आइटी अडिटको प्रतिवेदन बुझाउन बीमा कम्पनी उदासीन

0
Shares

आइटी अडिटको प्रतिवेदन बुझाउन बीमा कम्पनी उदासीन देखिएका छन् । बीमा समितिले आइटी अडिटको प्रतिवेदन बुझाउने समय पटक पटक थप गरिहँदा पनि बीमा कम्पनीहरु सो प्रतिवेदन बुझाउन अटेरी गरेका हुन् ।

समितिले आइटी अडिटको प्रतिवेदन बुझाउन दोस्रो पटक समय थप गर्दा समेत ७ वटा कम्पनीले मात्रै प्रतिवेदन बुझाएका हुन् ।समितिद्धारा जारी बीमकको सूचना प्रविधि मार्गर्दशन अनुसार सञ्चालनमा रहेका ४० वटै बीमा कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आइटी अडिटको प्रतिवेदन बीमा समितिमा पेश गर्नु पर्ने हुन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सृर्जित विषम पस्थितिलाई मध्यनजर गर्दै समितिले आव २०७६/०७७ मा गरिएको सूचना प्रविधि प्रणालीको परिक्षणको प्रतिवेदन बुझाउनका लागि चैत्र १५ गतेसम्म अन्तिम मिति तोकेको थियो । थपिएको सो समयमा पनि कम्पनीहरुले प्रतिवेदन नबुझाए पछि पुन: समय थप गरिएको समितिले जानकारी दिएको छ । समितिले चैत्र मसान्तसम्म समय थप गरेको हो ।

नयाँ अभ्यास भएका कारण कम्पनीहरुले तोकिएको समयमा नै प्रतिवेदन बुझाउन नसकेको हुनसक्ने समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको अनुमान छ ।

कम्पनीहरुले किन समयमा नै बुझाउन नसकेको जानकारी लिन बीमा कम्पनीहरुसँग छलफल गरिने उनले बताए । “कम्पनीहरुले समयमा नै प्रतिवेदन बुझाउन नसक्नुमा पहिलो कारण नयाँ अभ्यास हुन सक्छ, एक त कम्पनीहरुमा क्षमता पनि छैन्, अन्य के कारणले कम्पनी अल्झिए, कम्पनीसँग हामी छलफल गर्ने छौँ” उनले भने । समितिले तोकेको कानूनभित्र किन काम गर्न नसकेको बुझनका लागि कम्पनीहरुसँग बसेर कुरा गर्ने उनले बताए । कम्पनीहरुले सोको प्रतिवेदन बुझाउन थालेको बताउँदै उनले चैत्र मसान्तभित्र सबै बीमा कम्पनीलाई आइटी अडिटको प्रतिवेदन बुझाउन समय थप गरेको बताए ।

अन्तराष्र्टिय स्तरमा कम्पनीहरुलाई आइटी अडिटको काम नौलो नभए पनि आफुहरुलाई नौलो अभ्यास रहेको कम्पनीहरुले बताउँदै आएका छन् । राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि पाठकले आइटी अडिटको प्रतिवेदन बुझाउनका लागि अभ्यास गरिरहेको जानकारी दिए । समितिले आइटी अडिट गर्न सबै कम्पनीलाई दिएको निर्देशन कम्पनीहरुका लागि राम्रो हुने उनले बताए । कम्पनीहरुले प्रयोगमा ल्याएको सफ्ट्वेयरको सुरक्षा कस्तो छ जानकारी लिनका लागि समितिले दिएको निर्देशनले कम्पनीहरुलाई सहयोग पुग्नेमा उनले जोड दिए ।

कम्पनीहरुले प्रयोग गर्दै आएका हार्डवेयर तथा सफ्ट्वेयरको अवस्था के छ भनेर परीक्षण गर्नका लागि इजाजतपत्र प्राप्त सूचना प्रविधि सम्बन्धी परीक्षकबाट परीक्षण गर्नु पर्ने हुन्छ । तर, समितिले पटक पटक समय थप गर्दा समेत कम्पनीहरुले त्यस्ता कम्पनीसँग आइटी अडिट गर्नका लागि सम्झौता नै गर्न नसकेको समितका एक कर्मचारीले बताए ।

बीमा कम्पनीहरुमा सूचना प्रविधिको सुरक्षामा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै समितिले गत फागुन १४ गते बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६ जारी गरेको थियो । उक्त मार्गदर्शनको परिच्छेद ५ मा कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा सूचना प्रविधिको अडिट गरि सोको प्रतिवेदन समितिमा बुझाउन निर्देशन दिएको थियो ।

बीमा कम्पनीहरुका लागि आइटी अडिट नयाँ सुरुवात भएका कारण समयमा नै काम अघि बढ्न नसकेको समितिको भनाई छ । नयाँ अभ्यास र कोरोना महामारीको कारण बीमा कम्पनीहरुको यो काममा ढिलाई आएको समितिले जनाएको छ । ईतिहासमा नै बीमा कम्पनीहरुमा आइटी अडिटको अभ्यास नौलो रहेको समितिको तर्क छ ।

समितिले जारी गरेको निर्देशिका बमोजिम हालसम्म ४० कम्पनीमध्ये ७ वटा कम्पनीले मात्रै आइटी अडिटको प्रतिवेदन बुझाएका छन् । सो मध्ये ज्योति लाइफले बुझाएको प्रतिवेदनलाई समितिले स्वीकृत गरेको छ ।

सूचना प्रविधि परीक्षणको प्रतिवेदन बुझाउँदा कम्पनीहरुले कम्पनीको नाम र मुख्य कार्यालयको ठेगाना, बीमकको सूचना प्रविधि निति, डेटा सेन्टर, सूचना प्रविधि विपत व्यवस्थापन केन्द्र, औपचारिक वेभसाइट, औपचारिक मेल, बीमा सफ्टवेयर, बीमा एप्स, सूचना प्रविधि सम्बन्धी अन्य विवरण र सूचना प्रविधि विभाग प्रमुखको विवरण समावेश गर्नु पर्ने हुन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।