० वर्ष ननाघेका युवाहरुलाई स्वरोजगार बनाउन ७ लाख रुपैयाँसम्मको कर्जा दिने व्यवस्था गरेको छ ।
सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ नै बनाई यस्ता खालका कर्जा प्रवाहको सुरुवात गरेको हो । तर, चालु आर्थिक वर्षको माघसम्ममा यो शीर्षकमा ११९ जनाले मात्र कर्जा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सहुलियत पुर्ण कर्जा पाउने विभिन्न १० शीर्षकमा दिइने सहुलियतपुर्ण कर्जामा ५ वर्षसम्मका लागि ५ प्रतिशत ब्याजदर अनुदान दिने व्यवस्था छ । शिक्षित यूवा स्वरोजगार कर्जा पनि १० शीर्षक मध्येको एक हो । जस बमोजिम प्रवाह हुने कर्जा हो शिक्षित युवा स्वरोजगार कर्जा । यो शीर्षकमा कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदरमा अधिकतम २ प्रतिशत नबढ्ने गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाले निर्धारण गरेको ब्याजदरमा सरकारले थप ५ प्रतिशत अनुदान दिने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता एवं सूचना अधिकारी नारायण प्रसाद पोखरेलका अनुसार हालसम्म ११९ जनाले ५ करोड ४९ लाख रुपैयाँ बरावरको शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत ऋणको उपभोग गरेका छन् । यस अनुसार २०७५ सालबाट सुरु भएको यस कर्जा कार्यविधि २०७७ को अन्त्य सम्म आइपुग्दा पनि खासै प्रभावकारी बन्न नसकेको देखिन्छ ।
- शिक्षित युवा स्वरोजगार कर्जा लिन के गर्ने ?
उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि सम्बन्धित बैंक तथा वित्तिय संस्थामा के प्रयोजनका लागि कर्जा लिने हो सो खुलाएर प्रस्तावना (प्रपोजल) बुझाउनुपर्छ । यदि बैंकलाई सो प्रपोजल चित्त बुझ्दो भयो भने सक्कली शैक्षिक प्रमाणपत्र बैंकमा धितो राखेर ७ लाख रुपैयाँसम्म कर्जा लिन सकिन्छ ।
युवा स्वरोजगार कर्जाका लागि योग्यता एवं शर्त के के हुन् ?
- कम्तिमा स्नातक उतिर्ण भएको र ४० वर्ष ननाघेको हुनुपर्ने ।
- विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हाँसिल गरेको हकमा नेपालको कुनै विश्व विद्यालयबाट समकक्षता सम्बन्धमा प्रकाशित सार्वजनिक सूचीमा अध्ययन गरेको विश्वविद्यालय समावेश भएको हुनुपर्ने ।
- घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लगायत सरकारी निकायहरुबाट कम्तिमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालिम अनिवार्य रुपमा लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा सीप विकास तालिम लिएको प्रमाणपत्र पेश गर्नुपर्ने । तर व्यवसाय संग सम्बन्धित विषयमा स्नातकतह उतिर्ण गरि व्यवसाय सञ्चालन गर्ने व्यक्तिको हकमा तालिम अनिवार्य हुने छैन ।
- उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव ।
कर्जाका लागि आवश्यक कागजात - सम्बन्धित बैंक तथा वित्तीय संस्थाको विधिवत् रुपमा भरिएको आवेदन फारम
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कर्जा सूचना केन्द्रको कालो सूचीमा नपरेको स्वः घोषणा
- शैक्षिक प्रमाणपत्रको सक्कलप्रति र सीप विकास लालिम लिनुपर्ने व्यक्तिको हकमा सीप विकास तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि
चालु आर्थिक वर्षको मोद्रिक नीति मार्फत सहुलियतपूर्ण कर्जाको पहुँच विस्तार गर्ने वाणिज्य बैंकले कम्तिमा ५०० वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रिय स्तरका विकास बैकले कम्तिमा ३०० वा न्यूनतम प्रतिशाखा ५ मध्ये जुन बढी हुन्छ सोही संख्यामा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया