एनआइसी र ग्लोबल बैंकमा मुद्दती निक्षेप खर्ब बढी, ब्याज खर्च पनि उच्च

0
Shares

वाणिज्य बैंकहरु मध्ये एनआइसी एशिया र ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेपमा अन्य बैंकहरुको भन्दा धेरै रकम रहेको छ । बैंकहरुको कुल निक्षेपमा मुद्दती निक्षेपको अंश क्रमशः ५१ र ४६ प्रतिशत छ ।

चालु आर्थिक वर्षको फागुनसम्मको तथ्याङकका आधारमा एनआइसी एशिया बैंकको मुद्दती निक्षेपमा एक खर्ब ४६ अर्ब र ग्लोबल आइएमई बैंकको एक खर्ब १८ अर्ब रुपैयाँ छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको १७ खर्ब ६६ अर्ब रुपैयाँ मुद्दत्ती निक्षेपमा रहेको छ । एनआइसी एसिया बैंक र ग्लोबल आइएमई बैंकको मुद्दती खातामा रहेको रकम बैंकहरुको कुल मुद्दती निक्षेपको १७.९५ प्रतिशत हो । यो अवधिमा बैंकहरुको कुल निक्षेप ३८ खर्ब २६ अर्ब रुपैयाँ रहेकोमा औसतमा करिब ४६ प्रतिशत रकम मुद्दती निक्षेपमा छ ।

यो अवधिमा बैंकहरुको करेन्ट एकाउन्टमा ३ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ भने बचत खातामा १२ खर्ब ८६ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी २७ वाणिज्य बैंकको कल एकाउन्टमा ३ अर्ब रुपैयाँ रहेको छ । चालु आवको फागुनसम्ममा बैंकहरुको कुल निक्षेपमा कुल निक्षेपको औसत अंश ८.५ प्रतिशत रहेको छ ।

त्यसैगरी कुल निक्षेपमा बचत खाताको अंश ३३.९७ र करेन्ट अकाउन्टको रहेको निक्षेपको अंश ९.१५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई कल निक्षेपको अंश कुल निक्षेपको १० प्रतिशत भन्दा माथि हुन नहुने सीमा तोकेको छ । तर, अन्य खातामा रहेको निक्षेपको हकमा भने कुनै सीमा तोकेको छैन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको कल एकाउन्टमा रहेको रकम नेपाल राष्ट्र बैंकको सीमा भन्दा माथि रहेको छ । यो अवधिमा बैंकको कुल निक्षेपको ११.९३ प्रतिशत अर्थात १९ अर्ब ६५ करोड रुपौयँ कल एकाउन्टमा रहेको छ । रकमका आधारमा एनआइसी एसिया बैंकको बैंकको कल एकाउन्टमा सबैभन्दा धेरै २२ अर्ब ८७ करोड रुपैयाँ भएपनि बैंकको कुल निक्षेप नै धेरै भएकाले प्रतिशतमा १० प्रतिशतको सीमा भन्दा तल रहेको हो ।

त्यसैगरी राष्ट्रि वाणिज्य बैंकको करेन्ट एकाउन्ट र सेभिङ एकाउन्ट सबैभन्दा धेरै रकम रहेको छ । फागुनसम्ममा बैंकको करेन्ट एकाउन्टमा ५१ अर्ब ५७ करोड रुपैयाँ रहेको छ भने सेभिङ एकाउन्टमा एक खर्ब १७ अर्ब रुपैयाँ रहेको छ ।

फागुनसम्ममा बैंकहरुले कुल २ खर्ब ८ अर्ब रुपैयाँ ब्याज आम्दानी गरेका छन् । यो अवधिमा बैंकहरुले सेभिङ एकाउन्टका लागि २४ अर्ब २८ करोड रुपैयाँ ब्याज खर्चेका छन् । त्यसैगरी मुद्दती निक्षेपका लागि ९६ अर्ब रुपैयाँ र कल अकाउन्टको निक्षेपका लागि २ अर्ब ६७ करोड रुपैयाँ ब्याज खर्च गरेका छन् । बैकहरुले फागुनसम्ममा ४ अर्ब ५२ करोड रुपैयाँ अन्य ब्याज खर्च गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मुद्दती निक्षेपमा धेरै रकम हुने बैंकले कर्जा पनि धेरै प्रबाह गर्न सक्छ । तर, पछिल्लो समयमा कोरोनाका कारण कर्जा प्रबाह सोचे अनुसारको नभएकाले बैंकहरुले यो अवधिमा मुद्दती निक्षेपमा रहेको पैसालाई ब्याज तिर्नु भने पर्छ नै । बैंकहरुले कल तथा बचतको ब्याजदर जसरी मुद्दती निक्षेपको भने घटाउदैनन् ।

बैैंकहरुले कोरोनाका कारण लगानी गर्ने अवसर नहुने र निक्षेप आइरहने हुदाँ ब्याज खर्च बढ्यो । तर, बैंकहरुले बचत, कल तथा करेन्टको ब्याजदर तत्काल नै घटाएको भएपनि मुद्दतीको ब्याजदर पहिल्य नै फिक्स गरेको हुनाले घटाउन सम्भव भएन । बैंकहरुले बचतकर्तालाई प्रतिफल नदिएको भन्दै केन्द्रीय बैंकले समय बचत तथा मुद्दती निक्षेपको ब्याजदर अँतर ५ प्रतिशत कायम गर्न निर्देशन पनि दियो । त्यो समयमा बैंकहरुले मुद्दतीको पसन घटाएर बचतको एक प्रतिशतमा नै कायम राखे ।

मुद्दती निक्षेप धेरै भएको संस्थाको कष्ट अफ फण्ड समेत धेरै पर्ने हुदाँ कर्जाको ब्याजदर समेत महंगो हुन पुग्छ । तर, मुद्दती निक्षेप निश्चित समय अवधिका लागि हुने भएकाले यसले बैंकहरुलाई स्रोत व्यवस्थापनमा हुने जोखिम न्यून हुन्छ । त्यसैले यो अवधिमा एनआइसी एसिया बैंक र ग्लोबल आइएमइ बैंकको मुद्दती निक्षेपको हिस्सा धेरै भएकाले ब्याज खर्च पनि अन्यको तुलनामा धेरै रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।