प्रभु लाइफको खुद बीमाशुल्क ११३ प्रतिशतले बढ्यो


प्रभु लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खुद बीमाशुल्क संकलनको आकार ११५.६० प्रतिशतले बढाएको छ ।

चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ८ करोड ४६ लाख ६० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५० करोड ४८ लाख ४४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद नाफामा समेत उल्लेख्य सुधार भएको छ । कम्पनीले १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ५ करोड ५५ लाख ४ हजार रुपैयाँ कमाएको प्रभुको खुद नाफा नाफा १४८.३४ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९.१९ रुपैयाँ छ । मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी पूँजी वृद्धि गरेको कम्पनीको जगेडा कोष १३०.४५ प्रतिशतले वृद्धि भई ३६ करोड ६० लाख ६४ हजार रुपैयाँको बनेको छ । कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०७.८८ रुपैयाँ छ ।

कम्पनीले यस अवधिमा १ अर्ब १३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ११७ प्रतिशतले धेरै हो । गत आवको यसै अवधिमा कम्पनीले ५२ करोड १० लाख ९५ हजार रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले २०४ वटा बीमा दावी बापत ५ करोड ३४ लाख १९ हजार कुल दाबी भुक्तानी गरेको छ । त्यस्तै १० वटा बीमा दावी बापत ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन वापत १७ करोड १५ लाख रुपैयाँ खर्चेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।