कोरोनाको दोस्रो लहर सुरु भएसँगै न्यून जोखिमका क्षेत्रमा लगानी सिफ्ट हुँदै

0
Shares

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै लगानीकर्ताले पनि न्यून जोखिम भएका सम्पत्तितर्फ लगानी सिफ्ट गर्न थालेका छन् । पछिल्ला दिनहरुमा सुनको मूल्य बढ्नु तथा डलर झनै बलियो भएकाले पनि लगानीकर्ता सुरक्षित लगानीतर्फ सिफ्ट भएको आँकलन गरिएको हो ।

कोरोनाको पहिलो लहरमा पनि सुनको मूल्य उच्च दरमा बढेको थियो । गत वर्ष अर्थात सन् २०२० को अगष्ट महिनामा सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । यो अवधिमा डलरको मूल्य करिब १२० रुपैयाँको हाराहारीमा थियो । गत वर्ष कोरोना माहामारी सुरु भए लगत्तै डलरको मूल्य करिब १२२ रुपैयाँ सम्म पुगेको थियो ।

गत वर्ष कोरोनाको अनिश्चितताले गर्दा लगानीकर्ताले सुरक्षित लगानीको रुपमा डलर र सुनमा लगानी बढाएका थिए । तर, कोरोनाको प्रभाव गत वर्षको सो अवधिमा अमेरिकामा धेरै देखिएपछि डलरको मूल्य केही कमजोर देखिएपनि सुनको मूल्यमा भने खासै गिरावट आएको थिएन ।

तर, कोरोनाले सृजना गरेको अनिश्चितता केही कम हुदै गएपछि सुनको मूल्यमा कमी आएको थियो ।

त्यसैगरी डलर पनि केही कमजोर हुँदै आएको अवस्था थियो । पछिल्ला दिनहरुमा कोरोनाको दोस्रो लहर विश्वभरी तिब्र रुपमा देखिएपछि पुन: सुन मूल्य उकालो लाग्न थालेको छ । यो बीचमा सुनको मूल्य घटेर करिब ८५ हजारसम्म आइपुगेकोमा कोरोनाको दोस्रो लहरका कारण ९० हजार भन्दा माथि पुगेको छ । त्यसैगरी अमेरिकामा कोरोनाको दोस्रो लहरको असर कम देखिएपछि डलर पनि तुलनात्मक रुपमा बलियो हुदै एक डलर बराबर १२० रुपैयाँ पुगेको छ ।

गत वर्ष पनि कोरोनाको महामारी सुरु भएपछि बढेको अनिश्चितताका कारण डलर बलियो भएको थियो भने सुनको मूल्य उच्च दरमा बढेको एक अर्थशास्त्रीले बताए । “गत वर्ष कमोडिटी मार्केट कोल्याप्स जस्तै भयो,” उनले भने,“अहिले पनि महामारीका कारणले पुन: अनिश्चितता बढ्ने संकेत देखिएपछि लगानीकर्ताले कम जोखिम र जोखिम रहित सम्पत्तिमा लगानी बढाएको देखिएको देखिन्छ ।”

लगानीकर्ताले जटील अवस्थामा सुन मार्केट वा डलरमा लगानी गर्ने उनले बताए । केही समय अघिसम्म भारतमा प्रत्यक्ष बैदेशिक लगानी पनि राम्रो आइरहेको भएपनि पछिल्ला दिनहरुमा कमी आएको उनी बताउँछन् । अन्तराष्ट्रिय बजार बलियो भएका कारण जटिल अवस्थामा डलर मजबुत हुदै आउने उनको तर्क छ।

भारतमा क्यापीटल फ्लोमा कमी आउने वित्तिकै भारु कमजोर हुन जान्छ । भारु कमजोर भएपछि नेपाली रुपैयाँ स्वत: कमजोर हुन्छ । एक डलरको नेरु १२१ बाट ११६ सम्म आउँदा भारु बलियो भएको थियो । यो समयमा भारतमा बैदेशिक लगानी बढ्न थालेको ती विश्लेषकको भनाई छ । कोरोनाको पहिलो लहरमा केही कमी आएसंगै ग्लोबल इकोनोमी रिकभरीको बाटोमा गयो । यस्तो समयमा इमर्जिङ अर्थतन्त्रमा लगानी गर्ने सम्भावना धेरै हुन्छ । किन भने सो अर्थतन्त्रमा रेट अफ रिटर्न धेरै हुन्छ । भारतको अर्थतन्त्र पनि इमर्जिङ भएकाले रेट अफ रिटर्न धेरै रहेको लगानीकर्ताहरुको विश्लेषण छ ।

कोरोना महामारीका कारण भारत, ब्राजील जस्ता अर्थतन्त्रहरु धेरै प्रभावित भएका छन् । कोरोनाको दोस्रो लहरले पहिलोको तुलनामा अमेरिकालाई कम प्रभावित गरेको हुनाले लगानीकर्ताहरुको डलरप्रति विश्वास बढेको देखिन्छ । महामारी सुरु भैसकेपछि विश्वका अधिकांश स्टक मार्केट उच्च दरमा उकालो लागे । लगानीकर्ता अन्य क्षेत्र लगानी गर्ने अवस्था नभएपछि शेयर बजारमा केन्द्रित हुन थाल्यो । अन्य क्षेत्रमा लगानी नगएको आवस्थामा पैसा शेयर बजारमा आउछ भन्ने सिद्धान्त अनुसार नै काम भैरहेको देखिन्छ ।

डलर बलियो भएको खण्डमा रेमिट्यान्सको आप्रवाह बढ्ने सम्भावना हुन्छ । तर, आयातमा आधारित अर्थतन्त्र भएकाले उच्च आयातका लागि धेरै खर्च गर्नु पर्दा महंगी बढ्ने जोखिम पनि उत्तिकै हुन्छ । अहिलेको कोरोनाको अनिश्चितता कायम नै रहेको हुनाले पेट्रोलियम पदार्थको मूल्य माथि जाँदैन । करिब २ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम अयातको बिलमा त्यसले खासै असर गर्दैन । त्यसैले अन्य उत्पादनहरुमा पनि नेपाली रुपैयाँ कमजोर भएर असर गरिहाल्छ भन्ने अवस्था नरहेको अर्थशास्त्रीहरु बताउँछन् । “गत वर्ष पनि यस्तो देखिएको थियो, अर्का अर्थशास्त्रीले भने,“त्यसले हाम्रो अर्थतन्त्रलाई खासै नकारात्मक असर पार्न सकेन, कोभिड नियन्त्रण हुने वित्तिकै यो सहज अवस्थामा आउन सक्छ ।”

नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विदेशी विनियम दर अनुसार अमेरीकी डलर एकको खरिद दर ११९.५१ रुपैयाँ र १२०.११ रुपैयाँ बिक्री दर निर्धारण गरेको छ । नेपाले विभिन्न १६३ बस्तुहरु आयात गर्दा अमेरीकी डलरमा खरिद गर्नुपर्ने हुन्छ । तर, पछिल्लो समयमा कोरोनाका कारण अन्तर्राष्ट्रिय ब्यापार प्रभावित भएको हुनाले महंगी बढ्ने सम्भावना भने न्यून छ ।

यो वर्षका पछिल्ला महिनाहरुमा आयात बढेको भएपनि आगामी दिनमा कोरोानाको अनिश्चितताका कारण आयात घट्ने देखिन्छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, एम.एस. विलेट, हटरोल सिटईन क्वाईल लगायतका वस्तुहरु आयत हुन्छन् । आयातका लागि खर्चिने डलरले मूल्य वृद्धि वढाउने भएपनि रेमिट्यान्स बढ्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । यसले गर्दा मूल्य वृद्धि बढाउने खालको गतिविधि नहुने अर्थशास्त्रीहरु बताउँछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।