चक्रपथ भित्र ‘अफिस आवर’मा सबै सवारी साधनमा जोर बिजोर प्रणाली जरुरी – महासंघ उपाध्यक्ष श्रेष्ठ


अहिले राजधानीमा नीजि सवारी सधनको चाप दिनदिनै बढ्दै गइरहेको छ । अझ गत वर्षबाट सुरु भएको कोरोना महामारीका कारण सार्वजनिक यातायात छाडेर निजी सवारी चलाउनेको संख्या बढेसँगै राजधानीका सडकमा सवारी साधनको संख्या तिब्र गतिमा बढिरहेको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले राजधानीका सडकमा दैनिक १६ लाखभन्दा बढी सवारी साधन चल्ने गरेका छन् । यो आँकडा दुई पाङ्ग्ररे र चार पाङ्ग्रे सवारी साधनको हो । बिहान र साँझ कार्यालय समयमा राजधानीका सडकमा सवारी साधनको चाप औसतमा धेरै हुने गरेको छ ।

विभिन्न स्थानमा सडक चौडा पार्ने काम भईरहेको भए पनि चोक तथा दाँया मोड्ने स्थानहरुको उचित व्यवस्थापन हुन नसक्दा राजधानीमा ओहोरदोहोर गर्नेले घण्टौं जाम खेप्नु परिरहेको छ ।

कार्यालय समयमा धेरै हुने सवारी चापका कारण केही वर्ष अघिदेखि मालवाहक सवारी साधनलाई चक्रपथ भित्र कार्यालय समयमा ग्ड्न रोक लगाइएको छ । उक्त समयमा निजी तथा भाडाका सवारी साधनलाई मात्र चक्रपथ भित्र निर्बाध सञ्चालनको व्यवस्था गरिएको छ भने मालवाहक सवारी साधनलाई निषेध गरिएको छ । दैनिक ५ देखि ७ हजार हाराहारीमा यस्ता सवारी साधन सञ्चालनमा आउने गरेको तथ्यांक छ ।

यसबाट विभिन्न स्थानमा सामान ढुवानी गर्नेहरु प्रभावित भएको गुनासो उठ्दै आएको छ । व्यवसायिक प्रयोजनका साथै सबै किसिमका सामान ओसार्नका लागि कार्यालय समयमा सवारी चलाउन नपाउँदा यसमा आश्रित रोजगारी पाएकाहरु मात्र नभई उद्योगी व्यवसायी समेत प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासंघले निष्कर्ष निकालेको छ । लाखौंको संख्यामा गुड्ने सवारी साधनको भिडमा केही हजारको संख्यामा गुड्ने मालवाहक सवारीले कार्यालय समयमा नै पनि धेरै असर नपार्ने भन्दै महासंघले सबै सवारी साधनको व्यवस्थापनमा जोड दिएको छ ।

यसै सन्दर्भमा केही दिन पहिले मात्र उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा उद्योगी व्यवसायी तथा ढुवानी व्यवसायीले ट्राफिक प्रहरी महाशाखा पुगेर समस्याका विषयमा अवगत गराएका छन् । महाशाखामा भएको छलफलका क्रममा व्यवसायिक उत्पादनहरु चक्रपथ भित्र ढुवानी गर्न असहज भएको भन्दै यसको व्यवस्थापनका लागि आग्रह गरेको महासंघ उपाध्यक्ष दिनेश श्रेष्ठले नोटबजारलाई बताए ।

अन्य सवारी साधन सरह ढुवानीका सवारी साधन सञ्चालन पनि महत्वपूर्ण भएकाले सबै सवारी साधनलाई एकनासको व्यवहार गरिनु पर्नेमा उनीहरुले जोड दिएका थिए । कार्यालय समय भनेर तोकिएको अवधिमा सबै सवारी सधनमा जोर बिजोर प्रणाली कार्यान्वायन गरेर समस्याको समाधान गर्न सकिने सुझाव उनीहरुले दिएका थिए ।

यस सम्बन्धमा महाशाखाले सवारी साधनको चाप धेरै भएकाले कार्यालय समयमा मालवाहक सवारीलाई निषेध गरिएको प्रतिकृया जनाएको थियो । यद्यपी उद्योग व्यवसायीबाट आएको सुझाव तथा गुनासो उपर छलफल गरी समस्या समाधानका लागि पहल गर्ने र सोका लागि यातायात व्यवस्था विभागसँग समेत परामर्श गर्ने महाशाखाले जनाएको छ ।

उता उद्योगी व्यवसायीले पनि यातायात व्यवस्था विभागमा यो विषय जोड तोडका साथ उठान गर्ने बताएका छन् । महासंघ उपाध्यक्ष श्रेष्ठले भने “अरु सवारी साधनलाई छाडेर मालवाहक सवारी सञ्चालनको समय तोकिँदा लागत बढ्ने मात्र नभई रातको समयमा मात्र गन्तव्यमा सामान पुग्ने अवस्था देखियो । हेर्दा ढुवानी व्यवसाय मात्र प्रभावित भएकोजस्तो देखिए पनि यसले समग्र व्यवसायलाई प्रभावित पारेको छ” श्रेष्ठले थपे “उचित विकल्प खाजेर बसैलाई पनि समस्या नहुने वाताबरण बनाउन जरुरी छ । यसका लागि हामी विभागका साथै सम्बद्ध पक्षसँग छलफललाई तिब्रता दिन्छौं ।”

कार्यालय समयमा सडक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे हम्मे परिरहेको छ । अहिलेकै अवस्थामा कार्यालय समयमा मालवाहक सवारी पनि चक्रपथ भित्र निर्वाध चल्न दिँदा ट्राफिक जाम अधिक हुने निश्चित छ । यस्तो अवस्थामा कार्यालय समयमा सडकमा गुड्ने सबै सवारी साधनमा जोर बिजोर प्रणाली अबलम्बन गर्ने हो भने अहिलेको ट्राफिक समस्या पनि समाधान हुने देखिन्छ ।

पछिल्लो केही वर्ष यता चक्रपथ भित्र चल्ने अत्यावश्यक बाहेकका सबै किसिमका मालवाहक सवारी साधनलाई बिहान ९ देखि ११ बजेसम्म सञ्चालनमा रोक लगाइँदै आएको छ । साँझको समयमा भने गर्मीमा ४ः३० देखि ७ र जाडोको समयमा ४ देखि ६ बजेसम्म यस्ता सवारी साधनको सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

यस्तो प्रतिबन्धका कारण उद्योगी व्यवसायी मात्र नभई ढुवानी व्यवसायी र यसमा आश्रित रोजगार पाएकाहरु समेत प्रभावित हुँदै आएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।