ट्रेजरी बिलको ब्याजदर १० महिना यताकै उच्च, रोकिएन उकालो लाग्ने गति

0
Shares

वित्तीय क्षेत्रको ब्याजदर न्यून विन्दुमा झरेको भएपनि सरकारले उठाउने ट्रेजरी बिलको ब्याजदर भने निरन्तर उकालो लाग्न थालेको छ । सरकारले आन्तरिक ऋणका लागि जारी गर्ने ट्रेजरी बिलको ब्याजदर यो वर्षकै उच्च पुगेको हो ।

सरकारले पूँजीगत खर्च बढाउन नसकेपनि चालु खर्च भने विगतका वर्षको तुलनामा बढेको छ । कोरोना भाइरसका कारण स्वास्थ क्षेत्रमा सरकारको लगानी बढेको हुनाले पनि चालु खर्च बढेको हो । त्यसका लागि सरकारले आन्तरिक ऋण मार्फत पूँजी परिचालन गरेको छ ।

अहिलेको अवस्थामा ब्याजदर सस्तो भएकाले पनि सरकारले यसलाई अवसरको रुपमा प्रयोग गरेको देखिन्छ ।कोरोनाका कारण ब्यापार ब्यवसाय ठप्प हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन भने बैंक तथा वित्तीय संस्थामा पनि निक्षेप थपिने कर्जा रोकिने अवस्थाले अधिक तरलता देखियो ।

वित्तीय प्रणालीको अधिक तरलताको अवस्था केही दिन अघिसम्ममा कायम रह्यो । अर्थिक गतिविधिमा सुधार आएसंगै पछिल्ला दिनहरुमा बैंकहरुमा कर्जाको मात्र पनि उच्च आउन थालेको छ । कर्जाको माग बढेसंगै तरलतामा पनि दबाव पर्न थालेको चर्चाहरु हुन थालेको छ ।

त्यसको असरले ब्याजदर पनि केही बढेको देखिन्छ । पछिल्लो समयमा बैंकहरुले ब्याजदर बढाउँदै निक्षेप योजना ल्याउन थालेका छन् । त्यसैगरी सरकारले निष्काशन गर्ने टे«जरी बिलको रेट पनि पछिल्लो १० महिना यताकै उच्च देखिएको छ । यसले तरलता कसीलो अवस्थामा रहेको र ब्याजदर बढ्न सक्ने संकेत गरेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । गत जेठमा ९१ दिने टे«जरी बिलको ब्याजदर साढे २ प्रतिशतको हाराहारीमा थियो ।

“वित्तीय प्रणालीको सर्ट टम ब्याजदर बढ्नु भनेको दीर्घकालीन व्याजदर पनि बढ्ने संकेत हो,” ती अधिकारीले भने,“ पछिल्लो समयमा बचतकर्तालाई न्याय नभएको थिएन, ब्याजदरमा केही सुधार आएको खण्डमा बचतकर्तालाई आकर्षित गर्नेछ ।” पछिल्लो समयमा ९१ दिने ट्रेजरी बिलको ब्याजदर साढे २ प्रतिशत भन्दा माथि रहेको छ भने १८२ दिने टि बीलको रेट ३ प्रतिशत भन्दा माथि पुगेको हुनाले आगामी दिनमा ब्याजदर केही बढ्ने उनको विश्लेषण छ ।

नेपाल राष्ट्र बैंकले चैत ३ गते निष्काशन गरेको ९१ दिने टे«जरी बिलको औसत ब्याजदर २.६९३६ प्रतिशत रहेको छ । सोही दिन निष्काशन भएको १८२ दिने टे«जरी बिलको रेट पनि बढेर ३.२८०३ प्रतिशत पुगेको छ ।

तर, पछिल्ला दिनहरुमा अन्तर बैंक रेट भने निरन्तर घट्दो क्रममा रहेको छ । केही दिन अघिसम्म साढे ३ प्रतिशतसम्म पुगेको अन्तर बैंक रेट बिहीबारसम्ममा आइपुग्दा १.३८ प्रतिशतमा झरेको छ । एक साताको अन्तरमा साढे ३ प्रतिशत पुगेको अन्तर बैंक ब्याजदर घटेर १.३८ प्रतिशत झर्नु भनेको वित्तीय प्रणालीमा तरलता स्थिति सहज अवस्थामा रहेको बुझिन्छ । अहिलेको तरलता नेपाल राष्ट्र बैंकले पुनरकर्जा वापतको रकम बजारमा पठाएको हुनाले बढेको हो । यसले धेरै दिनसम्म काम नगर्ने बैंकहरुको विश्लेषण रहेको छ ।

अन्तर बैंक दर, ट्रेजरी बिलको रेटलाई अल्पकालिन ब्याजदर निर्धारण गर्ने आधार भनिन्छ । यसले दिर्घकालीन ब्याजदरको दिशानिर्देश पनि गर्छ । ट्रेजरी बिलको ब्याजदरमा आएको सुधारले आगामी दिनमा ब्याजदर बढ्ने संकेत देखिएपछि गत साता देखिएको अन्तर बैंकदरमा आएको गिरावटले ब्याजदर बढ्ने वा घट्ने भन्नेमा दुविधा पनि सृजना गरेको छ । बचतकर्तालाई अति नै न्यून ब्याजदर दिएको हुनाले केन्द्रीय बैंक भने ब्याजदर सामान्य सुधारको गतिमा जानु पर्ने पक्षमा देखिन्छ । कर्जा विस्तारमा बैंक वित्तीय संस्थाको अहिलेको आक्रामक स्थिति कायम रहेको खण्डमा आगामी दिनमा यी दर झनै बढ्ने निश्चित छ ।

अहिलेको अवस्थामा बैंकहरुले दैनिक निक्षेपको दुगुना कर्जा प्रबाह गर्दै आएका छन् । यसले आगामी दिनमा कर्जा लगानी योग्य रकमको अवस्था कसीलो भएको खण्डमा ब्याजदर बढ्ने निश्चित छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

 

प्रकाशित मिति: ८ चैत २०७७, आइतबार  १७ : ४१ बजे