महामारीका बेला ई कमर्शले पुर्याएको योगदानलाई बुझ्नुको साटो निरुत्साहित गरियो: व्यवसायी


प्रविधिको तिब्र विकाससँगै विश्व अहिले ई कमर्श व्यवसायको पछि लागि रहेको छ । अझ सन् २०१९ को मध्यबाट कोरोना भाइरसको महामारी फैलिए यता यो सेवाको प्रयोग अनि प्रभावकारिता तिब्र गतिमा बढिरहेको छ । महामारीका बेला दैनिक जीवनमा उपयोग हुने सबै किसिमका सामान खरिद गर्नका लागि विश्वका धेरै मुलुकहरुमा ई कमर्शको सहायता लिनेको संख्या नगण्य छ ।

नेपालको सन्दर्भमा पनि प्रविधिको विकासक्रममा ई कमर्श व्यवसाय बिस्तार हुने क्रम तिब्र छ । विश्वका धेरै मुलुकहरुमा कोरोनाको महामारीका कारण वस्तु तथा सेवा खरिद गर्न बाहिर जान नसक्नेहरुका लागि अहिले ई कमर्श सबैभन्दा उचित माध्यम बनिरहेको छ ।

नेपालमा भने बन्दा बन्दी सुरु भएसँगै यस्ता व्यवसाय पनि बन्दको अवस्थामा पुगिरहेका छन् । जसका कारण सुरक्षा मापदण्ड पालना गरेर सुरक्षित किसिमले सर्वसाधारणले घरमा बसेर नै सामान खरिद गर्न सक्ने अवस्था बन्न सकिरहेको छैन । विकासको क्रममा नै रहँदा प्रभावकारी रुपमा सेवा प्रवाह हुँदै आए पनि राज्यस्तरबाट ई कमर्श व्यवसायलाई प्रोत्साहन गर्ने काम नभएको गुनासो यो व्यवसायमा आबद्धहरुले गरेका छन् ।

अहिले सरकारले बन्दाबन्दी गरेको अवस्थामा आम सर्वसाधारणले अत्यावश्यक वस्तु किन्न पनि तोकिएको समयमा पसल चाहार्नु पर्ने अवस्था छ । अन्य मुलु्कमा भने सर्वसाधारणको चहलपहललाई निरुत्साहित गर्दै ई कमर्शलाई बढावा दिने गरेकोमा हामीकहाँ ठीक उल्टो अभ्यास भईरहेको उनीहरुको बुझाई छ । सरकारबाटै अवरोध उत्पन्न भएका कारण सुरक्षा मापदण्ड पालना गरेर सहज रुपमा सेवाग्राहीलाई सेवा दिन नसकिएको ई कमर्श व्यवसायी बताउँछन् ।

भौतिक रुपमा सर्वसाधारणको चहलपहललाई बढावा दिएको भन्दै उनीहरुले सरकारको कार्यशैलीप्रति असन्तुष्टि समेत जनाएका छन् । अघिल्लो पटकको लकडाउनबाट समेत कोरोना संक्रमण जोखिमका बेला ई कमर्शलाई प्रोत्साहन गर्न सरकारको चेत नखुलेको उनीहरुको तर्क छ ।

गत बिहीबारदेखि बन्दाबन्दी सुरु भएसँगै ई कमर्श तथा अनलाइन डेलिभरी पनि करिब करिब पुर्ण रुपमा बन्दको अवस्थामा पुगेको ई बिजनेश एशोसिएसन अफ नेपालले नोटबजारलाई बतायो । एशोसिएशनका संयोजक एवं इकमर्श प्लेटफर्म मेरो किराना डटकमका सञ्चालक सागर भट्टले किताब पढेका तर ज्ञान नभएकाहरुले व्यवहारिक पक्षलाई ध्यान दिन नसक्दा समस्या झनै बढ्ने देखिएको बताए ।

भारतमा ई कमर्शका लागि ठुलो तयारी गरेर बन्दा बन्दीका बेला सामान डेलिभरी भईरहेको र यसबाट संक्रमण जोखिम नबढेको अवस्थामा नेपालमा पनि यस्तो अभ्यास गरिनु पर्ने उनको भनाई छ । आवश्यक तयारी गरेर सेवाग्राहीलाई सबै किसिमका सामान सुरक्षित किसिमले घरमा पुर्याउन सकिने उनको भनाई छ । यसले भिडभाड नियन्त्रण गर्नुका साथै संक्रमणको जोखिम न्युन हुने बताएका उनी भन्छन्, “तर राज्यले यो कुरा सुन्नै नचाहेको जस्तो देखियो” । “आज मात्र काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरी प्रमुख लगायतसँग धेरै समय अनलाईन डेलिभरीलाई अनुमति दिनका लागि आग्रह गर्यौं, तर वहाँहरुले हाम्रो कुरा सुन्नै चाहनु भएन” भट्टले भने ।

कन्ट्याक ट्रोसिङको विषयमा सरकारी संयन्त्रले चासो देखाएको र ई कमर्श व्यवसाय गर्नेहरुसँग प्रभावकारी डाटा हुने भएकाले समस्या नहुने उनको तर्क छ । “भौतिक रुपमा पसलमा पुग्नेहरुको भन्दा सही तथ्यांक हुने भएकाले संक्रमण देखिईहालेको खण्डमा कन्ट्याक ट्रेसिङ गर्न सजिलो हुन्छ” भट्टले भने ।

पसलहरुमा हुने भिडभाड नियन्त्रणका लायि ई कमर्शभन्दा अरु कुनै विकल्प हुनै नसक्ने उनको भनाई छ । “पसलमा कसले सामाजिक दुरी कायम गरेको छ, अहिले हेर्नुस पसलमा जोखिमको त्रासभन्दा सामान पाउनका लागि लाइन लाग्नेको भिड हुन्छ । ई कमर्शलाई डेलिभरीको अनुमति दिने हो भने पसलमा भिडभाड हुने अवस्था नै आउँदैन । यसले अहिलेको संक्रमणको उच्च जोखिमलाई न्युनीकरण गर्छ ।”

ई कमर्श प्लेटफर्म रिचार्जरका सञ्चालक अलाइभ ग्लाइडर पनि पसलको भिडभाडभन्दा इकमर्शबाट भएका अर्डरको डेलिभरी जोखिम न्यूनीकरणका लागि प्रभावकारी हुने बताउँछन् । “विद्यालय बन्द गरेर अनलाइन कक्षा गर्दै गर्दा आवश्यक सामान, कार्यालय बन्द गर्दा घरबाट गरिने कामका लागि आवश्यक सामान किन्न सेवाग्राहीलाई समस्या भईरहेको छ । खाद्यान्न पसलबाट चामल किनेर मात्र सेवाग्राहीको समस्या समाधान हुने त होइन होला ? चामल र तरकारी सहित सबै सामान ई कमर्शबाट डेलिभरी हुँदा सेवाग्राहीलाई पयक हुनुका साथै अहिलेको जोखिम कम हुन्छ” उनले भने ।

गत वर्षको बन्दाबन्दीमा ई कमर्श सेवा सञ्चालन प्रोटोकल बनाएर सेवा सुचारु गर्न दिइएको भए पनि अहिले त्यस्तो नगरिएको व्यवसायीहरु बताउँछन् । उपभोक्ताको आवश्यकता पूरा गर्न र अर्थतन्त्र चलायमान बनाउन ई कमर्सको भूमिका महत्वपूर्ण हुने भए पनि त्यसलाई वेवास्ता गरिएको व्यवसायीको भनाई छ ।

“अनेक फाइदाहरुको बावजुद होम डेलिभरी र ई–कमर्श क्षेत्र महामारीको समयमा नेपालमा उल्लेख्य रूपमा प्रतिबन्धित छ । तेस्रो लकडाउनको बावजुद, ई–कमर्श र होम डेलिभरीलाई सहज पार्न कुनै स्पष्ट प्रावधान गरिएको छैन” एशोसिएसनले विभिन्न निकायमा बुझाएको दस्तावेजमा उल्लेख गरिएको छ ।

समग्र होम डेलिभरीको लागि सिंगापुर, चीन, पाकिस्तान, बंगलादेश लगायतका छिमेकी मुलुकमा तोकिएको मापदण्डभन्दा नेपालको प्रावधान नै फरक रहेकाले पनि समस्या भएको एशोसिएसनको ठहर छ । अत्यावश्वक र गैरअत्यावश्यक वस्तु तथा सेवाको परिभाष नै गलत भएकाले डेलिभरीमा समस्या हुने गरेको हो ।

अनलाइन कक्षाको लागि विद्यार्थी लाई आवश्यक पर्ने स्टेशनरी, ल्यापटपहरू, ट्याबलेटहरू, नोटबुकहरू, पुस्तकहरू अत्यावश्यक सेवामा सूचीकृत नहुँदा धेरैले यस्ता सामान खरिद गर्न सकिरहेका छैनन् । अर्कातिर कर्पोरेट कर्मचारीहरु जो अहिले घरबाट काम गर्दछन् उनीहरूलाई मोबाइल, चार्जर, ल्यापटप र अन्य आवश्यक घरेलु वस्तुहरूको आवस्यकता पर्ने भए पनि यस्ता वस्तुको निर्वाध किनबेच हुन सकिरहेको छैन । जसलाई ई कमर्शले सहजै सुरक्षित तवरले डेलिभरी गर्न सक्छन् ।

ई बिजनेश एसोसिएसनसँग सम्बद्ध व्यवसायीहरुले कडा सुरक्षा उपायहरू अपनाएको र स्वास्थ्य सेवा विभागको सहयोगमा धेरै जसो डेलिभरी चालकहरुले खोप लगाएको हुनाले संक्रमण जोखिम न्युन हुने एशोसिएसनको बुझाई छ । सामान र सेवाहरू वितरण गर्दा कम्तिमा पनि ग्राहक र वितरण कर्मीहरू बीच दुई मिटर दूरी सुनिश्चित गरिएको हुनाले पनि डेलिभरी सेवा प्रभावकारी हुने एशोसिएसनको बुझाई छ ।

एसोसिएशनले गत साता मात्र उच्च सुरक्षा नीति सुनिश्चित गर्दै समग्र होम डेलिभरी कसरी गर्ने भन्ने बारकोे योजना सीसीएमसी, प्रमुख जिल्ला अधिकारी र अन्य मन्त्रालयहरूमा पेश गरिसकेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।