एकल बीमालेखमा बीमा समितिको नयाँ व्यवस्था: बीमा गरेको ३ वर्षसम्म ‘सरेण्डर’ गर्न नपाईने


एकल बीमालेखमा बीमा समितिले नयाँ व्यवस्था गरेको छ । समितिले कम्पनीहरुलाई एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी भएका बीमालेखहरु अन्तरगत जारी भएको मितिले तीन वर्षसम्म समर्पण (त्याग) गर्न नपाईने व्यवस्था गरेको छ । योसँगै बीमितले तीन वर्ष पुरा नभई बीमा ‘सरेण्डर’ गर्न नपाउने भएका छन् ।

समितिले चैत २४ गते इजाजतपत्र सबै जीवन बीमा कम्पनीलाई परिपत्र जारी गर्दै एकल बीमालेखसम्बन्धी उक्त निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।

बीमा समितिले बीमालेख जारी भएको ३ वर्ष अवधि पुरा नहुञ्जेल पोलिसी धितो राखेर कर्जा दिन पनि रोक लगाएको छ । समितिले निर्देशन मार्फत ३ वर्ष अवधि पुरा भएका बीमालेखलाई मात्र बीमालेख धितोमा कर्जा दिन निर्देशन दिएको हो ।

समितिले जारी गरेको नयाँ व्यवस्था अनुसार एकल बीमालेख खरिद गरेका बीमितले बीमालेख जारी भएको तीन वर्षसम्म पोलिसी त्याग गर्न पाउने छैनन् । त्यस्तै पोलिसी जारी भएको तीनवर्ष पछि मात्रै बीमालेख धितोमा कर्जा पाउने भएका छन् ।

“एकल बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग गर्न पाउने तथा एक वर्षमा नै पोलिसी धितोमा कर्जा पाउने व्यवस्था थियो, नयाँ व्यवस्थाबमोजिम बीमितले तीन वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन्” पौडेलले नोटबजारलाई बताए ।

पछिल्लो समय बीमा कम्पानीहरुमा एकल बीमालेखमा देखिएका वेतिथि रोक्नका लागि यस्तो व्यवस्था गरिएको उनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।