विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले मानव स्वास्थ्य जीवनमा मात्रै नभई सामाजिक, आर्थिक रुपमा समेत असर पार्यो ।
कोभिड १९ बाट सुरक्षित रहनका लागि विश्व स्तरमा गरिएको लकडाउनको मोडालिटिलाई नेपालले पनि अवलम्बन गर्यो । जसका कारण उद्योग, कलकारखाना बन्द रहन पुगे । सो समयमा बीमा कम्पनीहरु समेत लामो समयसम्म बन्द रहे ।
कोरोनाका कारण बन्दाबन्दीको अवस्थामा परे पनि वर्ष २०७७ मा बीमा कम्पनीहरुको व्यवसाय सन्तोषप्रद नै रह्यो । कारण थियो कम्पनीहरुले अनलाइन कारोबारलाई आत्मसाथ गर्नु । कोरोनाका कारण बन्दाबन्दीको अवश्थामा पनि कम्पनीहरुले अनलाईन मार्फत बीमा नवीकरण, बीमा दाबीको काम सुचारु नै राखे ।
बीमा व्यवसायको इतिहासलाई हेर्ने हो भने पछिल्लो समय बीमा क्षेत्र व्यापक हुँदै गएको छ । चालु आवको फागुन महिनासम्म बीमाको पहुँचमा आएको जनसंख्या २३.८ प्रतिशत पुगेको छ । यस्तो जनसंख्या वैदेशिक रोजगार बीमालेख समेत समावेश गर्दा २५.८ प्रतिशत रहन आउँछ ।
कुल ग्राह्स्थ उत्पादनमा बीमा क्षेत्रको योगदान ३.५ प्रतिशत रहेको छ । फागुन महिनासम्ममा बीमा कम्पनीहरुले एक खर्ब दुई अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा एक करोड एक लाख ७६ हजार २९० बीमालेख जारी भएका छन् ।
- वर्ष २०७७ मा बीमा क्षेत्रमा समितिद्धारा भएका प्रमुख काम
बीमा समितिले २०७७ मा नयाँ अध्यक्ष पायो । सरकारले बीमा समितिको अध्यक्षमा पूर्व सचिव सूर्य प्रसाद सिलवाललाई नियुक्त गर्यो ।
बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले बीमा कम्पनीहरुका लागि विभिन्न निर्देशिका पनि जारी गर्यो । समितिले कोरोना बीमालेख, कृषि तथा पशुपन्छी बीमा निर्देशिका परिमार्जन, इजाजतपत्र सबै बीमा कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका जारी गर्यो ।
समितिले बीमा कम्पनीहरुमा हुने गरेका कामकाजलाई प्रत्यक्ष रुपमा नियाल्नका लागि कम्पनीहरुको स्थलगत निरीक्षणको काम, कम्पनीहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दियो ।
- संसदबाट बीमा ऐन पारित हुन सकेन
बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा विद्येयक वर्ष २०७७ मा पनि पारित भएन । मुलुकमा भित्रिएको कोरोना भाइरस र अस्थिर राजनीतिका कारणले संसदबाट बीमा ऐन पारित हुन सकेन ।
- स्वास्थ्य बीमा ७५ जिल्लामा पुग्यो
सरकारले नागरिकको स्वास्थ्य उपचारसम्बन्धी अधिकारलाई बीमा मार्फत सुनिश्चित गर्नका लागि आर्थिक वर्ष ०७१÷७२ को बजेट मार्फत घोषणा गरेको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगेको छ ।
- ६ नयाँ कम्पनीको आइपीओ जारी
वर्ष २०७७ मा सञ्चालनमा आएका नयाँ तीन जीवन तथा तीन निर्जीवन बीमा कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) जारी गरे ।
जीवन बीमा कम्पनीहरुमा रिलायन्स लाइफ, प्रभु लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले आइपीओ जारी गरेका हुन् । निर्जीवन बीमा कम्पनीतर्फ अजोड, सानिमा जनरल र जनरल इन्स्योरेन्सले आइपीओ जारी गरे ।
जारी पूँजीको ३० प्रतिशत साधारण शेयर जारी गरेका कम्पनीहरुले कुल रुपैयाँ बराबरको शेयर जारी गरेका हुन् । नयाँ बीमा कम्पनीको शेयरमूल्य उच्च रुपमा बढेर पुराना कम्पनीहरुको भन्दा माथि पुगेपछि आईपीओ पाउने लगानीकर्ताहरुले बीमा कम्पनीहरुको आइपीओबाट राम्रै आम्दानी गरे ।
- कोरोना बीमालेखले बीमा क्षेत्रमा पारेको प्रभाव
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नेपालमा प्रवेश गरेपछि बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले उक्त भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न भन्दै कोरोना बीमालेख जारी गर्यो ।
समिति र कम्पनी मिलेर ल्याएको उक्त बीमा योजना प्रति आकर्षण बढ्दै गयो बीमा गर्ने व्यक्तिलाई कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको ७ दिनमा नै दाबी भुक्तानी यस बीमालेख प्रति मान्छेहरुको आकर्षण पनि बढ्दै गयो । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि बीमा कम्पनीहरुमा लोकप्रियता छाउँदै गएको उक्त बीमा योजना कम्पनीहरुलाई नै घातक हुन पुग्यो ।
संक्रमणको संख्या बढ्न थालेपछि दुई महिना नहुँदै कम्पनीहरूले पोलिसी जारी गर्न नै छाडे । महामारीको आकंलन नगरी बीमाको सिद्धान्त विपरीत सस्तो र लोकप्रियताका लागि समितिले ल्याएको बीमा योजना मन लाग्दा जारी गर्ने र मन नलाग्दा बन्द गरियो । गत वर्षको २३ जेठमा समितिले कम्पनीहरूलाई परिपत्र जारी गरी रोकिएको कोरोना बीमालेख शुरु गर्न निर्देशन दियो । कोरोना बीमाको दाबी भुक्तानीको दायित्व बीमा कम्पनी, पुनर्बीमा कम्पनी र सरकारमा बाँडफाँड गरि पुनः सुचारु गरियो ।
नेपालमा उसै त बीमा गर्ने परिपाटीको विकास छैन । बीमा कम्पनीहरुले समयमा नै दाबी भुक्तानी नदिने, बीमा वापतको दाबी रकम पाउनका लागि अनेकौँ झन्झट खेप्नुपर्ने हुनाले बीमा प्रति आकर्षण नभएको अवस्थामा कोरोना बीमाले झनै प्रभाव पार्यो । कोरोना बीमा गर्ने बीमितले दाबी गरेको महिनौँ वित्दा समेत भुक्तानी नपाउँदा बीमा प्रतिको जनविश्वास टुट्दै गएको छ ।
वर्ष २०७७ बीमा क्षेत्रका लागि समग्रमा उपलब्धीमुलक रह्यो । नेपालमा अझै पनि स्वइच्छाले बीमा गर्ने परिपाटीको विकास भएको छैन । बीमाको पहुँचमा आएको जनसंख्या न्यून छ । जति बीमा गरिएका छन्, शहरी क्षेत्रमा मात्रै केन्द्रित छन् । सरकारले अनिवार्य गरेको तेस्रो पक्ष बीमा बाहेक निर्जीवन बीमा प्रति आकर्षण अझै पनि नभएको अवस्था छ । मुलुकमा नवीनतम विकास भईरहेको छ । विकाससँगै जोखिमको मात्रा बढ्दै गर्दा समेत बीमा प्रतिको आकर्षण बढ्न सकेको छैन । जसको कारण हो बीमा शिक्षा र विश्वसनियताको अभाव ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया