एफएनसीसीआइको लबिङले ब्याजदर एकल अंकमा: वरिष्ठ उपाध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकोहोरो अंकमा ल्याउन एफएनसीसीआइको लबिङले मात्र सम्भव भएको बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकोहोरो अंकमा ल्याउन महासंघले नेपाल सरकार र नेपाल राष्ट्र बैंकसंग लबिङ गरेरको उनले बताए । महासंघले प्रयास गरेर एकल अंकमा आएको ब्याजदरलाइ उद्योगी व्यवसायीले भरपूर प्रयोग गरेर लाभ लिन समेत उनले सुझाएका छन् । उनले अहिलेको सस्तो ब्याजदरले लगानी बढाउने अवसर प्रदान गरेको बताएका हुन् ।

अहिलेको अवस्थामा व्यवसायिक क्रियाकलापहरुमा लगानी गर्ने र उद्योग व्यवसायलाई सस्टेन गर्न सघाउने समय रहेको बताउदै उनले भने,“त्यसैले हामी सबैले अहिलेको यो नीतिबाट लगानी बढाउने काममा लाभ लिन सक्छौँ ।” नेपालमा लगानी गर्न र व्यावसायिक एक्टिभिटिजहरु बढाउनका लागि बैंकको ब्याजदर बढी भएको भनी देशका निजी क्षेत्रका व्यवसायीले गुनासो गरेपछि त्यसको अगुवाई महासंघले गरेको उनको भनाइ छ ।

“म पनि एक उद्यमी एवं कमर्सियल बैंकको नेतृत्वकर्ताको हैसियतले पनि लागि परेँ,” उनले भने,“जसले गर्दा अहिले ब्याजदर अहिले सिंगल डिजीटमा आएको छ ।” यो अवस्था साँच्चिकै देशका उद्योगी, व्यवसायीहहरुले लाभ लिने नै बेला रहेको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले देशका कुनै पनि क्षेत्र वा जिल्लाका व्यवसायीले स्थानीय सम्भावना र अवसरहरुलाई राम्रो सँग खोजी गर्नुपर्ने बताए । “व्यावसायिक तथा आर्थिक क्रियाकलापको अभिबृद्धिका लागि तथा उद्यम शिलताको विकास र विस्तारका लागि हामीले आ–आफ्ना स्तरमा सम्भावना खोज्नुपर्छ,” उनले भने,“ यसैबाट शुरु हुने उद्यमशिलताले नै देशको विकास सम्भव छ ।”

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले ‘भिजन २०३०’ पेपर अघि सारेर मुलुकको निजी क्षेत्रका आवश्यकता र प्राथमिकता निर्धारण गरेर अघि बढ्ने नीति अख्तियार गरेको बताउँदै सो पत्रलाई प्रदेशस्तरमा पनि छलफलका लागि ल्याइने र त्यसमा निजी क्षेत्रका सबै साथीहरुको सुझावहरु समेटिने जानकारी उनले दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।