अभिकर्ता संघबाट गैरकानुनी रुपमा कमिशन कटौति गरेको भन्दै बीमा समितिमा दोस्रो पटक उजुरी

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध अभिकर्ता सुमित्रा भट्टले आफूले पाउनुपर्ने कमिशन रकम गैरकानुनी रुपमा काटिएको भन्दै नियामक निकाय बीमा समितिमा उजुरी दर्ता गराएकी छिन् ।

आफुले कम्पनीबाट प्राप्त गर्ने कमिशनको रकम गैरकानुनी रुपमा कटौति गरेको भन्दै गत असोज २४ गते भट्टले पहिलो पटक बीमा समितिमा उजुरी दर्ता गरेकी भट्ट दोस्रो पटक फागुन २८ गते समिति पुगेकी हुन् ।

असोजको उजुरी माथि कुनैपनि कारबारही नगरेको भन्दै भट्टले फागुन २८ गते पुनः न्यायका लागि दोस्रो पटक समितिको ढोका ढकढकाएकी हुन् ।  कम्पनीमा क्रियाशिल पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफ र कम्पनी मिलेर गैरकानुनी रुपमा आफ्नो कमिशन रकम कटौति गरेको उनको आरोप छ ।

पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफले कम्पनीसँगको मिलोमतोमा अभिकर्ताको कमिशनबाट वार्षिक ५ हजार रुपैयाँ कटौति गरेको भट्टले बताइन् । आफु बीमक समितिको सदस्य समेत नभएको अवस्थामा जानकारी बिना नै बीमक समिति नेपाल लाइफले आफ्नो आम्दानीबाट रकम काटेको अभिकर्ता भट्टको दाबी छ ।

कम्पनीबाट अभिकर्ता कमिशन वापत प्राप्त भएको रकम आफुलाई सोध्दै नसोधी खाताबाट पटक पटक रकम कटौति गरेको उजुरी लिएर नियामक निकाय बीमा समिति पुग्दा पनि संघ उपर बीमा समितिले कुनै कारबाही नगरेको भट्टले बताइन् ।

अभिकर्ताहरुले आफुले पाउनुपर्ने सेवा सुविधाबाट रकम कटौति गरेको उजुरी दर्ता गरेको ५ महिना वितिसक्दा पनि न्याय पाउन नसकिएको गुनासो पीडित अभिकर्ताहरुको छ । बीमा समितिले कारबाहीको प्रक्रिया नबढाएको उनीहरुको आरोप छ ।

  • सदस्यता नलिएका अभिकर्ताबाट समेत रकम असुली

पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफले सदस्यता नलिएका अभिकर्ताबाट पनि सदस्य सरह रकम असुली गर्दै आएको उजुरीकर्ता अभिकर्ताहरुले आरोप लगाएका छन् ।

नेपाल लाइफमा देशभरमा ७० हजार अभिकर्ता आबद्ध छन् । श्रम ऐन अनुसार यस्ता समिति वा संघले आफ्ना सदस्य अभिकर्ताबाट लेबी संकलन गर्न पाउने व्यवस्था छ । अभिकर्ताको हक अधिकारका लागि भन्दै गठित भएको संघको सदस्यताको लागि अनिवार्य गरिएको छैन तर, इच्छुक अभिकर्ताले उक्त समितिको सदस्यता लिन पाउने व्यवस्था छ ।

तर, बीमक समिति नेपाल लाइफले भने आफु खुशी सदस्यता नलिएका सदस्यबाट पनि गैर सदस्यहरुबाट समेत रकम असुली गर्दै आएको अभिकर्ता भट्टको आरोप छ । उनका अनुसार समितिले सदस्यता नलिएका अभिकर्ताबाट पनि ५ हजार देखि १५ हजार रुपैयाँसम्म संकलन गर्दै आएको छ । कम्पनीले अभिकर्ताको खातामा कमिशन रकम जम्मा गर्नुअघि अभिकर्तालाई जानकारी नदिई समितिलाई रकम प्रदान गर्ने गरेको पीडित अभिकर्ताको आरोप छ ।

पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफले १२ लाख ५० हजार रुपैयाँ बीमाशुल्क बुझाउने अभिकर्ताबाट ५०० रुपैयाँ कट्टी गर्ने गरेको छ । २५ लाख बीमाशुल्क बुझाउनेबाट ७०० रुपैयाँ, ५० लाख रुपैयाँ बुझाउनेबाट ८०० रुपैयाँ, ७५ लाख रुपैयाँ बुझाउनेबाट ९०० रुपैयाँ, १ करोड रुपैयाँ बुझाउनेबाट १ हजार रुपैयाँ, १ करोड ५० लाख रुपैयाँ बुझाउनेबाट १ हजार ५०० रुपैयाँ, २ करोड रुपैयाँ बुझाउनेबाट २ हजार रुपैयाँ समितिले काट्ने गरेको ती अभिकर्ताको आरोप छ ।

त्यस्तै, उक्त समितिले २ करोड ५० लाख रुपैयाँ बुझाउनेबाट २ हजार ५००रुपैयाँ, ३ करोड रुपैयाँ बुझाउनेबाट ३ हजार रुपैयाँ, ३ करोड ५० लाख रुपैयाँ बुझाउनेबाट ३ हजार ५००रुपैयाँ, ४ करोड रुपैयाँ बुझाउनेबाट ४ हजार रुपैयाँ, ५ करोड रुपैयाँ बुझाउनेबाट ५ हजार रुपैयाँ, ७ करोड ५० लाख रुपैयाँ बुझाउनेबाट ७ हजार रुपैयाँ, १० करोड रुपैयाँ बुझाउनेबाट १० हजार रुपैयाँ र १० करोड रुपैयाँ भन्दा बढी बुझाउनेबाट २० हजार रुपैयाँ लिँदै आएको छ ।

  • बुझेर कारबार्ही गर्ने/नगर्ने निर्णय लिन्छुः बीमा समितिका अध्यक्ष सिलवाल

बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले भने यस बारेमा आफू कहाँ अहिलेसम्म कुनै जानकारी आई नपुगेको बताए ।

नोटबजार डटकमसँग को कुराकानीमा यस विषयमा बुझेर कारबार्ही गर्ने/नगर्ने निर्णय लिने उनले बताए । 

अध्यक्ष सिलवालले भनेः “अभिकर्ताले पाउनुपर्ने रकम संघले दिने नभई कम्पनीले दिने हो, संघले कसरी पैसा काट्यो, के भएको रहेछ म बुझ्छु ।”

गत असोजमा सुमित्रा भट्टसँगै धनगढीकी स्नेहा भट्ट, जागुराम चौधरी सुख्खड, राजेन्द्र चौधरी सुख्खड, कालुराम चौधरी धनगढी र रामप्रसाद चौधरी सुख्खडले समेत समितिले गैरकानुनी रुपमा रकम कटौती गरेको भन्दै समितिमा उजुरी दिएका थिए ।

असोजमा उजुरी दर्ता गरेका धनगढीका कालुराम चौधरी लगायत अन्य अभिकर्ताहरुले भने दोस्रो पटक उजुरी दर्ता गराएनन् । आफुहरुले दर्ता गराएको पहिलो उजुरी उपर नै बीमा समितिले केही कारबाही नगरेपछि पुनः उजुरी दर्ता नगरेको चौधरीले बताए ।

आफुले दुःख गरेर कमाएको रकम आफैँलाई सोध्दै नसोधी कटौति गरेको उजुरी नियामक निकाय बीमा समितिमा दर्ता गराएपनि पीडितहरुको पक्षमा केही कदम नचालेकोमा उनले दुखेसो पोखे ।

  • ‘नियम विपरित रकम काटिएको छैन’: राजेन्द्र अमात्य, अध्यक्ष, पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफ

पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले भने नोटबजारसँगकोे कुराकानीमा कुनै पनि अभिकर्ताबाट नियम विपरित रकम नकाटेको दाबी गरे ।

अभिकर्ताहरुकै हकहीतको लागि अभिकर्ताद्धारा नै स्थापित भएको समितिबाट अभिकर्ताको अधिकार विपरित रकम नकाटिएको उनको प्रष्टोक्ती छ ।

“अभिकर्ता संघ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सम्झौता अनुसार अभिकर्ताहरुसँग पैसा लिन्छौं, र उहाँहरुकै हक हीतमा खर्च गर्छौँ” अमात्यले भने ।

“समितिको सदस्यहरुको मात्रै रकम काटिएको छ । समितिमा दिएको उजुरी सत्य होईन,” उनले भने ।

संघले अभिकर्ताबाट फरक फरक रुपमा लेबी उठाउने गरेको उनले नोटबजार डटकमसँग बताए । सामान्य अभिकर्ताबाट हरेक बीमालेखको १० रुपैयाँ लेबी लिने गरेको उनले जानकारी दिए । “अभिकर्ताबाट संकलन गरिएको रकम केन्द्रीय कमिटीले ६० प्रतिशत र शाखा स्तरका कमिटीले ४० प्रतिशत खर्च गर्न पाउने नियम छ सोही रकमबाट अभिकर्ताहरुको हक हीतका लागि खर्च गर्ने काम हुन्छ” उनले भने ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।