सिटिजन्स बैंकको ‘एग्रेशिभ मुभ’, ९ महिनाको नाफा १ अर्ब ५४ करोड

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले व्यवसाय विस्तारलाई तीव्रता दिँदा खुद नाफा आर्जनमा उल्लेख्य सुधार गरेको छ । प्राप्तीमा जोड दिँदै साना कर्जा प्रवाहमा जोड दिएको बैंकले पछिल्लो त्रैमासमा आकर्षक प्रगति गरेको हो ।

साना बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गरेर सबल बन्ने बाटोमा अगाडि बढेको बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई एक्वायर गरी गत चैत १४ गतेदेखि एकिकृत कारोबार शुरु गरेको छ भने सिर्जना फाइनान्स प्राप्ती गर्ने प्रकृयामा रहेको छ । बैंकले यसअघि सहयोगि विकास बैंकलाई प्राप्ती गरेको थियो ।

बैंकले चालु आर्थिक वर्षको ९ महिना अवधिमा खुद नाफा ४१.६१ प्रतिशतले बढाएर १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गतत आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ९ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा बैंकको वितरण योग्य नाफा ४१ करोड मात्र रहेको थियो ।

गत आवको चैत मसान्तसम्मको तुलनामा बैंकको अधिकांश सूचक सुधारिएका छन् । यस अवधिमा बैंकले खुद ब्याज आम्दानी १३.१९ प्रतिशत, सञ्चालन नाफा २९.३८ प्रतिशतले बढाएको छ । ब्याज आम्दानीका अलवा बैंकको फि कमिशन तथा डिस्काउण्ट आय र गैर सञ्चालन आम्दानी भएको वृद्धिले नाफामा सुधार आएको छ । बैंकको खुद फि कमिशन तथा डिस्काउण्ट आय ३७.२१ प्रतिशतले बढेको छ ।

चुक्ता पूँजी ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी २०.७२ रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब ९ करोड १० लाख तथा शेयरधनी कोषमा १ अर्ब ३७ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यसैगरी बैंकको खराब कर्जा अनुपात १.८३ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४६.८७ रुपैयाँ, कर्जा निक्षेप अनुपात ७८.१३ प्रतिशत, आधारदर ७.४४ प्रतिशत, कोषको लागत ५.७१ प्रतिशत, र पूजीकोष अनुपात १३.८६ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब २७ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब ९२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले २ अर्ब ५४ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ८७ करोड ७ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।