स्वास्थ्य बीमा गरेका १४ लाखले लिए सेवा, नवीकरण गर्नेको संख्या ७० प्रतिशत

0
Shares

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएर १४ लाख बीमितले उपचार सेवा लिएका छन् । विं.सं २०७२ सालमा शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट पाँच वर्षमा सो संख्यामा बिमितले सेवा पाएका हुन् ।

स्वास्थ्य बीमा बोर्डको चौमासिक प्रगति विवरण अनुसार चैत्र १ गतेसम्म १४ लाख ३० हजार जना बीमितले उपचार सेवा लिएका हुन् । कुल सहभागीमध्ये ३८.५४ प्रतिशत बीमितले सेवा लिएका हुन् ।

बोर्डको तथ्यांक अनुसार बीमितहरुले सानादेखि ठूला रोगहरुको सेवा लिनका लागि समेत स्वास्थ्य संस्था गएको देखिएको छ । प्राथमिक रक्तचाप, पेट दुखाई, मधुमेह, टाउको दुखाई, घाँटी दुखाई, ज्वरो लगायतका रोगहरुको उपचारका लागि बीमित स्वास्थ्य संस्था पुगेका हुन् । ठूला रोगको तुलनामा साना रोगका कारण स्वास्थ्य संस्था पुग्ने बीमितको संख्या उच्च छ । साधारणको तुलनामा जटिल (शल्यक्रिया) प्रकृतिका रोगमा उपचार गराउनेको संख्या भने न्यून रहेको छ ।

यस अवधिमा ९२ हजार १४ जनाले प्राथमिक रक्तचापको सेवा लिएका छन् । ९८ हजार ५६१ जना जनाले पेट दुखाई, ६० हजार ७३५ जनाले मधुमेह, ३० हजार ७९३ जनाले टाउको दुखाई, २९ हजार ८२२ जनाले घाँटी र ३२ हजार २९ जनाले ज्वरोको सेवा लिएका हुन् ।

चैत्र १ गतेसम्म यस कार्यक्रममा ३७ लाख १० हजार ९६२ जना सहभागी भएका छन् । यस अवधिमा बीमित परिवारको संख्या ७ लाख ४२ हजार १९२ जना रहेको छ ।

  • नवीकरण संख्या घट्दो

बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार स्वास्थ्य बीमामा नविकरण गर्नेको संख्या घटेको देखिन्छ । गत वर्षहरुमा स्वास्थ्य बीमा नविकरण गर्नेको संख्या ७५ प्रतिशत रहँदै आएको यो अवधिमा ७० प्रतिशतमा सीमित भएको छ ।

सबै नेपालीलाई सरकारले ५ वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रम पु¥याउने लक्ष्य सहित विसं २०७२ सालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रमको प्रचार प्रसार प्रर्याप्त नहुनु, कार्यक्रम अन्तर्गत उपचार गर्ने संस्थाको गुणस्तर कमजोर हुनु लगायतका कारणले सोचे अनुसार लक्ष्य भेटाउन नसकिएको स्वास्थ्य बीमा बोर्डका एक कर्मचारीले नोटबजारलाई बताए ।

देशमा कोरोना भाइरस संक्रमण फैलनु यसको मुख्य कारण रहेको बोर्डका कार्यकारी निर्देशक दामोदर बस्यौलाको भनाई छ ।

  • ७ अर्ब संकलन, साढे २ अर्ब भुक्तानी

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा सहभागी भएका बीमितबाट करीब ७ अर्ब रुपैयाँ रकम संकलन गरेको छ । चैत्र १ गतेसम्म बीमितबाट ६ अर्ब ९७ करोड ५८ लाख ९३ हजार २७५ रुपैयाँ संकलन गरेको बोर्डको तथ्यांक छ ।

त्यस्तै, बोर्डले यस अवधिसम्ममा २ अर्ब ७६ करोड ७८ लाख ८० हजार रुपैयाँ सेवा प्रदायक संस्थालाई भुक्तानी गरेको छ । यो रकम कुल संकलनको रकमको ३९.६८ प्रतिशत हुन आउँछ ।

  • सेवा गुणस्तरिय नभएको गुनासो

सबै नागरिकलाई सर्वसुलभ स्वस्थ्य सेवा उपलब्ध गराउनका लागि सरकारले न्यूनतम प्रिमियममा नै परिवारको बीमा गर्ने सुरुवात गरेपनि यो कार्यक्रमको सेवाप्रति सेवाग्राही भने सन्तुष्ट हुन सकिरहेको पाइँदैन ।

सरकारले बीमामा सरिक भएका बीमितलाई सेवा दिनका लागि सम्झौता गरेका स्वास्थ्य संस्थाबाट गुणस्तरिय सेवा पाउन नसकेकेको बीमितको गुनासो छ ।

स्वास्थ्य सेवा लिन जाँदा अस्पतालका फामेर्सीमा डाक्टरले सिफारिस गरे बमोजिमको औषधी नपाईने, घण्टौं लाइन बस्नुपर्ने लगायतका समस्या खेप्नु परेको बीमितहरुको गुनासो छ ।

  • लक्षित वर्गमा पहुँच पुग्न बाँकी

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अझै पनि लक्षित वर्गको पहुँचमा पुग्न बाँकी रहेको बोर्डका कार्यकारी निर्देशक दामोदर बस्यौला बताउँछन् । लक्षित वर्गको स्वास्थ्य बीमाको पहुँच पुर्याउनका लागि विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाई छ ।

स्वास्थ्य बीमा कार्यक्रम ६९ जिल्लाका ६७३ स्थानीय निकायमा विस्तार भएको छ । थप दुई जिल्लामा कार्यक्रम विस्तारको तयारीमा रहेको बोर्डले जानकारी दिएको छ । २०७२ चैत्र महिनादेखि पाइलट प्रोजेक्टका रुपमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अझैपनि ८ जिल्लाका ८० स्थानीय तहमा स्वास्थ्य बीमाको सेवा पुग्न नसकेको देखिन्छ ।

यस बीमा कार्यक्रम अन्तर्गत अति गरिब बीमितको जनसंख्या ४ लाख ५९ हजार ३२६ रहेको छ भने ४ लाख १५ हजार ९९८ ज्येष्ठ नागरिक पनि सहभागि भएका छन् । यसैगरी १२ हजार ७९१ एचआइभी संक्रमित, ५२ हजार ४८५ अति अशक्त अपांग, १ हजार ९१९ जना कुष्ठरोगी, १ हजार ५४७ एमडीआरटी र ४७ हजार २०१ महिला स्वास्थ्य स्वयंसेविका सहभागी भएका छन् ।

  • स्वास्थ्य बीमाको सुविधा कसरी लिने ?

स्वास्थ्य बीमा बोर्डले पाँच जनाको परिवारलाई एउटा युनिट मानेको छ  । यस कार्यक्रम अन्तर्गत एउटा परिवारले ३ हजार ५०० रुपैयाँमा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँछन् । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए थप एकजना बराबर ७०० रुपैयाँ थप गर्नुपर्ने हुन्छ  ।

सरकारले स्वास्थ्य स्वयंसेवीका, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क बीमाको व्यवस्था गरेको छ  । उपचार सुविधाका लागि बोर्डले विभिन्न स्वास्थ्य चौकी र सरकारी अस्पतालसँग सम्झौता गरेको छ  ।

बीमितले उपचार सेवा उपभोग गर्नका लागि बोर्डले सम्झौता गरेको स्वास्थ्य चौकी वा तोकिएको अस्पताल जानुपर्ने हुन्छ  ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।