आइटी अडिटको प्रतिवेदन बुझाउन बीमा कम्पनीले थप समय पाउने

0
Shares

बीमा कम्पनीहरुलाई आइटी अडिटको प्रतिवेदन बुझाउने समय थप हुने भएको छ । अधिकांश बीमा कम्पनीहरुले तोकिएको समय नजिकिँदा पनि आइटी अडिटको प्रतिवेदन नबुझाएपछि बीमा समितिले समय थप गर्ने भएको हो ।

समितिद्धारा जारी बीमकको सूचना प्रविधि मार्गदशन अनुसार सञ्चालनमा रहेका ४० वटै बीमा कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आइटी अडिटको प्रतिवेदन बीमा समितिमा पेश गर्नुपर्ने हुन्छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले भने “कतिपय कम्पनीको आएको छ, कतिपयको स्वीकृत हुन बाँकी छ, कतिपयले समय थप गर्ने माग पनि राखेका छन् ।”

कम्पनीहरुले सूचना प्रविधि प्रणालीको परिक्षणको प्रतिवेदन तोकिएको समयभित्र अधिकाशं कम्पनीले नबुझाएको कारण समय थप हुने समिति स्रोतले जानकारी दिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सृर्जित विषम पस्थितिलाई मध्यनजर गर्दै समितिले आव २०७६/०७७ मा गरिएको सूचना प्रविधि प्रणालीको परिक्षणको प्रतिवेदन बुझाउनका लागि चैत्र १५ गतेसम्म अन्तिम मिति तोकेको थियो । सो समय नजिकिदै गर्दा पनि केही कम्पनीले मात्रै आइटी अडिटको प्रतिवेदन बुझाएपछि समिति चैत्र मसान्तभित्र समय थप गर्ने तयारीमा रहेको नोटबजारसँगको कुराकानीमा समितिका एक कर्मचारीले बताए ।

“माथिबाटै चैत्र मसान्तसम्म समय थप गर्ने कुरा आएको छ” । ती कर्मचारीले भने । बीमा कम्पनीहरुका लागि आइटी अडिट नौलो सुरुवात भएका कारण समयमा नै काम अघि बढ्न नसकेको उनको भनाई छ ।

बीमा कम्पनीहरुमा सूचना प्रविधिको सुरक्षामा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै समितिले गत फागुन १४ गते बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६ जारी गरेको थियो । उक्त मार्गदर्शनको परिच्छेद ५ मा कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा सूचना प्रविधिको अडिट गरी सोको प्रतिवेदन समितिमा बुझाउन निर्देशन दिएको थियो ।

समितिमा बुझाउने प्रतिवेदनमा कम्पनीहरुले कम्पनीको नाम, मुख्य कार्यालयको ठेगाना, बीमकको सूचना प्रविधि नीति, डेटा सेन्टर, सूचना प्रविधि विपत व्यवस्थापन केन्द्र, औपचारिक वेभसाइट, औपचारिक मेल, बीमा सफ्टवेयर, बीमा एप्स, सूचना प्रविधि सम्बन्धी अन्य विवरण र सूचना प्रविधि विभाग प्रमुखको विवरण समावेश गर्नुपर्ने हुन्छ ।

यी विभिन्न विषयवस्तु समावेश गरि कम्पनीले बुझाएको प्रतिवेदन पेश भएपछि समितिले हेरेर स्वीृकत गर्ने गर्दछ । आइटी अडिटको प्रतिवेदन बुझाएका कम्पनीमध्ये ज्योति लाइफ इन्स्योरेन्सले बुझाएको प्रतिवेदन मात्रै स्वीकृत भएको समितिले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।