छोटो समयको तयारीमै ‘इन्ट्रा डे ट्रेडिङ ’ सम्भव छ : अध्ययन समिति

0
Shares

धितोपत्रको दोस्रो बजारमा सहज रुपमा ‘इन्ट्रा डे ट्रेडिङ’ सुरु गर्न सकिने एक अध्ययनले देखाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गठन गरेको उप–समितिले छोटो समयको तयारीमै कानुनी तथा पुर्वाधारमा सुधार गरेर ‘इन्ट्रा डे ट्रेडिङ’ सुरु गर्न सकिने निश्कर्ष सहितको प्रतिवेदन तयार गरेको हो ।

अध्ययन उप–समितिले नेप्सेलाई प्रतिवेदन समेत बुझाई सकेको अवस्था छ । धितोपत्र बजारका सरोकारवालाहरुले ‘इन्ट्रा डे ट्रेडिङ’ को माग गर्न थालेपनि नेप्सेले तत्कालका लागि आवश्यक र सम्भव छ छैन भन्ने विषयमा अध्ययन गर्न उपसमिति गठन गरेर अध्ययन गराएको हो । सो उपसमितिको अध्ययन प्रतिवेदन अनुसार ऐन नियममा आवश्यक परिमार्जन गरी नेप्से, केन्द्रीय निक्षेप सेवा, धितोपत्र दलाल, मर्चेन्ट बैकहरुले छोटो समयको तयारीमै ‘इन्ट्रा डे ट्रेडिङ, धितोपत्र सापटी लिनेदिने तथा अक्सन मार्केटमा सहभागी हुन सक्ने अवस्था रहेपनि अन्य बजार सहभागीलाई अभिमुखीकरण आवश्यक हुने अधययनले देखाएको छ ।

इन्ट्रा डे धितोपत्र कारोबारको सन्दर्भमा नेपालमा औपचारिक अध्ययन भएको छैन । पछिल्लो समयमा धितोपत्र बजारमा भएको प्रविधिको विकास, कारोबारको आकार, फैलिदो लगानीकर्ताको समुदायलाई हेर्दा ‘इन्ट्रा डे’ कारोबार सञ्चालन सम्भव रहेको अध्ययनको आँकलन छ । पछिल्लो समयमा धितोपत्रको दोस्रो बजार कारोबारमा सहभागी हुनसक्ने लगानीकर्ताको संख्या ५ लाख भन्दा माथि हुनुका साथै नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) का प्रयोगकर्ताको संख्या ३ लाख ७६ हजार पुगेको अवस्था छ ।

धितोपत्र बजारमा संस्थागत लगानीकर्तातर्फ म्युचुअल फन्ड, बैक तथा वित्तीय संस्था, बिमा कम्पनी, लगानी व्यवस्थापक, धितोपत्र व्यापारी र प्राइभेट इक्विटी फन्ड धितोपत्रको दोस्रो बजार कारोबारमा सक्रिय छन् । यस्ता संस्थाहरुले पनि इन्ट्रा डे कारोबारको माग गर्न थालेको हुनाले आवश्यक पुर्वाधार तयार गर्नका लागि पनि सहज हुने अध्ययनले देखाएको छ ।

‘इन्ट्रा डे’ शेयर कारोबार, धितोपत्र सापटी लिनेदिने तथा अक्सन मार्केट सञ्चालनका लागि हालसम्म कुनै नीतिगत पूर्वाधार तयार नभएको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, “धितोपत्र ऐन, २०६३ अन्तर्गत बनेका नियम विनियमहरुमा परिमार्जन तथा संशोधन गरी सम्बोधन गर्न सकिन्छ र केही नयाँ कार्यविधि तर्जुमा गरेपछि इन्ट्रा डे कारोबार सुरु गर्न सकिन्छ ।”

नीतिगत पूर्वाधारको अभावमा हाल सञ्चालनमा रहेका पूँजी बजार सम्बद्ध संस्थाहरु ‘इन्ट्रा डे’ कारोबार, धितोपत्र सापटी लिनेदिने तथा अक्सन मार्केटमा सहभागी हुन पाएका छैनन् । ऐन नियममा आवश्यक परिमार्जन गरी नेप्से, सिडिएस एन्ड क्लियरिङ, धितोपत्र दलाल, मर्चेन्ट बैकहरु छोटो समयको तयारीमै यस्तो कारोबार, धितोपत्र सापटी लिनेदिने तथा अक्सन मार्केटमा सहभागी हुन सक्ने अध्ययनले देखाएको छ ।

इन्ट्रा डे शेयर कारोबार सुरु गरिए पनि बजार सम्बन्धी ज्ञान नभएको, जोखिम वहन गर्ने नसक्ने कमजोर, सीमित वित्तीय साधन, सूचना र प्राविधिक ज्ञानका हिसाबले अनुभवहिन लगानीकर्ताका लागि उपयुक्त नहुने अध्ययनले सुझाएको छ । यसका लागि लगानीकर्ता, धितोपत्र व्यवसायी तथा बजार सञ्चालक तीनै पक्षमा बजार सञ्चालनको आधारभुत ज्ञान, सीप, वित्तीय तथा प्राविधिक साधन सम्पन्न हुनु पर्ने हुन्छ । तर धितोपत्र कारोबारलाई पूर्णकालीन व्यवसाय बनाउने कारोबारीहरुका लागि यो बजार आवश्यक हुन्छ ।

नेप्सेको हालको कारोबार प्रणाली बहुऔजार कारोबार संयन्त्र हो । यो प्रणालीमा थोरै मेहनेत गरेको खण्डमा इन्ट्रा डे कारोबार तथा अक्सन मार्केट सञ्चालनका लागि आवश्यक विशेषताहरु थप गरी सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ । धितोपत्र सापटी लिनेदिने कार्यका लागि छुट्टै संयन्त्र स्थापना गर्न उचित हुने अध्ययनले देखाएको छ । यसैगरी सिडिएससीले हाल वेभमा आधारित राफसाफ तथा फछ्र्यौट प्रणालीमा पनि आवश्यक परिमार्जन गरी उक्त कारोबारका लागि अनुकुल बनाउन सकिने अध्ययनले देखाएको छ ।

“पूँजी बजारलाई विकसित बजारको दिशामा अग्रसर हुनका लागि ‘इन्ट्रा डे’ कारोबार अपरिहार्य छ,” प्रतिवेदनको निश्कर्ष छ,“यसबाट बजार सञ्चालक, मध्यस्थकर्ता तथा कारोबारी सबैको हित हुने देखिन्छ ।” अध्ययन उपसमितिले आवश्यक नीतिगत, संस्थागत र प्राविधिक पूर्वाधारको समीक्षा गरेको छ । त्यसका साथै कार्यान्वयनका लागि ऐन, नियम तथा विनियममा संशोधन, परिमार्जन तथा थप व्याख्या आवश्यक रहेको औल्याएको छ । धितोपत्र सापटी लिनेदिने सम्बन्धी नियमावली, विनियमावली र कार्यविधि तथा अक्सन मार्केट सञ्चालन सम्बन्धी कार्यविधि तर्जुमा गर्नुपर्ने समितिले नेप्सेलाई सुझाएको छ । यसका लागि धितापत्र बोर्डले सहजीकरण गरेर नेप्से र सिडिएससीको पहल लिनु आवश्यक रहेको अध्ययनले ठहर छ ।

स्टक एक्सचेन्जको रुपमा नेप्सेले आवश्यक विनियमावली तथा कार्यविधि तर्जुमा गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गराउनु पर्छ । त्यसैगरी कारोबार शाखाको कार्यक्षेत्रलाई विस्तार गर्नुका साथै आवश्यक कर्मचारीको व्यवस्था गर्नुपर्ने हुन्छ । नेप्सेले प्रयोगमा रहेको प्रविधिको स्तरोन्नतिलाई पनि सँगसँगै अघि बढाउनुपर्छ । सिडिएससीले धितोपत्र सापटी लिनेदिने संयन्त्रको विकास, अक्सनको राफसाफको व्यवस्था गर्नुका साथै आवश्यक विनियमावली र कार्यविधि तर्जुमा, सांगठनिक तथा जनशक्तिको व्यवस्था गर्नु पर्ने अध्ययनले सुझाएको छ ।

धितोपत्र दलाल कम्पनीले पनि पुँजी, प्रविधि र जनशक्तिको व्यवस्था गर्नुपर्ने अध्ययनको निश्कर्ष रहेको छ । बजार सञ्चालक वा नियमक निकायले मापदण्ड तोकी पूरा गर्ने मध्यस्थकर्तालाई मात्र सो कारोबार गर्न तथा धितोपत्रको सापटी लिनेदिने कार्यका लागि अनुमति प्रदान गर्न समेत अध्ययनले सुझाएको छ ।

त्यसैगरी अध्ययले ‘इन्ट्रा डे’ कारोबार तथा धितोपत्र सापटी लिनेदिने धितोपत्रको निश्चित मापदण्ड बनाइ सूची सार्वजनिक गर्नु पर्ने औल्याएको छ । यो व्यवस्थालाई कार्यान्वयनमा लैजादा कारोबार शुल्क, तथा पूँजीगत लाभ कर सम्बन्धी हालको व्यवस्थालाई कायम राख्ने, धितोपत्रलाई मार्जिनको रुपमा स्वीकार गर्ने तथा धितोपत्र सापटी लेनदेनमा ब्याज आम्दानीमा लाग्ने जस्तै कर लगाउनु उचित हुने अध्ययनले देखाएको छ । यस कार्यका लागि नेप्सेले बजारका सम्बन्धीत पक्ष्शरुसंग प्रयाप्त छलफल गरेर सुझाव संकलन गरी काम अघि बर्ढाको खण्डमा कार्यन्वयमा थप सहज हुने अध्ययनको निचोड रहेको छ ।

इन्ट्रा डे कारोबारमा थोरै पूँजीमा पनि लगानीकर्ताले बजारबाट लाभ उठाउन सक्नेछ । मार्जिन सुविधाको उपयोग गर्दै स्वपूँजी भन्दा धेरै गुणाको कारोबारमा संलग्न हुन पाउने अवसर कारोबारीले पाउछन् । एकै दिनमा राफसाफ गरिने हुँदा उच्च तरलतायुक्त धितोपत्र मात्रै किनबेच हुन्छ । यसले समग्र बजारको तरलता वृद्धिमा पनि सहयोग पु¥याउने तथा अत्यधिक उतारचढावलाई समेत नियन्त्रण गर्न मद्दत गर्छ । सामान्यतया धितोपत्रको स्वामित्व हस्तान्तरण हुने कारोबारमा भन्दा ‘इन्ट्रा डे’ कारोबारमा ब्रोकरले कारोबारीबाट तुलनात्मक रुपमा कम कमिसन लिने गरेको देखिन्छ । यस्तो कारोबारमा जोखिम एक दिनबाट अर्को दिन नसर्ने भएकाले धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचनाको असर एक दिनमा सीमित हुन्छ ।

तर, ‘इन्ट्रा डे’ कारोबारमा लगानीकर्ताले स–सानो मूल्य परिवर्तनबाट लाभ उठाउने प्रयास गरेका हुन्छन् । यसरी कारोबार गर्दा प्राप्त हुने लाभको तुलनामा सम्भावित नोक्सानीको आकार ठूलो हुन्छ । कारोबारको आकार बढ्दै जाँदा सम्भावित नोक्सानीको परिमाण पनि बढ्दै जान्छ । त्यसैले ‘इन्ट्रा डे’ कारोबारमा कारोबारीले बजारको कडा निगरानी गर्दै कारोबार अवधिभर आफुलाई व्यस्त राख्नुपर्ने हुन्छ । बजारमा निरन्तर आइरहने सूचनाहरु अद्यावधिक गर्ने तथा ती सूचना अनुकुल धितोपत्र किनबेचको निर्णय गर्ने कार्यमा कारोबारी खटिइरहनु पर्ने हुन्छ । अन्तर्दिवसीय कारोबारबाट कारोबारीले धितोपत्र जारी गर्ने सम्बन्धित कम्पनीहरुले गर्ने निर्णयहरुबाट लाभ पाउदैनन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।