शे फोक्सुन्डो तालमा वर्ल्डलिंकको निःशुल्क वाइफाइ सेवा


वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शे फोक्सुन्डो तालमा निःशुल्क वाइफाइ सेवा सुरु गरेको छ ।
नेपालको प्रमुख ताल मध्ये कान्जिरोवा हिमालको काखमा अवस्थित समुन्द्री सतहभन्दा करीव ३ हजार ६६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पा जिल्लामा रहेको तालमा निशुल्क वाइफाइ सेवा सुरु गरिएको वर्ल्डलिंकले जनाएको छ ।

नेपालको मुख्य पर्यटकीय स्थल फोक्सुण्डो ताल जसलाई विश्वभर शे फोक्सुण्डो तालको नामले समेत चिनिन्छ । हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठुलो ताल हो । यो ताल मन्त्रमुग्ध सुन्दरताको लागि विश्व प्रसिद्ध छ ।

निःशुल्क वाइफाइ सेवाको उदघाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले संयुक्त रुपमा गरेका छन् ।

वर्ल्डलिंक कम्यूनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने “नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प हुँदैन”, उनले थपे, “गास बास कपाससंग आजको युगमा सूचना प्रविधि पनि जोडिएको छ, इन्टरनेटको प्रयोगले हामी हाम्रो जीवन लाई परिवर्तन गर्न सक्छौ, सूचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञानहासिल गर्ने माध्यम बन्न सक्छ, जुन स्थानमा बाटो घाटो, अस्पतालको अभाव छ सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुन सक्छ ।”

आफू डाक्टर नभए पनि इन्टरनेट बाटै एक जना विमारीको लागि आफनो डाक्टर साथीसंगको सल्लाहले विमारीको उपचार फोक्सुण्डोमै गरेको अनुभव सुनाउँदै अग्रवालले उच्च गतिको इन्टरनेटका लागि वर्ल्डलिंकले डोल्पा जिल्ला सम्म फाइबर विस्तार गर्न तयार रहेको बताए । यसका लागि पुर्वाधार बिस्तारमा भने सरकारले अग्रसरता देखाउनु पर्ने उनको भनाई थियो ।

फाइबरको अभावका कारण फोक्सुण्डो सम्म इन्टरनेट पुरयाउन वर्ल्डलिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको छ ।

कर्णाली प्रदेश प्राकृतिक सुन्दराताले भरिपूर्ण तथा निकै सम्भावना बोकेको प्रदेश रहेको मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले बताए । प्रचुर सम्भावनाको प्रयोग गर्न नसिकिएको बताएका उनले विश्व बजारमा यसको पहिचान गराउन सके मात्र पनि कर्णाली प्रदेशको कायापलट हुने उनको भनाइ थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।