नेप्सेमा सामान्य सुधार आउँदा बजार पुँजीकरण ऐतिहासिक, धितोपत्र बजार ३७ खर्बको


धितोपत्रको दोस्रो बजार आकार हालसम्मकै ठुलो भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार सूचक करिब २ अंकले बढ्दा कुल बजार पुँजीकरण पनि ३७ खर्ब भन्दा माथि पुगेको हो ।

यो साताको मंगलबार नेप्से सूचक हालसम्मकै उच्च अंक २६७४.४७ अंकमा पुगेको थियो । सो दिन पनि नेप्सेको कुल बजार पुँजीकरण भने ३६ खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो । तर, बिहीबार बजार सूचक २ अंकले मात्र बढेको भएपनि हालसम्मको उच्च विन्दु भन्दा दशमलब पछिको अंकमा मात्र फरक परेको छ । बिहीबार नेप्से सूचक २६७४.३५ अंकमा बन्द भएको छ । बिहीबार नेप्सेको कुल बजार पुँजीकरण ३७ खर्ब २ अर्ब रुपैयाँ कायम भएको छ ।

नेप्सेको यो बजार पुँजीकरण हालसम्मकै उच्च हो । नेप्से परिसूचक बढ्दा बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण मानिन्छ ।

बजार पूँजीकरण बढ्नु भनेको ती दिनमा किन्ने लगानीकर्ताको लागि नाफा भएको बुझिन्छ । बजार पूँजीकरण बढ्नु भनेको शेयरधनीको सम्पत्ति बढेको हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ । नेप्से परिसूचक, बजार पूँजीकरण र कारोबार रकम सबैमा सुधार आउनु भनेको शेयर लगानीकर्ताका लागि सकारात्मक हो ।

पछिल्लो समयमा धितोपत्र बजार नयाँ र ठुला कम्पनी समेत थपिएको हुदाँ कुल बजार पुँजीकरण बढ्नमा थप मद्दत गरेको छ । तरपनि बजार सूचकले बनाएको नयाँ उचाइ नै कुल बजार पुँजीकरण उच्च भएको हो । पछिल्लो समयमा वित्तीय प्रणालीमा पुनरकर्जाको रकम आएपछि दबावमा रहेको तरलताको अवस्था सहज हुदै गएको छ । त्यसले गर्दा पनि घट्ने अनुमान गरिएको बजार पुन नयाँ उचाइ तर्फ गएको हो । वित्तीय प्रणालीमा तलरता अधिक भएको अवस्थामा शेयर बजारमा लगानी बढ्ने गर्छ । त्यसको मूख्य कारण भनेको तरलता धेरै भएको समयमा ब्याजदर घट्ने हुनाले पनि धितोपत्र बजारमा लगानी बढ्न जान्छ ।

बिहीबार बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा आएको सुधारले पनि समग्र बजार सूचकमा सुधार सम्भव भएको हो । नेप्सेमा कारोबार भएका समुहगत सूचक मध्ये बैंकिङ, विकास बैंक, वित्त तथा लघुवित्त समूहमा सुधार आएको छ । नेप्सेमा कारोबार भएका मध्ये बैंकिङ १.८९, विकास बैंक २०.६२, होटल तथा टुरिजम २९.७९, वित्त ३९.४३, माइक्रो फाइनान्स १०६.१३, जीवन बीमा ९१.९८ तथा सामुहिक लगानी कोष ०.०२ अंकले बढेका छन् । तर, व्यपार ३२.०१, जलविद्युत २३.३३, अन्य २२.५१, लगानी ०.४३, निर्जीवन बीमा ६२.६३, र उत्पादन मूलक समूह २८.७७ अंकले घटेका छन् ।

बिहीबार नेप्सेमा २०७ कम्पनीको ७१ हजार २४१ कारोबारबाट ६ अर्ब ५५ करोड रुपैयाँ बरावरको एक करोड ३३ लाख ७६ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम नेप्सेको औसत दैनिक भन्दा धेरै हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।