पछिल्लो ३ महिनामा कमजोर र मध्यम मानिएका बैंकहरुको प्रगति उच्च

0
Shares

पछिल्लो तीन महिनामा निक्षेप संकलन र कर्जा विस्तारको अवस्था केलाउँदा कमजोर र मध्यम मानिएका बैंकहरुको प्रगति उच्च देखिएको छ ।

गत पुसमसान्तमसान्तदेखि चैतसम्मको निक्षेप संकलन तथा कर्जा विस्तारको स्थितिमा सिभिल बैंक सबैभन्दा बलियो देखिएको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याकं अनुसार चालु आवको तेस्रो त्रैमासिक अवधिमा सिटिजन्स बैंकको निक्षेप र कर्जाको वृद्धि उच्च देखिएको छ । यसअवधिमा बैंकले तीनाउ विकास बैंकलाई गाभेर एकीकृत कारोबार गरेकाले निक्षेप र कर्जा विस्तारमा उच्च बढोत्तरी देखिएको हो । तीन महिनाको अवधिको बैंकको निक्षेप १९.५० प्रतिशतले बढ्दा कर्जा २५ प्रतिशत बढीले विस्तार गरेको छ । तीनाउलाई गाभेको बैंक पछिल्लो तीन महिनाको आँकडामा अग्रपक्तिमा रहेको छ । यस अवधिमा बैंकको निक्षेप २१ अर्ब ३ करोड तथा कर्जा २२ अर्ब ८५ करोडले बढेको छ ।

यसअवधिमा सबैभन्दा कमजोर मानिएको सिभिल बैंकको प्रगति उत्साहजनक देखिएको छ । सिभिलले पछिल्लो ३ महिनामा १३.०८ प्रतिशतले निक्षेप बढाउँदा कर्जा लगानी १९.७६ प्रतिशतले सुधार गरेको छ । बैंकले यसअवधिमा १० अर्ब १७ करोड निक्षेप थपेर १३ अर्ब १४ करोड कर्जा प्रवाह गरेको छ । कर्जा विस्तारको रकम पनि दोस्रो हो ।

पुस यता उच्चदरले निक्षेप बढाउनेमा मध्यमस्तरका मानिएका सानिमा, एनएमबि, सिद्धार्थ, प्राइम, कुमारी, सनराइज तथा मेगा बैंक अग्रपक्तिमा देखिएका छन् । यी बैंकहरुले ११.७१ प्रतिशतदेखि ५.६० प्रतिशतसम्म निक्षेप बढाएका छन् । यस्तै कर्जा प्रवाहतर्फ भने स्ट्याण्र्ड चाटर्ड, एनसीसी, नेपाल इन्भेष्टेमन्ट, कुमारी, सानिमा, एनआईसि एशिया, लक्ष्मी, नेपाल, हिमालयन, नेपाल बंगलादेश तथा सिद्धार्थ बैंक अग्रपक्तिमा देखिएका छन् । यी बैंकहरुले १४.८८ प्रतिशतदेखि १०.४८ प्रतिशतसम्मले कर्जा विस्तार गरेका छन् ।

पाँच बैंकको निक्षेप घट्यो

पछिल्लो तीन महिनाको अवधिमा ५ वटा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । गत पुसको तुलनामा चैतसम्म आईपुग्दा सबैभन्दा धेरै स्ट्यार्डर्ड चार्टर्ड बैंकको निक्षेप ३.१४ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल एसबिआई बैंकको निक्षेप २ प्रतिशतले घट्दा प्रभु बैंकको १.६१ प्रतिशत, नेपाल इन्भेष्टमेन्टको ०.८२ प्रतिशत तथा हिमालयन बैंकको निक्षेप ०.४२ प्रतिशतले घटेको छ ।

३ महिनाको अवधिमा कृषि विकास बैंकको निक्षेप सबैभन्दा कम ०.७८ प्रतिशतले मात्र बढेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंक नेपाल बैंक, बैंक अफ काठमाण्डू, एनससी, ग्लोबल आइएमई तथा एभरेष्ट बैंकको निक्षेप तीन प्रतिशतभन्दा कमले सुधार आएको छ । यो अवधिमा समग्र वाणिज्य बैंकहरुको निक्षेप ४.२९ प्रतिशतले बढ्दा औसत वृद्धिदर ४.५१ प्रतिशत छ । पुसमसान्तदेखि चैतसम्म वाणिज्य बैंकहरुमा १६२ अर्ब निक्षेप थपिएको छ । चैतमसान्तसम्म वाणिज्य बैंकहरुमा कुल ३९ खर्ब ४४ अर्ब निक्षेप रहेको छ ।

कर्जा विस्तारमा कमजोर बैंक

पुसमसान्तदेखि चैतसम्मको तथ्यांक हेर्दा सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको कर्जा विस्तार भएको छ । यो बैंकको कर्जा ५.९० प्रतिशतले बढेको छ । एभरेष्टको निक्षेप ६.०७ प्रतिशतले बढ्दा सेन्चुरीको ६.९१, बैंक अफ काठमाण्डूको ७.०६, माछापुच्छ्रेको ७.६०, प्राइमको ७.६३ प्रतिशतले कर्जा विस्तार भएको देखिन्छ । पछिल्लो ३ महिनामा वाणिज्य बैंकहरुको कर्जा ३२९ अर्बले बढेको छ । यसअवधिमा समग्रमा १०.१७ प्रतिशतले कर्जा बढ्दा औसत कर्जावृद्धिदर १०.६० प्रतिशत रहेको छ ।

निक्षेपमा एनआईसी एसिया अगाडि, चार बैंकको दुई खर्ब माथि

चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत मसान्तसम्ममा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा एनआईसी एसिया बैंक रहेको छ । चैतसम्म एनआईसी एसियाले २ खर्ब ९५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । एनआईसी एशियाले पछिल्लो ३ महिनामा १८ अर्ब ३१ करोड निक्षेप बढाएको छ । सबैभदा कम निक्षेप नेपाल बंगलादेशले ७५ अर्ब २८ करोड रुपैयाँ मात्र छ ।

यस्तै उच्च निक्षेप हुनेको दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ । ग्लोबलको निक्षेप चैतसम्म २ खर्ब ५८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । ३ महिनाको अवधिमा बैंकले ७ अर्ब २४ करोड रुपैयाँ निक्षेप बढाएको छ । तेस्रो स्थानमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप २ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ, चौथो स्थानको नबिलको निक्षेप २ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।

कर्जा प्रवाहमा पनि एनआईसी एशिया नै अगाडि

यस्तै कर्जा लगानीमा पनि एनआईसी एसिया नै अघि देखिएको छ । चैतसम्म एनआईसी एसियाले २ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ३ महिनामा एनआईसीले २६ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी बढाएको छ । ग्लोबल आईएमई बैंकले २ अर्ब ३५ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा नबिलले १ खर्ब ९३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप परिचालनको जस्तै कर्जा प्रवाहामा पनि नेपाल बंगलादेश बैंकको सबैभन्दा कम छ । जसले चैतसम्म ६८ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।