जीवन बीमा कम्पनीले २८ अर्बले बढाए नयाँ व्यवसाय, फागुनमा सवा ३ अर्बले बढ्यो

0
Shares

जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको आठ महिनामा २८ अर्ब रुपैयाँ नयाँ बीमा व्यवसाय विस्तार गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले फागुन मसान्तसम्ममा २८ अर्ब ९ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये फागुनमा मात्रै ३ अर्ब ३१ करोड रहेको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा ६ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमाशुल्क उठाएको हो । जसमध्ये फागुन महिनामा मात्रै कम्पनीले ७३ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको हो ।

नेपाल लाइफ पछि नेशनल, यूनियन र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले धेरै नयाँ व्यवसाय विस्तार गरेका छन् । यी कम्पनीले क्रमशः दुई अर्ब ६१ करोड, दुई अर्ब ३५ करोड र दुई अर्ब ३१ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

चालु आवको फागुन महिनासम्ममा ११ बीमा कम्पनीहरुले एक अर्ब भन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

  • एक अर्ब धेरैको नयाँ व्यवसाय गर्ने एघार जीवन बीमा कम्पनी 

चालु आवको फागुन महिनासम्ममा ११ जीवन बीमा कम्पनीले अर्ब भन्दा माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल लाइफ, नेशनल, यूनियन लाइफ इन्स्योरेन्स कर्पोरशेन (नेपाल), सूर्या, एशियन, रिलायबल, ज्योति, गुँरास, सिटिजन र रिलायन्स लाइफले अर्ब भन्दा माथिको नयाँ व्यवसाय गरेका हुन् ।

नेपाल लाइफले ६ अर्ब ८ करोड, नेशनलले दुई अर्ब ६१ करोड, यूनियनले दुई अर्ब ३५ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले दुई अर्ब ३१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै, सूर्याले १ अर्ब ४६ करोड, एशियनले १ अर्ब ४४ करोड रुपैयाँ, रिलायबलले १ अर्ब ४३ करोड रुपैयाँ, ज्योतिले १ अर्ब २१ करोड रुपैयाँ, गुराँसले १ अर्ब २० करोड रुपैयाँ, सिटिजनले १ अर्ब ११ करोड र रिलायन्सले १ अर्ब ५ करोड रुपैयाँ रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

  • आठ कम्पनीको एक अर्बभन्दा कम

चालु आवको आठ महिनामा ८ वटा कम्पनीले एक अर्ब भन्दा कम प्रथम बीमाशुल्क संकलन गरेका छन् । अर्ब भन्दा कम प्रथम बीमा शुल्क संकलन गर्ने कम्पनीहरुमा मेट लाइफ, प्राइम, आइएमई, सानिमा, प्रभु, सन नेपाल, राष्ट्रिय बीमा संस्थान र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।

मेट लाइफले ९८ करोड रुपैयाँ, प्राइमले ९५ करोड रुपैयाँ, आइएमईले ८३ करोड रुपैयाँ, सानिमाले ८१ करोड रुपैयाँ, प्रभुले ६२ करोड रुपैयाँ, सन नेपालले ६० करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ५८ करोड रुपैयाँ र महालक्ष्मीले ४७ करोड रुपैयाँ प्रथम बीमाशुल्क उठाउन सफल भएका छन् ।

  • फागुन महिनामा ३ अर्ब २१ करोड

चालु आवको आठौं महिना अर्थात फागुन महिनामा मात्रै १९ जीवन बीमा कम्पनीले ३ अर्ब २१ करोड रुपैयाँको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

फागुन महिनामा १९ वटै जीवन बीमा कम्पनीले एक अर्ब भन्दा कम प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

समितिले उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले ७३ करोड रुपैयाँ बीमाशुल्क उठाएको छ । नेशनल लाइफले ३३ करोड, यूनियनले ३२ करोड रुपैयाँको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

  • प्रथम बीमाशुल्क भनेको के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम (एफपिआर) रकम हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमाशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् । त्यस्तै, थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नवीकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नविकरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरक/फरक हुन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।