भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीको संस्थापक शेयर स्थापना भएको मितिले ५ वर्षसम्म खरिद बिक्री गर्न नपाईने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कम्पनीहरुलाई संस्थागत सुशासन सम्बन्धी व्यवस्था गर्दै शेयर कारोबारमा रोक लगाएको हो ।
राष्ट्र बैंकले भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीले अनुमती पाएको ५ वर्षसम्म संस्थापक शेयर खरिद बिक्री गर्न नपाइने व्यवस्था गरेको भएपनि पूँजी वृद्धिका लागि नयाँ संस्थापक थप गर्न भने दिने भएको छ । त्यसैगरी संस्थापक शेयरको खरिद बिक्री वा नामसारी गर्नु पुर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । यसरी अनुमतीका लागि केन्द्रीय बैंकमा निवेदन दिँदा सञ्चालक समितिको सिफारीस हुनु पर्नेछ ।
केन्द्रीय बैंकले भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीलाई संस्थागत सुशासनको व्यवस्था गर्दै सञ्चालकको कार्यभार सम्हाल्नु भन्दा पहिले संस्थासंग वित्तीय स्वार्थ भए नभएको विषयमा सञ्चालक समितिलाई लिखित रुपमा जानकारी गराउन निर्देशन दिएको छ । त्यसैगरी सञ्चालकले आफ्नो संस्थाका व्यवस्थापकीय काम कारबाहीमा हस्तक्षेप गर्नु हुँदैन । सञ्चालकले आफ्नो संस्थाको हित विपरीत हुने काम गर्न नहुने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ ।
कुनै पनि सञ्चालकले अधिकार क्षेत्र नाघि गरेको कुनै पनि काम कारबाही प्रति व्यक्तिगत रुपमा आफै उत्तरदायी हुनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थामा सञ्चालक रहेको व्यक्ति एकै पटक अर्को अनुमती प्राप्त संस्थाको कुनै पनि पदाधिकारी रहन नसक्ने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ ।
सञ्चालकले आफु सम्बद्ध संस्थाबाट कुनै पनि प्रकारको पेश्की तथा ऋण सुविधा लिन पाउने छैनन् । यसभन्दा अघि कुनै सञ्चालकले यस्तो सुविधा लिएको भए सो रकम २०७८ बैशाख मसान्तससम्ममा फस्र्यौट गरिसक्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । सञ्चालक समिति हेरफेर भएमा सात दिन भित्र केन्द्रीय बैंकमा जानकारी गराउनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
भुक्तानी सम्बन्धी काम गर्ने संस्थाको प्रमूख कार्यकारीले छोडेको वा करार सकिएको अवस्थामा सात दिन भित्र राष्ट्र बैंकलाइ जनकारी गराउनु पर्ने भएको छ । कार्यकारी प्रमूख रिक्त भएको तीन महिना भित्र नियुक्त गरिसक्नु पर्छ । कार्यकारी प्रमूख लगायतार ७ दिन विदा बस्ने वा देश बाहिर जाने भएमा राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने निर्देशनमा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया