नेपाल धितोपत्र बोर्डले बस्तु बजार सञ्चालनका लागि थप सहज बनाउन निर्देशिका तयार गरेको छ । बोर्डले तयार गरेको निर्देशिकाको मस्यौदा अनुसार कमोडिटी एक्सचेन्जको चुक्ता पूँजी २ अर्ब सम्म तथा अनुमती पत्र दस्तुर २५ लाख रुपैयाँ तोकेको हो ।
‘वस्तु विनिमय बजार सञ्चालन तथा अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७७’ को मस्यौदा अनुसार कम्पनी स्थापना गर्नका लागि धितोपत्र बोर्डको पुर्व स्वीकृति लिुन पर्छ । पुर्व स्वीकृतिका लागि बोर्डमा निवेदन दिँदा पनि दस्तुर बुझाउनु पर्ने व्यवस्था छ । त्यसपछि बोर्डले पुर्व स्वीकृति दिएपछि पनि कम्पनीले तोकिए अनुसारको मापदण्ड भित्र रही पुर्वाधार निमार्ण गर्नेछ ।
बोर्डले पुर्व स्वीकृती दिएपछि कम्पनीको शेयर संरचना लगयातका विषयमा परिवर्तन गर्न नपाइने व्यवस्था मस्यौदामा रहेको छ । पुर्वाधार तयार गरीसकेपछि कम्पनीले कारोबार सञ्चालन स्वीकृतीका लागि २५ लाख रुपैयाँ सहित बोर्डमा पुन निवेदन दिनु पर्ने व्यवस्था मस्यौदामा रहेको छ ।
मस्यौदा अनुसार बस्तु विनिमय बजार सञ्चालन गर्न न्युनतम चुक्ता पँुजी कारोबार गरिने वस्तुका आधारमा एक अर्ब देखि एक खर्ब ५० करोड र २ अर्ब रुपैयाँ तोकिएको छ । वस्तु विनिमय बजार सञ्चालन गर्ने संस्थाको संस्थापकहरुले कम्तिमा एकाउन्न प्रतिशत र बढीमा शतप्रतिशत शेयर लगानी गर्ने प्रस्ताव गरी निवेदन दिनु पर्ने व्यवस्था छ ।
प्रस्तावित संस्थामा विदेशी रणनीतिक साझेदार वा प्राविधिक सहयोग गर्ने संस्थाका लागि कुल चुक्ता पूँजीको कम्तिमा पाँच प्रतिशत देखि बढीमा एकाउन्न प्रतिशतसम्म अनिवार्य रुपमा शेयर लगानी गर्ने गरी प्रस्ताव गर्नु पर्ने व्यवस्था मस्यौदामा रहेको छ ।
पूर्व स्वीकृति प्राप्त गरेको संगठित संस्थाले बस्तु बजार ऐन बमोजिमको व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गर्न तोकिए बमोजिमको विवरण तथा निवेदन शुल्क २५ लाख रुपैया सहित बोर्डमा निवेदन दिनु पर्नेछ ।
संस्थाले अनुमतिपत्र प्राप्त गरेको १८० दिनभित्र पूर्वाधार तयार गरी बोर्डलाई जानकारी गराउनु पर्नेछ । मस्यौदा अनुसार तोकिएका पुर्वाधारमा कार्यालयको क्षेत्रफल कम्तीमा दुई हजार वर्गफिट, आवश्यक संख्या र योग्यता पुगेका कर्मचारी, वस्तु विनिमय कारोबार सञ्चालनका लागि तयार गरिएको कारोबार स्थल, स्वचालित कारोबार तथा राफसाफ प्रणाली, कार्यालय उपकरण तथा प्रविधि जडान गरिएको, वस्तु विनिमय बजार कारोबार प्रणाली तथा सम्बन्धित प्रविधि र तथ्याङ्कको आवश्यक सुरक्षाका लागि पर्याप्त व्यवस्था गरिएको, कारोबारको अभिलेख राख्ने तथा अभिलेखको सुरक्षा गर्ने व्यवस्था गरेको, टेलिफोन, कम्प्यूटर, प्रिण्टर, फ्याक्स, कुर्सी टेबल, लगायत आवश्यक भौतिक सामानको व्यवस्था गरिएको, सर्वसाधारणको लागि सरल पहुँच हुने स्थानमा कार्यालय स्थापना गरेको लगायतका व्यवस्था पुरा गर्नु पर्ने उल्लेख छ ।
अनुमतिपत्र प्राप्त संस्थाले पूर्वाधार तयार गरेको जानकारी प्राप्त भएको पन्ध्र दिनभित्र बोर्ड व्यवस्थापनले आवश्यक निरीक्षण तथा जाँचबुझ गर्नेछ । बोर्डले निरीक्षण तथा जाँचबुझ गर्दा वस्तु बजार सम्बन्धी व्यवसाय सञ्चालन गर्न उपयुक्त देखेमा बोर्ड व्यवस्थापनको सिफारिशमा सञ्चालक बोर्डले कारोबार सञ्चालनको स्वीकृति दिनेछ ।
कारोबार सञ्चालनको स्वीकृति प्राप्त गरेको तीस दिनभित्र अनुमतिपत्र प्राप्त संस्थाले नियम पालना अधिकृत (कम्प्लायन्स अफिसर) तोकी सोको जानकारी बोर्डलाई तुरुन्त दिनु पर्नेछ । वस्तु विनिमय बजार सञ्चालन अनुमतिपत्रको अवधि तीन वर्ष बहाल रहनेछ । अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा ९० दिन अगावै अनुमतिपत्र नवीकरण गर्नु पर्ने व्यवस्था गरेको छ । अनुमतिपत्र नवीकरणका लागि ७ लाख ५० हजार रुपैयाँ दस्तुर लाग्ने व्यवस्था गरेको छ । अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा कम्तीमा तीस दिन अगावै अनुमतिपत्र नवीकरणका लागि लाग्ने दस्तुरको दोब्बर दस्तुर सहित बोर्ड समक्ष निवेदन दिन सक्नेछन ।
वस्तु विनिमय बजारमा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक सहित बढीमा सात जना सञ्चालक रहनेछन । प्रमुख कार्यकारी अधिकृत विदेशी नागरिक भएमा नियुक्ती गर्नु अघि बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने र कार्यभार सम्हाल्नु अघि प्रचलित कानुन बमोजिम सम्बन्धित निकायबाट पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था मस्यौदामा रहेको छ ।
कसैले पनि वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीको चुक्ता पूँजीको पाँच प्रतिशत भन्दा बढी शेयर लिन सक्ने छैन् । विदेशी पूँजी, सीप तथा प्रविधिको प्रयोग गरी वस्तु विनिमय बजार सञ्चालन गर्ने प्रयोजनको लागि रणनीतिक साझेदार वा प्राविधिक सहयोग गर्ने संस्थाको रुपमा विदेशी लगानीकर्ताले प्रस्तावित कम्पनीको चुक्ता पूँजीको कम्तीमा पाँच प्रतिशत शेयर लिनुपर्ने र बढीमा एकाउन्न प्रतिशतसम्म शेयर लिन सक्नेछ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया