‘इन्ट्रा डे ट्रेडिङ’ का लागि आधा दर्जन धितोपत्र सम्बन्धी नियमहरु बाधक

0
Shares

धितोपत्रको दोस्रो बजारमा ‘इन्ट्रा डे’ शेयर कारोबार गर्नका लागि धितोपत्र ऐन सहित करिब आधा दर्जन नियमहरु संशोधन गर्नुपर्ने भएको छ । ‘इन्ट्रा डे’ ट्रेडिङका लागि कानुनी अफठ्याराहरु फुकाउन ऐन, नियम तथा विनियम संशोधन आवश्यक देखिएको हो ।

तत्काल इन्ट्रा डे ट्रेडिङ सुरु गर्नका लागि आवश्यक पुर्वाधाराको रुपमा शेयर सापटी तथा अक्सन मार्केट सञ्चालन गर्ने तथा विद्यमान ऐन कानुनमा आवश्यक संशोधन गर्नुपर्ने अध्ययनले देखाएको हो । धितोपत्र बजारमा इन्ट्रा डे कारोबारका लागि अक्सन मार्केट, शेयर सापटी, सर्ट सेल लगायतका पक्षहरुको पनि उपस्थिती जरुरी हुने विज्ञहरु बताउँछन् । त्यसका साथै हालका ऐन कानुनमा रहेका अफठ्याराहरुलाई पनि संशोधन गरी इन्ट्रा डे टे«डिङ मैत्री बनाउन आवश्यक रहेको उनीहरुको भनाई छ ।

चौतर्फी रुपमा ‘ इन्ट्रा डे ट्रेडिङ’ माग हुन थालेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आवश्यक रहे नरहेको र त्यसका लागि आवश्यक कानुनी व्यवस्था तथा पुर्वाधारका विषयमा अध्ययन गर्न उप समिति गठन गरेको थियो । सो उपसमितिले पनि शेयर बजारमा ‘इन्ट्रा डे ट्रेडिङ’ का लागि विद्यमान धितोपत्र सम्बन्धी ऐन २०६३, धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५, धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५, धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली २०६९ र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ लाई संशोधन गरी ,समय सपेक्ष बनाउनु पर्ने सुझाव दिएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ६३ ले नेपाल धितोपत्र बोर्डलाई धितोपत्र व्यवसायको किसिम तोक्न सक्ने अधिकार दिएको छ । उपसमितिले तयार गरेको अध्ययन प्रतिवेदन अनुसार इन्ट्रा डे कारोबारका सम्बन्धमा धितोपत्र सापटी लिनेदिने कार्य अपरिहार्य भएको हुँदा धितोपत्र सापटी लिनेदिने कार्यलाई पनि समावेश गरी सहजता प्रदान गर्नुपर्ने देखाएको छ । साथै ऐनको झुट्टो कारोबार सम्बन्धी व्यवस्थामा पुनव्र्याख्या हुनुपर्ने अध्ययनले देखाएको छ । स्वामित्व हस्तान्तरण नहुने भए पनि अन्तर्दिवसीय कारोबार तथा धितोपत्र सापटी लेनदेनलाई झुट्टो कारोबार मानिने छैन भन्ने प्रष्टीकरण ऐनमा गर्नुपर्ने अध्ययनले औल्याएको छ ।

धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को धितोपत्रको दोस्रो बजारमा हुने हरेक कारोबारपछि अनिवार्य रुपमा स्वामित्व हस्तान्तरण प्रक्रियामा लैजानुपर्छ भन्ने अभिप्राय सहितको व्यवस्थालाई परवर्तन गर्नु पर्ने देखिन्छ । त्यसैगरी इन्ट्रा डे कारोबारका लागि धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा थप व्यवस्था, परिमार्जन तथा संंशोधन गरिनु पर्ने अध्ययनले औल्याएको छ । अध्ययन प्रतिवेदन सो विनियममा अड लटलाई समावेश नगर्ने, मार्केट लटमा मात्रै कारोबार हुने भन्ने स्पष्टीकरण राख्न सुझाएको छ।

त्यसैगरी सो विनियममा कारोबारीको जोखिम विवरण विचार गरी धितोपत्र दलालले अग्रीम रकम लिन सक्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ । यसका साथै हरेक दिनको कारोबारमा प्रत्येक धितोपत्रको लागि मार्जिन रकमको आवश्यकता सम्बन्धी व्यवस्था धितोपत्र बजारले अन्तर्राष्ट्रिय प्रचलन बमोजिम आफ्नो प्रणालीबाट उपलब्ध गराउने व्यवस्था मिलाउने व्यवस्था समावेश गरिनु पर्ने देखिन्छ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा ग्राहक इन्ट्रा डे कारोबारमा सहभागी हुने भए सो विषय समेत ग्राहक र कारोबार सदस्यबीच हुने सम्झौतामा खुलाउनुपर्ने व्यवस्था थप गर्नु पर्ने देखिन्छ । साथै हालको न्यूनतम मूल्य परिर्वतनको प्रावधानमा परिवर्तन गर्नुपर्ने समेत अध्ययनले देखाएको छ । स–सानो परिवर्तनमा आकर्षित हुने सर्किट ब्रेकरको व्यवस्थामा समेत परिवर्तन गर्नु पर्ने देखिन्छ।

धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ मा ग्राहकले धितोपत्रको दायित्व पुरा गर्ने गरी अरु कुनै प्रवन्ध गरेको अवस्थामा धितोपत्र कारोबार गर्न सक्ने गरी संशोधन गर्न उचित हुने अध्ययन प्रतिवेदनले सुझाएको छ । त्यसैगरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा धितोपत्र व्यवसायीलाई धितोपत्र सापटी लिनेदिने कार्यमा सहभागी हुन सक्ने गरी थप व्यवस्था गरेको खण्डमा कानुनी रुपमा इन्ट्र डे टे«डिङको कारोबार गर्ने बाटो खुल्ने अध्ययनले देखाएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।