खेलकुद प्रबद्र्धन मार्फत पनि विदेशी मुद्रा आर्जन गर्न सकिन्छ :गभर्नर


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रसंग जोडिएका गल्फ लगायत खेलकुद प्रबद्र्धन गर्न सके विदेशी मुद्रा आर्जन गर्न सकिने बताएका छन् । देशमा आवश्यकता अनुसारले गल्फ कोर्टहरू बनाई यो खेलको विकासमा लाग्नुपर्ने गभर्नर अधिकारीको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्श ७० औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले आयोजना गरेको गल्फ प्रतियोगिताका विजयी महिला तथा पुरुष खेलाडीलाई पुरस्कार प्रदान गर्दै गभर्नर अधिकारीले खेल पर्यटन पनि आर्थिक उन्नयनका निम्ति उपयोगी बन्न सक्ने बताएका हुन ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले आउँदा वर्षहरूमा ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ लाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरण गरिने बताए । उनले गल्फ लगायत खेलकुदमार्फत पर्यटनको विकासमा सरकारसँग हातेमालो गर्न निजी क्षेत्र तयार रहेको बताए ।

रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले नेपाललाई गल्फ पर्यटनको केन्द्र बनाउन सकिने बताए । थाइल्यान्डले गल्फ पर्यटनबाट हरेक वर्ष १० लाख पर्यटकहरू आकर्षित गरी ६ बिलियन अमेरिकी डलरको वार्षिक व्यापार गरिरहेको उदाहरण दिँदै उनले नेपालले यसबाट प्रेरणा लिन सक्ने बताए । नेपालको मौसम, जलवायु, प्राकृतिक सुन्दरता, भूगोल र मित्रवत् नागरिकका कारण गल्फ पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

पूर्व सचिव अर्जुन कुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि जितेका छन । उनले नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणमा रोयल नेपाल गल्फ क्लबमा ४१ स्कोर कार्डसहित उपाधि जितेका हुन । स्टेबल फोर्ड ३÷४ ह्यान्डीक्याप फम्र्याटमा भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार २३ स्कोर बनाएका कार्कीले दोस्रो दिन शनिबार १८ स्कोर जोड्दै उपाधि जितेका हुन । ३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बनेका छन् ।

महिलातर्फको उपाधि गीता गुरुङले ३८ स्कोरका साथ जितेकी छन । त्यसैगरी रेखा घिमिरे ३५ स्कोरसहित उपविजेता भएको चेम्बरले जनाएको छ । सिनियर पुरुषतर्फको उपाधि पूर्व सेनाप्रमुख जनरल गौरव शमशेर राणाले जितेका छन भने सिनियर पुरुषतर्फ दिलीपजंग रायमाझी उपविजेता बनेका छन् ।

चेम्बरतर्फको उपाधि एसएसपी अशोक सिंहले जित्दा उपविजेता पवित्र कुमार कार्की भएका छन् । प्रतियोगितामा उत्कृष्ट ग्रस र मस्ट बर्डिजको उपाधि हृदेश कुमार सिंहले जितेका छन् । लङ्गेस्ट ड्राइभको उपाधि श्रीजय आचार्यले जित्दा क्लोजेस्ट टु पिनको उपाधि तेज बहादुर राईले जितेका छन् ।

नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबको संयुक्त आयोजनामा भएको दुई दिने प्रतियोगितामा ८८ जना खेलाडीको सहभागिता रहेको थियो । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी अनुसार प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।